गैंडा मारेर घ्याम्पोमा खाग लुकाउँदा



‘गैंडालाई चार वर्ष’ गैंडासम्बन्धी कमलजङ्ग कुँवरद्धारा लिखित पुस्तक हो । यो पुस्तक वि .सं २०६६ साउन महिनामा ‘चित्रबहादुर कुँवर स्मृति गैँडा संरक्षण प्रतिष्ठान’ ले प्रकाशन गरी बजारमा ल्याएको थियो । यो पुस्तक हामीले प्रत्येक शनिबार नेचर खबर अनलाइनबाट प्रकाशित गर्दै आइरहेका छौँ । पढौँ पुस्तकको  तेर्हांँ अंश –

(लेखक कुँवरको स्वीकृतिमा नेचर खबरले हरेक शनिवार पुस्तकका अंश प्रकाशन गर्न थालेको हो ।)

सहकर्मीको दुःखद अन्त्य

म कामविशेषले काठमाडौँ गएको थिएँ । २०६१ वैशाख १ गते फोनबाटै कसराका साथीहरुसँग नयाँ वर्षको शुभकामना आदानप्रदान भयो । मुखिया श्रीरङ्ग कँडेल मेरो घनिष्ठ मित्र हुनुहुन्थ्यो । उहाँसँग पनि शुभकामना आदानप्रदान गरेँ । म त्यही दिन काठमाडौँबाट चितवन फर्कंदै थिएँ । भरतपुर आइपुग्दा रेन्जर विष्णुजीले फोन गर्नुभयो– ‘कँडेलजी मोटरसाइकल दुर्घटनामा पर्नुभयो ।’

म हतारिँदै उहाँलाई भर्ना गरिएको क्लिनिकमा पुगेँ । उहाँको टाउकामा चोट लागेको र बान्ता भइरहेको थियो । मैले उहाँलाई हेरेँ अनि नआत्तिनू भनेर सान्त्वना दिएँ । उहाँको अनुहार निकै निन्याउरो देखिन्थ्यो । सिटी स्क्यान गर्दा टाउकामा रगत जमेको देखियो । डाक्टरले काठमाडौँ लैजाने सल्लाह दिए । हामीले डा. उपेन्द्र देवकोटालाई देखाउन नर्भिकमा लैजाने भयौँ । एम्बुलेन्स बोलाएर ओभरसियर चूडाराज ढकालले काठमाडौँ लैजानुभयो। ४ गते अपरेसन भयो; वैशाख ५ गते अचानक उहाँको निधन भयो ।

अस्पतालको लापरबाहीले कँडेलजीले असमयमा ज्यान गुमाउनुपर्यो । हेड इन्ज्युरी भएको, बान्ता गरिरहेको र ब्रेनमा ब्लड क्लटिङ भइरहेको अवस्थामा तत्काल अपरेसन गर्नुपर्थ्याे तर डाक्टरले त्यसको वास्ता गरेनन् । उनले निकै ढिलो अपरेसन गरे; त्यतिन्जेल समय भड्किसकेको थियो। हामीले राम्रो डाक्टरलाई देखाउने भनेर नर्भिक लग्यौँ तर त्यही हाम्रो दुर्भाग्य हुन पुग्यो । वीर वा टिचिङ हस्पिटल महाराजगन्जमा लगेको भए उहाँले ज्यान गुमाउनुपर्ने थिएन कि !

