सगरमाथा क्षेत्रमा अब अनलाइनबाटै उपचार

फाेटाे : एभरेष्ट लिङ्क

सगरमाथा क्षेत्रमा भ्रमण गर्नेलाई अनलाइनमार्फत नै स्वास्थ्य सेवाको सुविधा प्राप्त हुने भएको छ । सगरमाथा आरोहिहरु उच्च हिमाली क्षेत्रमा पुग्दा स्वास्थ्यमा समस्या देखिए अनलाइनमार्फत चिकित्सकसँग सेवा लिन सक्छन् ।

सगरमाथा क्षेत्रमा इन्टरनेट सेवा प्रदान गरिरहेको एभरेस्ट लिङ्क नामक कम्पनीले लुक्लाबाट माथि लागेपछि सगरमाथा आधार शिविरसम्मकै बाटोमा वाइफाइ सेवा सञ्चालन गरी त्यसमा अनलाइन चिकित्सकको समेत व्यवस्था गरेको छ ।

यसै कम्पनीले अबदेखि हिमाल आरोहण र सगरमाथा क्षेत्रमा आएका पर्यटकहरुको स्वास्थ्य समस्या जाँच गर्ने एप्सको निर्माण गर्न लागेको हो । यस सेवाको सुरुवात अब केहिदिन देखि नै सुरु हुने कम्पनीका प्रमुख विनोद महर्जनले जानकारी दिए ।

सगरमाथा क्षेत्रमा घुम्न आउने पर्यटक र सगरमाथा आरोहिहरुको सुविधाका लागि अस्पतालसँगको सहकार्यमा यस्तो सेवा निः शुल्क रूपमा सुरु गर्न लागिएको महर्जनले जानकारी दिए ।

यसरी लिन सकिन्छ अनलाइनमार्फत चिकित्सकको सेवा

सगरमाथाको आधार शिविरसम्म इन्टरनेट सुरु गरेको एभरेस्ट लिङ्कको राउटरसँग जोडिने बित्तिकै लग इन पेजमा एउटा रेस्क्यू बटम देखिन्छ जसलाई प्रेस गर्नेवित्तिकै इमरजेन्सी कलको सङ्केत आउँछ । जसमा कल गर्दा अस्पतालका चिकित्सकको मोबाइलमा भिडियो कल पुग्छ ।

चिकित्सकको मोबाइलमा भिडियो कल पुगेपछि चिकित्सकसँग आफूलाई भएको स्वास्थ्य समस्याका बारेमा भन्न सकिन्छ । त्यसमा तत्काल चिकित्सकले सल्लाह सुझाव दिने व्यवस्था गरिएको छ ।

यदि बिरामी अति जोखिममा परेको छ भने हिमालयन उद्धार सङ्घसँग सहकार्य गरी तत्काल उद्धारको व्यवस्थासमेत एभरेस्ट लिङ्क कम्पनीले नै गर्नेछ । इन्टरनेट व्यवसायसँगै सामाजिक उत्तरदायित्व पूरा गर्नका लागि सगरमाथा क्षेत्रमा अनलाइन चिकित्सकको व्यवस्था गरिएको कम्पनीको भनाइ छ ।

कम्पनीले सगरमाथा क्षेत्रका हाेटल तथा अन्य क्षेत्रमा इन्टरनेट सेवा दिइरहेको छ । डाटा खरिदको व्यवस्था रहेको सो इन्टरनेट विदेशीले प्रति १०० एमबी कार्डको रु २०० तिर्नुपर्छ भने स्वदेशीलाई ५० प्रतिशत छुटको व्यवस्थासमेत गरिएको छ ।

उच्च हिमाली क्षेत्रमा लेक लागेका कारण यात्रुको स्वास्थ्यमा विभिन्न समस्या देखापर्न सक्छन् । यस्तो अवस्थामा के गर्ने र के नगर्ने भन्ने सुझाव पाएमा मात्र पनि धेरैको ज्यान जोगाउन सहज हुने भएकाले पनि यस किसिमकाे व्यवस्था सुरु गरेकाे कम्पनीले जनाएको छ ।

 

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics