कृषिको नवीनतम उपायका लागि प्रविधिसम्बन्धी नेपाली संस्थाद्वारा अमेरिकी डाटा-ड्रिभन फार्मिङ अवार्ड



अमेरिकी सरकारको फिड द फ्‍युचर कार्यक्रमले आज आफ्नो विश्‍व्यापी डाटा(ड्रिभन फार्मिङ प्राइज (तथ्याङ्कद्वारा निर्देशित कृषि पुरस्कार) विश्‍वभरका चार संस्थालाई प्रदान गर्ने घोषणा गरेको छ ।

उक्त संस्थाहरूले कृषि उत्पादनको सुधारका लागि सूचना तथा सञ्‍चार प्रविधिको सदुपयोग गर्ने नवीनतम उपयहरू अपनाउँदै आएका छन् । काठमाडौँस्थित सूचना तथा सञ्‍चार प्रविधिमा आधारित संस्था डिबीटुम्यापले आफ्नो जिओकृषि कार्यक्रमका लागि १ लाख अमेरिकी डलर राशिको पुरस्कार प्राप्‍त गरेको छ । कृषकहरूलाई बाली उत्पादन वृद्धिमा सहयोग गर्नका लागि जमिन तथा माटोको अवस्था जाँच्न सरकारी तथा क्राउडसोर्स गरिएको सूचनालाई जिओकृषि कार्यक्रमले एकीकृत गर्दछ ।

नेपालकै अर्को संस्था आईसिटी फर एग्रिकल्चर (कृषिका लागि सूचना तथा सञ्‍चार प्रविधि) ले ५० हजार अमेरिकी डलर राशिको पुरस्कार प्राप्‍त गरेको छ । ग्रामीण कृषकहरूलाई घुम्ती तथा वेबमा आधारित माध्यमबाट उक्त कार्यक्रमले कृषिसम्बन्धी विस्तृत जानकारी प्रदान गर्दछ । अन्य पुरस्कार विजेतामा जर्मनीका पिईएट तथा क्‍यानाडाका स्पेरो एनेलिटिक्स नामक प्रविधिसम्बन्धी संस्थाहरू रहेका छन्, जसले क्रमश १ लाख र ५० हजार अमेरिकी डलर राशिको पुरस्कार प्राप्‍त गरेका छन् ।

मौसम, माटो र बजार भाउमा आउने परिवर्तनले कृषि क्षेत्रभर नै प्रतिकूल असर पार्न सक्छन् । स्याटलाइट, मौसम मापन केन्द्र, सरकार तथा शोधकर्ताहरूले नियमित रूपमा कृषिजन्य विवरण सङ्कलन गर्दछन् । यद्यपि, यस्तो विवरणलाई एकत्रित गरी कृषकलाई उचित जानकारी दिएको विरलै पाइन्छ । कार्यक्रममा बोल्दै युएसइआईडीकी कार्यवाहक निर्देशक एमी टोहिल स्टलले भने “अबदेखि डाटा शोधमूलक निकायका कम्प्युटर सर्भरमा सीमित हुनुहुँदैन । त्यस्तो डाटालाई हामीले नेपालका कृषक, कृषिव्यवसायी र कृषि भ्यालु चेनभरका सम्पूर्ण सरोकारवालाहरूका लागि खुल्ला र पहुँचयोग्य बनाउनुपर्छ । यसैलाई हामीले डाटा ड्रिभन फार्मिङ भनेका हौँ ।”

अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (युएसएआईडी) द्वारा फेब्रुअरी २०१७ मा सुरु गरिएको ३ लाख अमेरिकी डलर राशिको डाटा ड्रिभन फार्मिङ पुरस्कारले नेपालका साथै विश्‍वभरकै साना किसानलाई सहयोग गर्नका लागि व्यावहारिक जानकारी सोर्स, विश्‍लेषण र प्रदान गर्ने नवीन औजार तथा विधिहरूलाई मान्यता दिन्छ । डाटा ड्रिभन फार्मिङ पुरस्कारका लागि २१ देशबाट १४३ ओटा आवेदन परेका थिए, जसमध्ये नेपालबाट ८३ ओटा आवेदन थिए । निर्णायक चरणमा परेका १३ आवेदनमध्ये ६ आवेदन नेपालका थिए ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics