वन्यजन्तुमैत्री याेजना नहुँदा दुर्घटना बढे



घटना १

२०७३ असार १२ गते बर्दियाको बुढीखोलामा सवारी साधनको ठक्करबाट एउटा चित्तल मर्यो । ना १ ज ५८३८ नम्बरको माइक्रोको ठक्करपछि चित्तल मरेको थियो । चित्तल मरेपछि माइक्रोचालक सूर्य बहादुर खड्कालाई पक्राउ गरियो ।

घटना २

२०७४ जेठ ३० गते बर्दियामै बाँदरलाई बसले किचेर मर्यो । कर्णाली अम्रेनी बिचमा पर्ने घुम्ना खोलामा ना ४ ख ५४६६ नम्बरको बसले बाँदर मरेको थियो । बाँदर मरेपछि बस चालक खडक बहादुर खड्कालाई पक्राउ गरियो ।

घटना ३

२०७४ जेठ ३१ गते जिपको ठक्करबाट अर्को चित्तल मर्यो । बा १४ च ८८६० नम्बरको जिपको ठक्करले अम्रनी पोस्ट नजिकै चित्तल मरेको थियो । ठक्कर दिई चित्तल मारेपछि चालक राहरी खड्कालाई पक्राउ गरियो ।

वन्यजन्तु सडक वारपार गर्दै विचरण गर्ने गरेका कारण राजमार्गमा दुर्घटना बढेको हो । गत आर्थिक वर्षमा मात्रै बर्दिया राष्ट्रिय निकुञ्जमा ६२ वन्यजन्तुको राजमार्ग दुर्घटनाबाट मरेका छन् ।

राजमार्ग दुर्घटना परी ६२ वटा वन्यजन्तु मरे पनि कारबाहीमा भने ४ जना मात्र परेका छन् ।

बर्दिया निकुञ्जको अम्रेनीदेखि चिसापानीसम्म १४ किमिमा पूर्वपश्चिम राजमार्ग पर्छ । सैनावारदेखि बनियाभारसम्मको झन्डै १२ किमि लामो राजमार्गमा निकुञ्ज जङ्गलले ढाकेको छ ।

बर्दिया निकुञ्जका प्रमुख संरक्षण रमेश थापाका अनुसार अधिकांश वन्यजन्तु मारेर भाग्ने भएकोले सबैलाई समाउन नसकेको बताए ।

बर्दिया निकुञ्जमा सुदूरपश्चिमबाट काठमाडौं तर्फ आइरहेको रात्रीबसले ठक्कर दिँदा गुम्नाहा खोला नजिक कुँवाभार भन्ने स्थानमा विश्वकै र्दुलभ वन्यजन्तु पाटेवाघ मरेको थियो ।

बर्दिया निकुञ्जमा सिसिटिभि जडान गरिएको एक वर्ष भएको छ । तर एउटा पनि राजमार्गको दुर्घटना कैद हुन सकेको छैन । सिसिटिभिको प्रभाव निश्चित ठाउँमा मात्र रहन्छ । पर्सा निकुञ्ज र चितवन निकुञ्ज लगायतका धेरै निकुञ्जमा वन्यजन्तुबाट हुने सडक दुर्घटना रोक्न सिसिटिभि जडान गरिएको छ ।

तर पनि राजमार्गमा दुर्घटना घट्न सकेको छैन । हरेक वर्ष सडक दृघटनाको कारण धेरै वन्यजन्तु मर्ने गरेका छन् ।

बाँके राष्ट्रिय निकुञ्जमा गत अर्थिक वर्षमा ८३ वटा वन्यजन्तु मरेका छन् । जसमा सडक दुर्घटनामा परेर ७५ भन्दा बढी मरेको निकुञ्ज कार्यालयले जनाएको छ । सडक दुर्घटनामा रातो बाँदर, बँदेल, चौका, अजिङ्गर लगायतका जनावरहरु बढी मर्ने गरेका छन् । बाँके राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत लाल बहादुर भण्डारीका अनुसार बढी दुर्घटना राति र बिहानको समयमा हुने गरेको छ । उनले भने, 'रातीको समयमा वन्यजन्तुलाई हानेर सवारी चालकहरु भाग्ने गरेका छन् ।' अघिल्लो आर्थिक वर्ष २०७२/ ७३ मा ५४ वटा वन्यजन्तु सडक दुर्घटनामा मरेको तथ्यांक छ ।

यस्तै पर्सा राष्ट्रिय निकुञ्जमा १३ वटा चित्तल सडक दुर्घटनामा मरेका छन् । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा भने तीन किलोमिटर मात्र राजमार्ग पर्ने भएको गत आर्थिक वर्षमा एउटा पनि वन्यजन्तु सडक दुर्घटनामा मरेनन् ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ को दफा २६ का अनुसार संरक्षण वन्यजन्तु मार्ने वा घाइते बनाउनेलाई ४० हजारर रुपैयाँदेखि ७५ हजार रुपैयाँ सम्म जरिवाना वा एक वर्षदेखि १० वर्षसम्म कैद वा दुवै सजायँ हुने व्यवस्था छ । त्यस्तै संरक्षित बाहेक अन्य वन्यजन्तु मारेमा वा घाइते बनाएमा २० हजार रुपैयाँदेखि ५० हजार रुपैयाँ सम्म जरिवाना वा ६ महिनादेखि १ वर्षसम्म कैद वा दुवै सजायँ गरिने व्यवस्था रहेको छ ।

 

सुजाता कार्की

प्रतिक्रिया दिनुहोस

web
analytics