‘गुगल’ को आँखा अब चितवन राष्ट्रिय निकुञ्जमा

A+ A-



 

सुप्रसिद्ध सर्च इन्जिन गुगलले नेपालको वन्यजन्तु संरक्षणमा सहयोग गरेको छ । यही सहयोगबाट विश्व सम्पदा सूचीमा सूचीकृत चितवन राष्ट्रिय निकुञ्जलाई आधुनिक प्रविधिको प्रयोगले सुरक्षा निगरानीमा राखिएको छ । आइतबारको नागरिक दैनिकमा सुबोध गौतम लेख्छन् गुगलले विश्व वन्यजन्तु कोष (डब्लुडब्लुएफ) अमेरिकामार्फत चितवन राष्ट्रिय निकुञ्जमा विभिन्न किसिमका प्रविधि जडान गर्न सहयोग गरेको हो ।

गुगलको सहयोगमा चितवन राष्ट्रिय निकुञ्जमा जडान गरिएको प्रविधि गत दुई महिनादेखि सञ्चालन भएको छैन । वन्यजन्तुको अवरोध र वर्षाले गर्दा समस्या आएको निकुञ्ज प्रशासनको दाबी छ ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका सहायक अनुसन्धान अधिकृत रूपक महर्जनले वन्यजन्तुको सुरक्षा, संरक्षण, अनुसन्धान र व्यवस्थापन चुस्त पार्ने उद्देश्यले आधुनिक प्रविधि जडान गर्न गुगलले सहयोग गरेको जानकारी दिए । ‘गुगलको पैसा हो, यो’, उनले भने, ‘डब्लुडब्लुएफले गुगलबाट पैसा लिएर हामीलाई दिएको हो ।’

महर्जनका अनुसार गुगलबाट प्राप्त सहयोगबाट चितवन निकुञ्जमा ५० किलोमिटर क्षेत्रफलमा फाइबर ओछ्याइएको छ । २५ वटा सिसी क्यामेरा पनि जडान भएका छन् । ताररहित प्रविधि सञ्चालन गर्न पाँचवटा टावर, तीन ठाँउमा मानव–वन्यजन्तु कम गर्न पूर्वसूचना प्रविधिसहितको प्रविधि, ५४ वटा गाडीमा सवारीसाधन ट्र्याकिङ प्रणालीलगायत जडान गरिएको छ ।

उनका अनुसार बरन्डाभार जंगल, चितवन, शुक्लाफा“टा, बर्दियामा प्रविधि जडान गर्न डेढ करोड रुपैयाँ खर्च भएको छ । यसमध्ये सबैभन्दा बढी खर्च चितवनमा भएको छ ।
विश्व वन्यजन्तु कोष अमेरिकाले गुगलबाट पैसा लिएर ‘वाइल्डलाइफ क्राइम टेक्नोलोजी प्राजेक्ट’ अन्तर्गत नेपाललाई सहयोग गरेको हो । ६ महिना अघिदेखि सुरु भएको यो परियोजनाले चितवन निकुञ्जमा सबै प्रविधि जडान गरिसके पनि सञ्चालनमा आउन सकेको छैन । चितवनभित्रका सबै सिसी क्यामेरा अहिले बन्द छन् ।

‘जडान गरेको एकदुई महिना चलाइयो । पछि वर्षा लागे पनि समस्या देखिए’, महर्जन भन्छन्, ‘सबैभन्दा बढी समस्या ब्याट्रीको आएको छ ।’ उनले कसराबाट माडीतर्फ जाने बाटो बनाउँदा डोजरले गर्दा फाइबर चुँडिएकाले समस्या आएको बताए ।

चितवन राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत वेदबहादुर खड्काले सिसी क्यामेरा जडान गरिएका दुईवटा पोल जंगली हात्तीले ढालेको र फाइबर ओछ्याएको जमिन भालु र बँदेलले खोस्रिएकाले समस्या आएको जानकारी दिए । ‘नयाँ प्रविधि भएकाले पनि तालिम प्राप्त जनशक्ति अभावले सञ्चालनमा समस्या आइरहेको छ’, उनले भने, ‘यी प्रविधि सञ्चालन गर्न पूर्णकालीन प्राविधिकको आवश्यकता पनि खड्किएको छ ।’ खड्काले निकुञ्जका कर्मचारी पनि प्रविधिमा पूर्ण जानकार भइसकेका छैनन् ।

महर्जनले दसैँलगत्तै सौराहाका स्थानीय युवालाई प्रविधिसम्बन्धी तालिम दिने जानकारी दिए । ‘बिग्रिएको ठाउँमा बनाउन एक साताभित्र प्राविधिक पठाउने तयारी पनि भइरहेको छ’, उनले भने ।

५२ किलोमिटर फाइबरमध्ये ४० किलोमिटर सौराहादेखि भिम्लेसम्म र १२ किलोमिटर नवलपरासीको अमलटारीमा ओछ्याइएको छ । पहिलो खण्डमा २० वटा र दोस्रो खण्डमा पाँचवटा क्यामेरा जडान गरिएको छ । यी दुवै खण्डमा पर्ने खोलाका डिलमा पा“चवटा टावर बनाइएको छ । यी टावरलाई तारहित प्रविधिले जोडिएको छ । सबै क्षेत्रका श्रव्यदृश्य खोला वारि र पारिका टावरमा जडान गरिएको प्रविधिबाट कन्ट्रोल रुममा आइपुग्छन् । यसको कन्ट्रोल रुम कसरामा राखिएको छ । त्यहाँ राखिएका तीन वटा मोनिटरमा सबै सूचना प्राप्त हुन्छन् । यही कार्यक्रमअन्तर्गत चितवन निकुञ्जलाई महाभारत पर्वतसँग जोड्ने बरन्डाभार जंगलको ४ किलोमिटर राजमार्गमा १० वटा सिसी क्यामेरा जडान गरिएको छ ।

खड्काका अनुसार यी क्यामेरा विशेषगरी निकुञ्जका प्रवेशद्वारमा राखिएका छन् । वनजंगलबाट सर्वसाधारण र जनावरको गतिविधि हेर्ने उद्देश्यले यी क्योमरा राखिएका हुन् । पर्यटकलाई निकुञ्जभित्र घुमाउने ५४ वटा सवारीसाधनमा ‘ट्र्याकिङ चिप्स’ पनि राखिएको छ । ती साधन निकुञ्जभित्रका निर्धारित रुटमा गुडिरहेको क्षेत्र, गति आदि पत्ता लगाउन यो प्रविधि जडान गरिएको महर्जनले बताए ।

उनका अनुसार निकुञ्जको मेघौली, वनकट्टा र बगाईमा मानव–वन्यजन्तु द्वन्द्व नियन्त्रण गर्न टावर पनि बनाइएको छ । हात्ती, गैंडालगायतका वन्यजन्तु बस्ती छिर्न थालेको सूचना दिन यी टावर राखिएको हो । ‘वन्यजन्तुको गतिविधि निकुञ्ज छेउछाउमा देखिन थालेपछि स्विच थिचेर सतर्क गराइन्छ’, महर्जनले भने, ‘माइकबाट बस्तीको चारपाँच किलोमिटर दुरीसम्म आवाज पुग्ने गरी यो प्रविधि जडान गरिएको छ ।’

प्रतिक्रिया दिनुहोस

sidebar1
sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar6
sidebar6
web
analytics