आफूले नर्भिकमा लैजान सल्लाह दिएकामा मलाई अहिले पनि पछुतो र आत्मग्लानि हुन्छ । गैँडा संरक्षणप्रति उहाँको प्रतिबद्धता, लगाव, मेहनत, दक्षता, ज्ञान, सीप अत्यन्तै उच्च कोटिको थियो । चोरी सिकार प्रतिरोध इकाइमा बसेर उहाँले जुन योगदान पुर्याउनुभयो त्यो विरलैले मात्र गर्न सक्छन् । उहाँको निधनले गैँडा संरक्षण कार्य निकै आहत बन्यो ।

खासमा उहाँ सानो छँदा पनि टाउकामा चोट लागेको रहेछ र पछिसम्म पनि औषधि खाँदै हुनुहुन्थ्यो । तर २०६१ सालको नयाँ वर्ष यसरी अशुभ बनेर आयो कि उहाँको जीवनै लिएर गयो । त्यस दिन उहाँ कसराबाट जगतपुरतर्फ जाँदा राप्ती पुलनेरको घुम्तीमा मोटरसाइकल बिस्तारै लडेछ । हेल्मेट फुत्केर उहाँको टाउको भुइँमा ठोक्किएछ र भित्री चोट लागेछ । पछाडि बस्ने स्टाफ पनि लडेपछि सुरूमा उहाँ उसलाई उठाउन जानुभएछ । तर पछि आफैँ बेहोस हुनुभएछ । त्यसपछि उहाँलाई पहिले पटिहानीको गणेश मेडिकलमा र त्यसपछि भरतपुर लगिएको रहेछ । भरतपुरमा मैले उहाँलाई ‘तपाईंलाई केही हुँदैन नआत्तिनुस्’ भन्दा मलाई पुलुक्क हेर्नुभएको थियो । मलाई त्यो दृश्य अहिले पनि झलझली याद आउँछ ।

घ्याम्पामा खाग

करिब एक महिनाअगाडिको कुरा हो, कसरास्थित गणको हेडक्वार्टर रहेको ब्यारेकबाट डेढ किलोमिटरनजिक बन्दुक पड्केको आवाज आएको थियो । तर त्यसतर्फ तत्कालै कोही गएन । भोलिपल्ट मात्र गएको गस्ती टोलीले गैँडा मरेको भेट्यो । खाग काटेर लगिएको थियो । यो अत्यन्त लज्जाजनक थियो । गणको हेडक्वार्टरबाट यति नजिक गैँडा मर्दा त केही भएन भने पोस्टमा के हालत होला ? यसले हाम्रो सुरक्षा प्रबन्ध कस्तो छ भन्ने प्रस्ट हुन्थ्यो ।

हुन पनि गस्ती टोलीले अहिलेसम्म चोरी सिकारी पक्रेको, उनीहरुलाई निकुञ्जभित्र भेटेर भिडन्त परेको वा लखेटेको मलाई थाहा छैन ।

हाम्रा सुराकीले, एकाध पटकबाहेक, घटना हुनुपूर्व सिकारीहरु गैँडा मार्न निकुञ्ज प्रवेश गर्दै छन् भन्ने सूचना कहिल्यै दिन सकेनन् । उनीहरु घटना भइसकेपछि मात्र सूचना दिन सक्थे, त्यो पनि ज्यादै कम केसमा मात्र । दस वटा घटना भए भने एउटा सूचना आउँथ्यो । चोरी सिकार कहाँबाट सञ्चालित भैरहेको छ भन्ने कुराको यकिन लगाउन पनि हामीलाई हम्मेहम्मे थियो ।

हामीसँग पर्याप्त स्रोत र साधन थिएन। सुराकीलाई मनग्य तलब र खर्च दिन सकिँदैनथ्यो । हामी सहयोगी संघसंस्थामा निर्भर थियौँ । उताबाट बजेट आए सुराकी परिचालन गर्न सक्थ्यौँ नत्र सुराकीलाई तलब उपलब्ध गराउन सक्ने उपाय थिएन । समन्वयको पक्ष पनि कमजोर थियो। जिल्ला वन कार्यालय, चितवन, नवलपरासी, मकवानपुर, सशस्त्र वनरक्षक तालिमकेन्द्र टिकौली, प्रहरी, प्रशासन र अन्य सरकारी तथा गैरसरकारी निकायहरुसँगको सहयोग आदानप्रदान त्यति प्रभावकारी बनाउन सकिएको थिएन ।

वैशाख ५ गते नियमित गस्तीमा गएको थियो ब्यारेकको टोली । एक महिनाअगाडि गैँडा मारेर खाग लैजाने जितबहादुर मोक्तानसहितको सिकारी टोली फेरि गैँडा मार्न तमोर तालपछाडि आएको रहेछ । उनीहरुलाई त्यहाँ खाना पकाउँदै गरेको बखत टोलीले भेटेछ । पक्रन खोज्दा दुई जना भागेछन् । जितबहादुर मात्र कटुवा पेस्तोलसहित पक्राउ पर्यो । यो नै पहिलो घटना थियो, गैँडा मार्न आएका सिकारीलाई निकुञ्जभित्र सैनिक गस्ती टोलीले भेटेको। उनीहरु पहिलेको खाग मकवानपुर, खैराङ गाउँमा घ्याम्पामा लुकाएर आएका रहेछन्। तर त्यति बेला उनीहरुको घर खैराङ जान सकिने सम्भावना थिएन । त्यति टाढासम्म हातहतियारसहित सैनिक लिएर हिँडेर जान माओवादीका कारण ठूलो कसरत गर्नुपर्थ्याे ।

अघिल्लो दिन जङ्गलमा जितबहादुर भेटिएपछि अरु टोली पनि हुन सक्छन् भनेर ६ गते पनि हामीले संयुक्त गस्ती पठायौँ । चुरे जङ्गलमा गैँडालाई गोली हानेर घाइते बनाएको रहेछ अर्को सिकारी टोलीले । त्यहाँ पाँच–छ सिकारीलाई देखेर चारैतिरबाट घेरा हाली पक्रन खोज्दा पर्सा, ठोरीका रामबहादुर बल मात्र पक्राउ परेछ । उसबाट एउटा भरूवा बन्दुकसमेत बरामद भएछ । अरु भने भाग्न सफल भएछन् ।

रामबहादुरले आफूसँगै चितवन, गर्दी बस्ने आइतराम र सुखे बोटे पनि गैँडा मार्न आएको बतायो । त्यसपछि माडीको सुराकीलाई भनेर वनकट्टा पोस्टको टोलीले उनीहरुलाई १० गते पक्राउ गर्यो । उनीहरु पहिले पनि गैँडा मारेको अभियोगमा जेल बसेर छुटेका रहेछन्। जेलमा काजीमान तामाङ पनि सँगै रहेछ । जेलबाट छुटेर काजीमानलाई भेट्न कठार गएका बेला दुवैलाई रेन्जर विष्णुजी र क्याप्टेन विशाल शाहको टोलीले पक्राउ गरी सौराहा ल्याएको थियो । त्यस बेला खाना खान हात्तीसारमा लैजाँदा एक जना पिसाब फेर्छु भन्ने निहुँ पारेर भागेछ; त्यसको पछाडि दौडँदा अर्को पनि भागेछ ।

खुँखार सिकारी

पक्राउ परेका धेरैजसो सिकारीको मुखबाट वीरबहादुर प्रजाको नाम सुनिने गर्थ्याे । लाग्थ्यो, वीरबहादुर नै गैँडा तस्करको नाइके हो । ऊ नै गैँडा मार्ने एक मात्र यस्तो सिकारी हो, जसलाई पक्राउ गर्न सके सारा चोरी सिकार नियन्त्रण हुन सक्छ । उसलाई पक्रन धेरै मेहनत र प्रयास नभएका होइनन् तर सफलता कतै हात लागेन ।

अनिल घिसिङ र झलेन्द्र गुरूङले पक्राउ परेपछि उसको नाम लिएका थिए । राजन प्रजालाई पक्राउ गरेपछि त उसको झनै व्यापक खोजी भयो । हामीले वीरेन्द्रनगर गाविसस्थित उसको घरमा र ससुरालीमा छापा मारेपछि ऊ भागेर ठोरी पुगेको छ भन्ने खबर सुराकीहरुले मसमक्ष ल्याउन थाले । त्योभन्दा अगाडि सिकारीको जत्थाले वीरेन्द्रनगर, वानगु्रपमा भोज लगाउने, रक्सीले मातेर गाउँलेलाई सताउने गर्दो रहेछ। दिनदहाडै जरायोको मासु भाग लगाएर मोजमस्ती गर्दो रहेछ । गैँडा मारेको पैसाले रबाफ देखाउने र ‘पैसा कमाउने हो भने हामीसँग हिँड, के दुःख गर्छौ ? किन विदेश जान्छौ ?’ भनेर युवाहरुलाई गैँडा मार्न उकास्दो रहेछ । मैले वीरबहादुर बसेको ठाउँ निश्चित गर्न एक जनालाई ठोरी पठाएँ । खबर आएपछि दुई जनाको अर्को टोली खटियो वास्तविकता पत्ता लगाउन ।

उनीहरु बुझेर फर्केको भोलिपल्टै (२०६१ वैशाख १६ गते) हाम्रो टोली त्यतातिर लाग्यो। म दुई साथीहरु बुद्धि लामिछाने र भीमराज सेढाईलाई लिएर बिहान करिब ११ बजे माडी पुगेँ र त्यहाँबाट दुई जना सुराकी लिएर बगाई पोस्ट पुगेँ । त्यहाँ कार्यरत लेफ्टिनेन्ट सागरशमशेर थापासँग सम्पर्क गरेर ठोरी जान लागेको कारण बताएँ र ‘यदि त्यो मान्छे त्यहाँ रहेछ भने बेलुका फर्केर सहयोग माग्न आउँछु’ भनेँ ।

हामी ठोरी पुग्यौँ। मैले सोचेको थिएँ, ठोरीको बजार ठूलै होला, मान्छेको चहलपहल र गाडीको आवतजावत पनि बाक्लै होला । तर मेरो अनुमान विपरीत ठोरी बजार शून्य थियो । दुई–चार पसल र बसपार्कमा एक–दुई थोत्रा बस मात्र देखिए । बसपार्ककै एक छेउमा हामीले गाडी राख्यौँ र कतै गोप्य स्थानमा बसेर छलफल गर्न पैदलै भारततिरको ठोरीतर्फ लाग्यौँ ।

सीमापारि पुगेर जङ्गलछेउ बसी सल्लाह ग¥यौँ। त्यहाँबाट नेपाल फर्केपछि दुई सुराकीलाई वीरबहादुर बस्ने गाउँमा गएर उसको गतिविधिबारे बुझेर आउन पठायौँ । हामीले चाहिँ अलि माथिपट्टि आएर एउटा पसलमा चियापानी खायौँ ।

सुराकीहरुले ‘त्यो मान्छे त्यहीँ छ’ भन्ने खबर ल्याए । हामी अब सैनिक लिन पुनः फर्केर बगाई आउनुपर्ने थियो । बगाई फर्कन लाग्दा बाटामा एउटा खहरे खोलामा हाम्रो गाडीको एउटा टायर पन्चर भयो । त्यति बेला साँझ पर्नै लागेको थियो । मैले जीवनमा कहिल्यै गाडीको टायर फेरेको थिइनँ । त्यो दिन मसँग ड्राइभर पनि थिएन ।

तर गाडीमा हिँड्दा अरुले चक्का फेरेको देखेको भरमा अरु दुई साथीको सहयोगमा चक्का खोल्न थालेँ । जब चक्का फिट गर्यौँ, त्यस बेला जगेडा टायरमा पनि हावा नभएको थाहा भयो । मैले नारायणगढ वा टाँडी जस्तै ठानेर ठोरी बजारमा गाडी त्यसै छाडिदिएको थिएँ; त्यहाँका उटपट्याङहरुले एउटा टायरमा काँटी ठोकेछन् र अर्को जगेडा टायरको हावा खुस्काइदिएछन् ।

हामीलाई आपतै पर्यो। नजिकै टायर टाल्ने ठाउँ रहेनछ । हाम्रो गाडी रोकिएको देखेर वरिपरिबाट जम्मा भएका मान्छेले टायर टाल्न भारतै पुग्नुपर्छ भनेपछि मैले दुई जना गाउँलेलाई केही रकम दिएर हाम्रो साथीसँग टायर लिएर पारि पठाउने विचार गरेँ । पैसा पाइने भएपछि उनीहरु टायर गुडाउँदै भारततर्फ लागे । त्यहाँ पुग्न करिब एक घण्टा लाग्ने अनुमान थियो । टायर टालेर फर्किंदा रातको दस बज्ने छाँटकाँट देखियो । त्यहाँ जम्मा भएका मान्छेले भन्न थाले– ‘यो त गाँजा तस्करी हुने बाटो हो; खतरा हुन्छ ।’

भीमराज त्यहाँको मध्यवर्ती क्षेत्र उपभोक्ता समितिका अध्यक्ष मीनप्रसाद गुरूङको घरतर्फ लागे । केही बेरपछि एउटा मोटरसाइकल हेडलाइट बालेर हामीतर्फ आयो । मीनप्रसाद हुनुहुँदो रहेछ । उहाँले टायरमा हावा हाल्ने पम्प पनि सँगै ल्याउनुभएछ । त्यसको सहायताले हावा भरेको, जगेडा टायर ठीक भयो । अनि मीनप्रसादजी ‘खाना बनाउँछु’ भनेर घरतर्फ लाग्नुभयो । हामी साथीहरुलाई खोज्न गाडी फर्काएर भारततर्फ लाग्यौँ। र, बाटाको एउटा पसलमा साथीहरुको प्रतीक्षा गर्न थाल्यौँ ।

उनीहरु टायर बनाएर फर्कंदा दस बज्यो । मीनप्रसादजीको घरमा पुग्दा खाना तयार रहेछ । खाना खाएपछि मैले त्यति बेला राति नै गएर वीरबहादुरलाई हामीले मात्र समात्न सकिने सम्भावनाबारे मीनप्रसादजीसँग कुरा गरेँ । तर बोर्डरको ठाउँ खतरा हुन सक्छ भन्ने भयो र हामी फर्केर बगाईतर्फै लाग्यौँ ।

बगाई पोस्टमा पुग्दा मध्यरात भइसकेको थियो । त्यहाँ पुगेर ठोरीको विवरण बताई मैले सहयोग मागेँ । सैनिक टोली तयार भएर हिँड्दा राति एक बजेको थियो । गाडी सानो थियो; त्यसमा सञ्चार सेटसहित एघार सैनिक, दुई स्टाफ, दुई सुराकी र मसमेत जम्मा सोर्ह जना भयौँ। गाडीको क्षमता ड्राइभरसहित अगाडि तीन जना र पछाडि छ जना बल्लतल्ल बस्न सकिने थियो । गाडीभित्र छिर्न नसकेर पाँच सैनिक साथीहरु हुटमा बसे । केही गर्दा नअटिएपछि बुद्धि र भीमराजलाई बगाई पोस्टमै सुत्न भनेँ ।

ठूलो गाडी मात्र चल्ने गरेकाले बाटोको लिक हाम्रो सानो गाडीलाई मिल्दो थिएन । ठूल्ठूला खाल्डामा गाडी कोल्टे पर्दा पल्टनै लागे जस्तो हुन्थ्यो । हामी ठोरी पुग्दा रातको करिब अढाई बजिसकेको थियो। हामीले हाम्रा सुराकीले बनाएको स्थानीय सुराकीलाई वीरबहादुरको घर देखाइदिन भन्यौँ ।

उसले देखाएको घरमा हामीले छापा मार्यौँ तर त्यहाँ ऊ थिएन । अनि हामीले त्यही घरको मान्छेलाई ‘चितवनतिरका मान्छेहरु कहाँ बस्छन् ?’ भनेर सोध्यौँ । उसले माथिल्लो घर देखाइदियो । त्यो घरबाहिर एउटी महिला सुतिरहेकी थिइन् ।
हामीले उनलाई सोध्यौँ– ‘तिम्रो श्रीमान् खै ?’
‘डायरिया लागेर बाहिर जानुभएको छ ।’
‘वीरमान कहाँ बस्छ ?’
उनले उत्तरतर्फ एउटा फुसको घरतिर इसारा गर्दै भनिन्– ‘उः त्यहाँ ।’
म हतारिँदै त्यता लागेँ । तल भुइँमा दुई जना सुतिरहेको देखेँ । वीरमानले त्यहाँ अर्कै नाम राखेको छ भन्ने थाहा पाएकाले त्यही नामले बोलाएँ । उसले भन्यो– ‘म त्यो नामको मान्छे होइन।’
‘ल ठीक छ, त्यो मान्छे होइनस् भने वीरमान त होस्।’
‘म वीरमान पनि होइन।’

मैले उसलाई केरकार गरेको सुनेर उसकी श्रीमती पनि उठी । मैले उसलाई पहिले वीरेन्द्रनगरमै देखेको थिएँ, चिनिहालेँ । उसले पनि मलाई चिनिहोली ।
मैले सोधेँ– ‘यो तेरो श्रीमान् होइन ?’
उसले भनी– ‘हो ।’

मैले उसको घरमा छापा मार्दा प्राप्त गरेको फोटोका आधारमा पनि चिनिसकेको थिएँ उसको लोग्नेलाई । त्यही थियो वीरमान प्रजा । धेरै समय खोज्दा पनि नभेटिएको सिकारी बल्ल आज फेला पर्यो । हामीले उसलाई आश्रय दिने व्यक्ति प्रेमबहादुर लामालाई पनि पक्राउ गर्यौँ र उसको घरमा खानतलासी लियौँ । केही भेटिएन । श्रीमतीले डायरिया लागेर बाहिर गएको भने पनि हामीले खोजेको अर्को मान्छेचाहिँ तल्लो घरमा छापा मार्दा नै थाहा पाएर भागेछ ।

हामी तिनीहरुलाई लिएर हिँड्यौँ। एक हप्ताअगाडि पक्राउ परेको ठोरी, इच्छानगरको रामबहादुर बलको बयानका आधारमा उसको गाउँका केही अन्य सिकारीलाई पनि पक्रिनु थियो ।

रामबहादुरसँगै गैँडा मार्न गएका तिनीहरु जङ्गलबाट भाग्न सफल भएका थिए । इच्छानगर पुगेर सोध्दै–खोज्दै जाने क्रममा एउटा बूढो मान्छे र अर्की अधबैँसे आइमाई भएको फुसको छाप्रामा पुग्यौँ । त्यो रामबहादुरकै घर परेछ । उसकी श्रीमतीलाई आफ्नो श्रीमान् पक्राउ परेको भन्ने पनि थाहा रहेनछ । फरार व्यक्तिहरु भने आफ्नो घरमा थिएनन् ।

उनीहरु भारत भागिसकेका रहेछन् । हामीले पाँच–छ घरमा खोजतलास गर्यौँ तर कसैलाई भेटेनौँ । त्यति गर्दागर्दै उज्यालो भइसकेको थियो । अघि हामी मात्र हुँदा त नअटिएको गाडीमा वीरमान, उसकी श्रीमती र घरबेटीसमेत थपिएपछि अट्ने कुरै भएन । मैले गाडीमा सबैलाई पालैपालो ओसार्दै ठोरी गाविसस्थित निकुञ्जको अमुवा पोस्ट ल्याइपुर्याएँ ।

त्यो पोस्ट माओवादीका कारण सेनाले छाडेको थियो । वीरमानले ‘बन्दुक यहाँबाट दुई घण्टा माथि जङ्गलमा लुकाएको छु’ भन्यो । बन्दुक लिन यति टाढा फेरि किन आउने, जति माथि भए पनि जाऊँ खोज्न भन्ने सल्लाह भयो र हामी वीरमानलाई लिएर खोलैखोला उँभो लाग्यौँ। करिब एक घण्टा माथि गएपछि उसले रुखको धोद्रामा लुकाएर राखेको बन्दुक, गोली, बारूद, सलाईसहितको पोको बरामद गर्यौँ । त्यो भेटेपछि हामीले सारा थकाइ, दुःख, भोक र निद्रा पनि बिर्स्याेँ। लप्टन सागर थापा पनि खुसी भए, मिसन सफल भएकामा ।

फर्केर अमुवा पोस्ट आइपुग्दा घाम निकै माथि चढिसकेको थियो । साढे एघारजति बजिसकेको थियो । मुख पनि धुन पाएका थिएनौँ र चिया पनि खाएका थिएनौँ । लोकल बस माडीतर्फ जाने तरखरमा रहेछ । हामीले सल्लाह गर्यौँ— केही बसमा जाने र अरु वीरमानहरुलाई लिएर यही गाडीमा जाने ।

म भोक, निद्रा र थकाइले लखतरान थिएँ। हाम्रो गाडी जसै बगाईतर्फ लाग्यो, मुसलधारे पानी पर्न थाल्यो। थोत्रो गाडी, उकालो बाटो, रातो माटो भएकाले चिप्लो अनि पानीको बहावले बाटाको लिक देख्न पनि मुस्किल थियो ।

त्यसमाथि वाइपर (गाडीको अगाडि सिसामा पानी तर्काउने वस्तु) समेत नचलेर अगाडि केही नदेखिने भयो । झ्यालको सिसा तल सारेर टाउको बाहिर निकाली बाटो हेर्दै गाडी चलाउँदै गर्नुपरेकाले पानीले भिजेर म निथु्रक्क भएँ ।

मैले त्यति बेला भगवान्लाई सम्झेँ । वीरबहादुरहरु जब गैँडा मार्थे तब मनकामनामा पूजा गर्थे। एक मनले लाग्यो— आज उनीहरु पक्राउ परेकाले यस्तो भएको त होइन ? फेरि अर्को मनले भन्यो— गैँडा त साक्षात् भगवान् विष्णुको रुप हो । भगवान्को कृपाले एउटा खुँखार सिकारी, जसले बीसौँ गैँडा मारेको छ, त्यो पक्राउ परेको खुशीमा त यस्तो भएको होइन ? प्रकृतिको विनाश गर्नेलाई पक्रेको खुशीमा आकाशले दिने उपहार ऊसँग वर्षा मात्रै छ, त्यही कारण ठूलो वर्षात भएको हुनुपर्छ ।

यस्तै सोच्दासोच्दै बल्लतल्ल हामी एक बजे बगाई पोस्ट आइपुग्यौँ । पानी अझै रोकिएको थिएन । खाना पाक्दै थियो। हामी रातभरि हराएर रेडियो सम्पर्कसमेत नभएकाले कसरामा चिन्ता छाएको रहेछ । म निद्राले गर्दा एकै छिन ओछ्यानमा पल्टेँ । खाना खाईवरी त्यहाँबाट बाटो लाग्दा अपराह्नको करिब चार बजिसकेको थियो ।

अत्यधिक वर्षाले माडीका खहरे खोलाहरुमा बाढी आइरहेको थियो । हामीले त्यसको वास्ता नगरी गाडी अगाडि बढायौँ। गाडी थोत्रो भए पनि बलियो थियो । फस्छ कि भन्ने लागेको ठाउँमा पनि खुरूरू कुद्थ्यो । रिउ खोलाछेउ आइपुग्दा भने गाडी फस्यो; त्यहाँ अरु गाडी पनि हिलोमा फसेका थिए । अनि हामी हिँडेरै माडीको वनकट्टा पोस्ट पुग्यौँ र कसराबाट अर्को गाडी मगाएर बेलुका बल्ल कसरा पुग्यौँ ।

प्रायः सिकारीहरु पक्राउ पर्नुभन्दा पहिले मात्र ठूला जस्ता लाग्छन्; पक्राउ परेपछि केही लाग्दैनन् । यसपालि पनि त्यस्तै भयो । वीरमान भनेको के–के न होला जस्तो भान थियो तर पक्राउ परेपछि ऊ भुसुनोझैँ लाग्यो ।

उसले बयानमा चौध वटा गैँडा मारेको स्वीकार गर्यो। आफूसँग गैँडा मार्न जानेहरुबारे खुलस्त बतायो । अरुले झैँ लुकाउने, आनाकानी गर्ने कहिल्यै गरेन । एकातर्फ उसलाई पश्चात्ताप लाग्यो होला, अर्कातर्फ सबै कुरा बताइदिएर हाम्रो मन जित्ने विचार ग¥यो होला। सम्पूर्ण कुरा बताए बमोजिम उसलाई कम सजाय गर्नुपर्ने हो, तर पनि फैसला गर्दा मुद्दा हेर्ने अधिकारीले अधिकतम पन्ध्र वर्ष कैद र एक लाख जरिवाना नै तोकिदिनुभएछ ।

वीरमानले मलाई भेट्न खोजेको छ भनेर एक दिन थुनुवा कुर्ने स्टाफले भन्यो । मैले उसलाई भेटेँ ।
उसले भन्यो– ‘खै के भन्नु सर, एक जना ठूलो नेता छ; त्यसलाई पक्रन सरहरुले सक्नुहुन्छ कि हुन्न ?’

मैले भनेँ– ‘तिमी नडराई भन, त्यो मान्छे को हो; हामी प्रमाण भए तुरून्तै पक्रनेछौँ ।’
कोको न हुन् भनेको त, उसले ‘ती मान्छे कालिका सामुदायिक वनको अध्यक्ष माधव गिरी र उसको दाजु केदार गिरी हुन्; उनीहरुले नै मलाई सुरूमा गैँडा मार्न सिकाएका हुन्’ भन्यो ।

रेन्जर माधवजी र मसमेत भएर वैशाख २१ गते दिउँसोतिर पूर्वी चितवन वीरेन्द्रनगर गाविसतर्फ लाग्यौँ। पहिले तिनीहरु छन्÷छैनन् बुझ्न पठायौँ एक जनालाई । खबर पायौँ, केदार घर बनाउने ठाउँमा छ र माधव सामुदायिक वनको अफिसमा छ । हामीले पहिले केदार भए ठाउँ पुगेर भन्यौँ– ‘हामी जिल्ला वन कार्यालयबाट आएका हौँ; तपाईंको भाइ कहाँ हुनुहुन्छ, पुर्याइदिनुस् ।’

यसरी उसलाई आफ्नो गाडीमा राखेर सामुदायिक वनको कार्यालय गयौँ । त्यहाँ पुगेर ‘जिल्ला वन कार्यालयमा कार्यक्रम छ, अध्यक्षज्यूलाई लिन आएको’ भन्यौँ । अनि माधव पनि गाडी चढ्यो । घरनिर आइपुग्दा केदार ‘म यतै झर्छु’ भन्दै थियो । ‘चोकमा कोक खाएर फर्कनुहोला’ भनेर हामी अगाडि बढ्यौँ। पछि खुरखुरे चोकमा आएपछि केदारले ‘खै, म झर्छु’ भन्दा बल्ल हामीले कुरा खोल्यौँ । पक्राउ परेको थाहा पाएर उनीहरु अक्क न बक्क भए ।

क्रमश:

कमलजङ्ग कुँवर

प्रतिक्रिया दिनुहोस

web
analytics