संरक्षण क्षेत्रमा वन्यजन्तुको तस्करी बढ्दै

तस्वीर स्राेत : अन्नपुर्ण पाेस्ट / कस्तुरी मार्न तस्करले थापेको पासो भत्काउँदै नेपाली सेना र स्थानीयवासी । तस्बिर सौजन्य : नयाँ रणभीम गुल्म ताप्लेजुङ


चीन र भारतसँग सीमा जोडिएको ताप्लेजुङका उत्तरी र पूर्वी क्षेत्रमा दुर्लभ वन्यजन्तुको तस्करी बढ्दै गएको छ । खुला सीमाबाट विदेशी तस्कर निर्वाध रूपमा नेपाल प्रवेश गरी वन्यजन्तुको सिकार गर्ने गरेका हुन् । आइतबारको अन्नपुर्ण पोस्टमा सीताराम गुरागाईँ लेख्छन् सात दिनको अवधिमा तस्करले कस्तुरी मृग मार्न ४५ वटा पासो भत्काइएको छ ।

फक्ताङलुङ गाउँपालिका ७, ओलाङ्चुङगोलाको जंगल क्षेत्रबाट नेपाली सेनाको टोलीले तीन दिनमा २१ र कञ्चनजंघा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्को टोलीले २४ वटा पासो भत्काएका छन् । सबै पासो चिनियाँ तस्करले थापेको परिषद्का अध्यक्ष खगेन्द्र फेम्बोको दाबी छ ।

चिमालको झ्याङमा अप्ठेरो ठाउँ खोजी पासो थाप्ने गरेको नयाँ रणभीम गुल्मका गुल्मपति सेनानी रवि केसीले जानकारी दिए । उनका अनुसार पासो थाप्ने सिकारी ओढारमा बस्ने गरेका छन् । कतिपय स्थानमा त टेन्ट टाँगेर पर्यटकजस्तो बसेको पनि पाइएको उनले सुनाए ।

परिषद्का अध्यक्ष फेम्बो संरक्षण क्षेत्रभित्रै वन्यजन्तु असुरक्षित हुँदै गएकाले चुनौती थपिएको बताउँछन् । २०५५ सालमा स्थापित कञ्चनजंघा संरक्षण क्षेत्रले जिल्लाको कुल भूभागको ५६ प्रतिशत क्षेत्रफल ओगटेको छ । फक्ताङलुङ र सिरिजंगा गाउँपालिकामा पर्ने साविकका ओलाङ्चुङगोला, लेलेप, याम्फुदिन र तापेथोक गाविस संरक्षण क्षेत्रमा पर्छन् । संरक्षणको जिम्मा समुदायले पाएका छन् ।

सरकारले २०६३ असोज ६ गते संरक्षणको जिम्मा समुदायलाई हस्तान्तरण गरेको थियो ।

संरक्षणको जिम्मा पाए पनि समुदायले तस्करी रोक्न नसक्नुमा धेरै कारक रहेको फेम्बोको बुझाइ छ । हिमाली क्षेत्रको पातलो बस्ती, कम जनघनत्व र वन्यजन्तुको विचरण स्थलभन्दा बस्ती धेरै टाढा भएकाले समुदायले तस्करी रोक्न नसकेको उनी बताउँछन् ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics