संरक्षित क्षेत्रले कमायो ५९ करोड



आर्थिक वर्ष २०७३ / ७४ मा संरक्षित क्षेत्रले ५९ करोड ९४ लाख राजश्व संकलन गरेको छ । पछिल्लो समय राष्ट्रिय निकुञ्जमा घुम्न आउने पर्यटकहरु बढेसँगै राजश्वमा समेत वृद्धि भएको हो । गत आर्थिक वर्षमा ६ लाख ४० हजार भन्दा बढी पर्यटकले निकुञ्ज भ्रमण गरेका थिए ।

अघिल्लो आर्थिक वर्ष २०७२ / ७३ मा ३५ करोड राजश्व संकलन भएको थियो । अघिल्लो वर्षको तुलनामा यो अर्थिक वर्षमा झन्डै दोब्बर राजश्व संकलन भएको छ । २०७२ वैशाखमा आएको भूकम्पका कारण अघिल्लो वर्षमा पर्यटकको संख्या कमी हुँदा राजश्व संकलनसमेत कम भएको थियो । राष्ट्रिय निकुञ्ज तथा संरक्षण विभागका सूचना अधिकारी नारायण रुपाखेतिले भने, ‘भूकम्प पछि नेपाल भ्रमणमा पर्यटक घटेका थिए । अहिले बिस्तारै पर्यटक वृद्धि हुन थालेसँगै राजश्व संकलन पनि बढ्दै गइरहेको छ ।’

उनका अनुसार वन्यजन्तु आरक्ष क्षेत्र रहेको कतिपय क्षेत्रलाई राष्ट्रिय निकुञ्ज बनाएपछि पनि पर्यटकको सङ्ख्यामा वृद्धि हुन थालेको छ । पछिल्लो समय राष्ट्रिय निकुञ्ज भ्रमण गर्ने आन्तरिक तथा बाह्य पर्यटकहरु बढ्न थालेका छन् ।

सबैभन्दा धेरै राजश्व संकलन गर्नेमा चितवन राष्ट्रिय निकुञ्ज रहेको छ । यो राष्ट्रिय निकुञ्जमा २२ करोड ५१ लाख राजश्व संकलन भएको छ । सबैभन्दा धेरै राजश्व संकलन भएको यो राष्ट्रिय निकुञ्जमा १ लाख ३९ हजार भन्दा बढी पर्यटकले भ्रमण गरेका थिए । यस्तै सबैभन्दा बढी भ्रमण गरेको शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जमा २ करोड ३५ लाख राजश्व संकलन भएको छ । राजधानी नजिकै रहेको यो निकुञ्जमा २ लाख ५ हजार पर्यटकले भ्रमण गरेको तथ्यांक रहेको छ ।

विभागको तथ्यांक अनुसार सगरमाथा राष्ट्रिय निकुञ्जमा १३ करोड ९४ लाख, बर्दिया राष्ट्रिय निकुञ्जमा ३ करोड १६ लाख, लाम्टाङ राष्ट्रिय निकुञ्जमा ३ करोड ३१ लाख, रारा राष्ट्रिय निकुञ्जमा १५ लाख, बाँके राष्ट्रिय निकुञ्जमा ६४ लाख, शे फोक्सुण्डो राट्रिय निकुञ्जमा १ करोड ९४ लाख, मकालु बरुण राष्ट्रिय निकुञ्जमा ४३ लाख, खप्तड राष्ट्रिय निकुञ्जमा ५ लाख, शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा २ करोड ४५ लाख, पर्सा राष्ट्रिय निकुञ्जमा ६३ लाख, कोशिटप्पु वन्यजन्तु आरक्षमा ३० लाख, ढोरपाटन सिकार आरक्षमा ४ लाख, कृष्णसार संरक्षण क्षेत्रमा ७० हजार, अपिनम्पा संरक्षण क्षेत्रमा २ करोड ३ लाख र कंचनजंघा संरक्षण क्षेत्रमा १७ लाख राजश्व संकलन भएको छ ।

राष्ट्रिय निकुञ्जको तुलनामा संरक्षित क्षेत्रबाट राजश्व कम हुने गरेको छ । पर्यटकहरुको निकुञ्ज भ्रमण बढ्दै जानु र आरक्ष क्षेत्रहरू राष्ट्रिय निकुञ्ज बन्नु नै पछिल्लो समय राजश्व वृद्धि हुनुको कारण बनेको छ ।

(यसअघि चितवन राष्ट्रिय निकुञ्जमा २२ कराेड राजश्व संकलन हुनुपर्नेमा अन्यथा भएकाेमा सच्याइएकाे छ । )

 

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics