रेस्टुराँमा रेकी

A+ A-

गैंडालाई चार वर्ष’ गैंडासम्बन्धी कमलजङ्ग कुँवरद्धारा लिखित पुस्तक हो यो पुस्तक वि .सं २०६६ साउन महिनामा ‘चित्रबहादुर कुँवर स्मृति गैँडा संरक्षण प्रतिष्ठान’ ले प्रकाशन गरी बजारमा ल्याएको थियो यो पुस्तक हामीले प्रत्येक शनिबार नेचर खबर अनलाइनबाट प्रकाशित गर्दै आइरहेका छौँ पढौँ पुस्तकको  १८ औं अंश – 

(लेखक कुँवरको स्वीकृतिमा नेचर खबरले हरेक शनिवार पुस्तकका अंश प्रकाशन गर्न थालेको हो ।)

रेस्टुराँमा रेकी

२०६२ असार १७ गते (जुन १०, २००५) मलाई डब्लुडब्लुएफले अब्राहम संरक्षण पुरस्कारबाट सम्मान गर्ने कार्यक्रम थियो। मैले सोचेँ— यही मौकामा अपरेसन गरूँ। अनि असार १५ गते नै काठमाडौँ पुगेँ र रेन्जरलाई पनिसाथमै लिएर डब्लुडब्लुएफले व्यवस्था गरिदिएको होटल तिब्बत, लाजिम्पाटमा एउटै कोठामा बसेँ। भोलिपल्ट म एक्लै रेन्जरले भनेको कर्मा लामा बस्ने गरेको घरको तल्लो फ्ल्याटमा सञ्चालित रेस्टुराँ खोज्दै ठमेल पुगेँ। काठमाडौँ गेस्ट हाउसभन्दा दक्षिणतर्फ चाक्सीबारीमा रहेछ त्यो रेस्टुराँ।

दिउँसो करिब तीन बजेको थियो, भर्खर खोलिएकाले रेस्टुराँमा फाट्टफुट्ट मात्र ग्राहक थिए। म चिसो मगाएर बिस्तारै पिउन थालेँ। ग्राहकहरुको सङ्ख्या  क्रमशः बढ्दै गयो। प्रायः टिनएजरहरु जोडीमा आउँथे र कुनामा टाँसिएर बस्थे। मसिनो स्वरमा, एकअर्काका मुखनजिकै मुख पु¥याएर कुरा गरिरहेका, एकले अर्काका हात समातिरहेका, केटा खुट्टा पसारेर ढल्किएका र केटीहरु छातीमा टाँसिएका देखिन्थे। एकै छिनमा ग्राहक बढेर रेस्टुराँ खचाखच हुन थाल्यो र मान्छेहरु ठाउँ नपुगेर म बसेको टेबलमा पनि बस्न थाले। म रेस्टुराँको ढोकातर्फ हेरिरहेको थिएँ। भर्खरका दुई मङ्गोलियन युवकहरु हेलमेट लिएर माथ्लो तलातिर लागे। उनीहरु भ¥याद्ध उक्लन लाग्दा जोडले कुकुर भुकेको आवाज आयो। एउटा सानो र अर्को अजङ्गको भोटे कुकुर भन्ने भुकाइको आवाजले नै प्रस्ट हुन्थ्यो। प्रेमले पनि दुइटा कुकुर छन्, जानेबित्तिकै भुक्छन् भनेको थियो। मैले सोचेँ— ठीक ठाउँमा आइपुगेको छु। म आफू बसेको टेबल छाडेर बारअगाडिको अग्लो टुलमा बस्न गएँ।  अङग्रेजी  गीतको सीडी बजिरहेको थियो। धूमपानको अम्मली नभए पनि स्वाद्ध पार्न मैले चुरोट र अर्को एउटा चिसो मागेँ। बारमा एक जना ह्यान्डसमयुवक थिए। लामो कपाल, नेवारी लवज र विदेशी शैली।

मैले उनीसँग परिचय गरेँ।

उनले आफ्नो नाम बताए।

मैले काम सोधेँ।

उनले भने– ‘यही रेस्टुराँ हो।’

मैले उनका साथीहरुसँगको कुराकानीबाट थाहा पाइसकेको थिएँ, उनी भर्खर फ्रान्सबाट आएको भन्ने।

सोधेँ– ‘तपाईं फ्रान्समा के गर्नुहुन्छ?’

‘मैले पहिले यो रेस्टुराँ चलाएँ अनि छाडेर फ्रान्स गएर त्यहाँ पनिरेस्टुराँमा काम गरेँ।’

मैले भनेँ– ‘म ट्राभल एजेन्सी खोल्ने भनेर ठाउँ खोज्दै आएको, पोखराबाट।’

उनले भने– ‘अहिले त बिजनेस राम्रो छैन नि।’

एकै छिनमा हामी एकआपसमा राम्रै खुल्न थालिसकेका थियौँ। मैले सोधेँ– यहाँ माथिको फ्ल्याट खाली छैन?’
उताबाट जबाफ आयो– ‘अहँ।

’‘को बस्छ र?’

‘एउटा मनाङे बस्छ।’

मैले फेरि सोधेँ– ‘मान्छेहरु थुप्रै ओहोरदोहोर भैरहेको छ, के छ र माथि?’ उसको जबाफ थियो– ‘उसकी श्रीमती मरेको हुनाले आएका होलान्।

‘ए, के भएर नि?’

‘सुसाइड भन्छन्। छोराले अर्को जातकी ल्यायो भनेर रे। श्रीमतीले पनिरक्सी खान्थी रे।’

‘ए, त्यसो भए श्रीमान् यहीँ छ कि बाहिर?’

‘देख्न  त देखेको छैन तर माथि नै छ जस्तो लाग्छ।’

मैले यति पत्ता लगाउँदा साँझ झमक्कै भैसकेको थियो। आजलाई यतिभए पुग्यो भनेर त्यहाँबाट बिदा भएर बाटो लागेँ। म अपरेसन सफल हुनेमा ढुक्क थिएँ।

अब्राहम संरक्षण पुरस्कार

असार १७ गते (जुन १०) अब्राहम पुरस्कारकै कार्यक्रममा बित्यो। बिहान ८ बजे होटल याक एन्ड यतीमा प्रेस सम्मेलन थियो। सुरूमा पुरस्कार पाउनेहरुको परिचय दिइयो। मलाई अवार्ड दिनुको पुस्ट्याइँमा गैँडाको चोरी सिकार नियन्त्रण गर्न उल्लेखनीय योगदान पु¥याएको, सुरक्षा निकायसँग समन्वय गरेर तस्कर र सिकारीलाई पक्राउ गरेको, गैँडाको खाग, बाघको छाला, बन्दुक, गोली बरामद गरेको आदि बताइयो। बेलुका पुरस्कार वितरण कार्यक्रम थियो सोही होटलमा। पुरस्कार पाउनेहरुलाई एक जना परिवारजन वा इष्टमित्र पनि सँगै ल्याउन अनुरोध गरिएको थियो। मैले मामा राम थापालाई बोलाएको थिएँ। मसमेत तीन जना संघसंस्था  व्यक्ति र सात वटा संघसंस्था पुरस्कृत हुँदै थिए। डा. तीर्थबहादुर श्रेष्ठलाई लाइफटाइम अचिभभेन्ट अवार्ड दिइँदै थियो।

चर्चित गायिका आनी छोइङ  डोल्माको गीतबाट सुरू भएको कार्यक्रममा डा. तीर्थमान मास्केले मैले गरेका काम र गैँडा संरक्षणमा खेलेको भूमिकाको चर्चा गर्नुभयो। त्यसपछि मलाई पुरस्कार ग्रहण गर्न बोलाइयो। पुरस्कार पाउँदा म अत्यन्तै खुसी भएँ; साथै भविष्यमा अझै राम्रो काम गर्ने प्रण गरेँ। त्यो पुरस्कार मेरा लागि साँच्चै प्रेरणादायी थियो। पुरस्कार वितरण सकिएपछि फोटो खिच्ने   कार्यक्रम भयो। गलामा सयपत्रीको माला र हातमा प्रशंसापत्रसाथ धेरै जनासँग फोटो खिचाएँ। विशिष्ट पाहुनाहरु सबैले बधाई दिनुभयो र मेरो कामको प्रशंसा गर्नुभयो।

म कार्यक्रम स्थलमा घुम्दै थिएँ। आनी छोइङछेउ पुगेँ। उहाँले मलाई देख्ने बित्तिकै मन्द मुस्कानसाथ बधाई दिनुभयो र मसँग फोटो खिच्नुभयो । त्यस बेला मलाई आनीसँग भन्न मन लागेको थियो ‘तपाईं पनि गैँडा संरक्षणमा योगदान दिन अगाडि आउनुहोस्। भगवान् गौतम बुद्धले मानव समाजलाई ‘प्राणीमात्रको रक्षा गर’ भन्ने निर्देशन दिनुभएको थियो। तर कतिपय तस्करहरु ‘ओम् माने पेमे हुम्’ भन्दै बौद्ध र स्वयम्भू घुम्दै खाग र बाघको छालाको तस्करीको चाँजोपाँजो मिलाउँछन्। त्यसैले तपाईंले उनीहरुमाझ संरक्षण चेतना अभिवृद्धि गरेर बुद्धको  निर्देशन बमोजिम संरक्षणको भाव जगाउने अभियानमा लाग्नुहोस् । सच्चा बुद्धमार्गीको कर्तव्य हो यो।’ मेरो मनको आवाज उहाँसम्म पुग्न सक्यो कि सकेन, थाहा छैन।

प्रतिक्रिया दिनुहोस

sidebar1
sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar6
sidebar6
web
analytics