गैँडा तस्करीको मुख्य नाइके…

A+ A-

गैंडालाई चार वर्ष’ गैंडासम्बन्धी कमलजङ्ग कुँवरद्धारा लिखित पुस्तक हो । यो पुस्तकवि .सं २०६६ साउन महिनामा ‘चित्रबहादुर कुँवर स्मृति गैँडा संरक्षण प्रतिष्ठान’  लेप्रकाशन गरी बजारमा ल्याएको थियो । यो पुस्तक हामीले प्रत्येक शनिबार नेचरखबर अनलाइनबाट प्रकाशित गर्दै आइरहेका छौँ । पढौँ पुस्तकको पढौँ पुस्तकको  १९  औं अंश – 



 

(लेखक कुँवरको स्वीकृतिमा नेचर खबरले हरेक शनिवार पुस्तकका अंश प्रकाशन गर्नथालेको हो ।)

बाघ होइन, स्याल

२०६२ असार १८ गते रेन्जर र म अपरेसनका लागि दिउँसो दुई बजे नै रेस्टुराँमा पुग्यौँ र चिसो मगायौँ। यतिकैमा हामी माथ्लो तलाको गतिविधि नियाल्दै थियौँ। माथिबाट दुई–तीन जना मान्छे टाउकामा बौद्ध लामाले पढ्ने ठेलीहरु बोकेर तल झरे। हामी दुवै जना हतारहतार पैसा तिरेर तिनीहरुको पछि लाग्यौँ, हामीले खोजेको कर्मा पनि तिनैमध्ये कोही हो कि भनेर। पछाडिबाट उनीहरु लाई नियाल्यौँ। रेन्जर एउटालाई सङ्केत  गर्दै हतारिनुभयो, यही मान्छे हो समातौँ भनेर। तर उसको हुलिया प्रेमले बताएको कर्माको जस्तो थिएन। मलाई लाग्यो— जसलाई हामीले गैँडा तस्करको नाइके सम्झिरहेका छौँ त्यो मान्छे यसरी किताब टाउकामा हालेर बाटामा हिँड्दैन।  मैले उहाँलाई सम्झाएँ– ‘यो होइन।’

हामी फर्केर फेरि रेस्टुराँमा आयौँ। आज बारम्यान अर्कै थियो। रेन्जरले चिन्नुभएको रहेछ। हामी ऊसँग कुरा गर्न थाल्यौँ। मैले भनेँ– ‘माथिको कर्मा दाइलाई सामान दिनु थियो; हुनुहुन्छ कि हुनुहुन्न?’ ‘थाहा छैन।’‘हामी माथि जाऊँ भने कुकुर रहेछ,’ मैले भनेँ। अनि उसलाई आग्रह गरेँ– ‘दाइ हुनुहुन्छ कि हुनुहुन्न, हेरेर आइदिनुस् न प्लिज।’ ऊ ‘हुन्छ’ भनेर  तुरून्त माथि गयो र आयो। अनि भन्यो– ‘माथि नै हुनुहुन्छ।’

‘ए, त्यसो भए एक छिनपछि जानुपर्ला’ भनेर हामी केही बेरपछि त्यहाँबाट माथि गए जस्तो गरेर तल झरेउ । मैले रेन्जरलाई माथिबाट कोही निस्कन्छकि भनेर हेर्न तल गेटमा राखेँ र बाहिर निस्केर आर्मीलाई फोन गरेँ। आर्मी हेडक्वार्टरबाट सुरूमा एक जना क्याप्टेन आए र ‘अर्को टोली आउँदै छ; म त्यो टोलीलाई भेटाइदिन्छु’ भने। हामीले करिब पन्ध्र मिनेट प्रतीक्षा गर्‍यौँ। भर्खरको ठिटो क्याप्टेनको कमान्डमा एउटा गाडीमा सैनिक टोली आयो। मैले काम र अपरेसनबारे छोटकरीमा बताएँ। हामी काठमाडौँ गेस्ट हाउसअगाडि थियौँ। मैले गाडी त्यहीँ छाडेर हिँडेर जाऊँ भनेँ। हामी हिँडेर गयौँ र रेस्टुराँमा पुगेर चिसो मगायौँ। त्यो खाइसकेपछि माथि लाग्यौँ। म अगाडि थिएँ र मसँगै क्याप्टेन थिए। अरु पछि आउँदै थिए। कुकुर बेस्सरी भुक्न थाले।

माथि सानो च्यानल गेट थियो; मैले गेटमा पुगेर कुकुर बाँधिदिन भनेँ।

एउटा मान्छे आयो ‘किन?’ भन्दै।

मैले भनेँ– ‘कर्मा दाइलाई समवेदना दिन। म मनाङ, चामेबाट आएको हुँ।’ उसले तुरून्तै ‘हुन्छ’ भनेर अर्कालाई कुकुर बाँध्न अर्‍हायो। कुकुर बाँधेपछि ढुक्क भएर हामी माथि गयौँ। त्यहाँ प्रेमले बताएको हुलिया भएको मान्छे छतमा अर्को एक जनासँग बसेर छ्याङ खाँदै थियो। मैले देख्नेबित्तिकै ‘नमस्कार कर्मा दाइ, भाउजूको मृत्यु भएछ, साह्रै  दुःख लाग्यो’ भनेँ। अनि हामीले उसलाई ‘तपाईंसँग एक छिन काम छ, तल हिँड्नुस्’ भन्यौँ। ऊ खुरूखुरू ओर्लियो र हामीलाई बैठककोठामा लग्यो। तर हामीले त्यहाँ  नबसी ‘तल रेस्टुराँमा जाऊँ’ भन्यौँ।

उसले सोध्यो– ‘किन आउनुभएको हो तपाईंहरु ?

क्याप्टेनले भने– ‘माओवादीले तपाईंलाई पैसा राख्न दिएको छ भनेको छ।

त्यही सिलसिलामा हामी आर्मीबाट आएका हौँ।’

उसले ‘मैले त्यसो गरेको छैन’ भन्यो। हामीले ‘तपाईं निर्दोष हुनुहुन्छ भने  तल हिँड्नुस्; हाम्रो हाकिम हुनुहुन्छ उहाँसँग कुरा गर्नुस्’ भन्यौँ। त्यसपछि उसले तल ओर्लन आनाकानी गर्दै थियो हामीले जोड गरेर तल झर्न कर ग¥यौ। यत्तिकैमा कुकुरहरु जोडसँग भुकेकाले क्याप्टेन एक्लै हत्तपत्त हिँडिहाले; मलाई हम्मे पर्‍यो कर्मालाई तल झार्न। तल रेस्टुराँमा झारेपछि मैले भनेँ– ‘चुपचाप हिँड्नुस्। यहाँ थुप्रै आर्मी सिभिल ड्रेसमा तपाईंलाई समात्न आएका छन्। बलजफ्ती गर्नुभयो भने तपाईंकै बेइज्जती हुन्छ।’

त्यसपछि उसले सोध्यो– ‘कहाँ जाने?’

हामीले भन्यौँ– ‘आर्मी अफिसमा। त्यहाँ पुगेर हाकिमलाई भन्नुस्, अनि छुटेर आइहाल्नुहुन्छ।’

लुरूलुरू हिँड्नुबाहेक उससँग  अरु कुनै उपाय थिएन। उसकी छोरी भने ‘किन हो? के हो? तपाईंहरु को?’ भनेर अवरोध खडा गर्दै थिइन्। हामीले ‘केही हुँदैन, आइहाल्नुहुन्छ’ भन्दै कर्मालाई फटाफट बाहिर निकाल्यौँ। आर्मीको गाडी काठमाडौँ गेस्ट हाउसतर्फ नै थियो, त्यतै लाग्यौँ। त्यस बेला उसकी छोरी भने कर्डलेस फोन लिएर हाम्रो अगाडि–अगाडि कस–कसलाईफोन गरेर हिँड्दै थिइन्। हामी गाडी चढेर त्यही बाटो फक्र्यौं। उनी गाडीनम्बर कसैलाई टिपाउँदै थिइन्। हामी फटाफट बाटो लाग्यौँ। करिब दुई मिनेटपछि दुइटा मोटरसाइकल हाम्रो गाडीको बाटो छेक्ने गरी अगाडि हिँडिरहेका थिए। तिनमा सवारहरु मनाङे  जस्ता देखिन्थे; बाइस–पच्चीसवर्षे ठिटा थिए।

उनीहरुले गाडी रोक्न मोटरसाइकलबाटै हात दिए। तर क्याप्टेनले गाडी रोक्न दिएनन्। उनीहरु अलि अगाडि पुगेर मोटरसाइकल रोकी सडकमा खडा भएर हामीलाई रोक्न खोजे। ड्राइभरले पेलेर गाडी अघि बढाएपछि उनीहहरु तर्के तर ‘रोक् रोक्’ भनेको आवाज भने प्रस्टै सुनिन्थ्यो। हामीलाई ती मोटरसाइकलले केही समयसम्म पछ्याउँदै थिए तर पछि देखिन छाडे। मलाई राम्ररी थाहा थियो, कर्मा काठमाडौँको डन दीपक मनाङेकाे काका होजसलाई नेपालका राजनीतिक नेता तथा दरबारको आशीर्वाद छ।

रेस्टुराँको  बारम्यानले कर्माको जेठो छोरो मुखिया पनि दीपक मनाङेको ग्याङको  मान्छे हो भन्ने जानकारी दिएको थियो। हाम्रो गाडी सुन्धारा–त्रिपुरेश्वर–थापाथली हुँदै सिंहदरबारको दक्षिण गेटबाट भित्र गयो। प्रधानमन्त्री कार्यालय अगाडि पुग्दा क्याप्टेनले कर्माको आँखा छोप्ने आदेश दिएका थिए। गाडी आर्मी ब्यारेक पुगेर रामशाह पथतिरको मुख्य ढोकाभन्दा उत्तरतिरको सानो गेटबाट बाहिर निक्ल्यो। सिंहदरबारबाट निस्केर हामी सीधै कालीमाटी हुँदै छाउनीस्थित ब्यारेकमा पुग्यौँ। त्यहाँ क्याप्टेनले चिसो खुवाए। अनि हामीले कर्मासँग सोधपुछ गर्न सुरू गर्‍यौँ।

सुरूमा त उसले केही बताउन चाहेन। सबै कुरा इन्कार गर्‍यो। त्यसपछि मैले प्रेमबारे बताइदिएँ र भनेँ– ‘उसले तेरो घरमा आएर बसेको, तैँले अब चितवन जा भनेको लगायत सबै बताइसकेको छ; तँ किन ढाँट्छस्?’तर पनि ऊ अपराध स्वीकार गर्न तयार भएन। रेन्जरले एक झापड दिनुभयो, अनि बल्ल केही भन्न थाल्यो। एकदमै डराएकाले उसको अनुहार बिग्रेको थियो, ‘अब म मर्छु’ भनेर। मर्छु भने डर हामीबाट होइन, आफ्नो बोसबाट। प्रेमको भनाइका आधारमा हामीले कर्मालाई जुन रुपमा सोचेका थियौँ, ऊ त्यो तहको रहेनछ। उसको लवाइ, शरीरको बनावट आदिले मलाई
यो पनि कसैको भरिया वा कामदारै हो जस्तो लागेको थियो। नभन्दै त्यस्तै रहेछ।

ऊ भन्दै थियो– ‘म त आठ–दस हजार बीचमा दलाली गरेर ज्यान पाल्ने, छोराछोरी पढाउँदै आएको मान्छे हुँ हजुर। म त सानु मान्छे; मेरो केही छैन। घर पनि छैन; भाडामा बसेको छु। मलाई केही नगर्नुस्; मुख्य मान्छे त अर्कै छ हजुर।’

‘को हो त त्यो मुख्य मान्छे, ल भन्?’

‘त्यसले त मैले भनेको थाहा पायो भने मार्छ सर। उसको त ठूल्ठूलो मान्छे छ; नेता, जर्नेल, कर्णेल, न्यायधीश, पुलिस, प्रशासनको ठूलो हाकिम चिनेको छ सर।’पक्राउ परेका अधिकांशको मुखबाट यस्तै कुरा सुनिन्थ्यो। हामीले उसलाई सम्झायौँ– ‘तिमीले भनेको भन्दैनौँ; कसैले पनि थाहा पाउँदैन।’

धेरै सम्झाएपछि बल्लबल्ल उसको नाम याक्चे हो भन्यो र बतायो– ‘ऊ तीस–चालीस करोडको मालिक छ। सीतापाइलामा मात्र दुई करोडको घर छ। काठमाडौँमा दुई–तीन वटा घर छ। पजेरोसमेत तीन वटा गाडी छ।’ कर्मा मनाङे लवजमा भन्दै गयो– ‘उसको श्रीमतीले पनि माल लिन्थ्यो; कहिले बूढीको हातमा, कहिले लोग्नेको हातमा दिन्थ्यो सर। बूढी एकदम चलाख छ सर। दोलखातिरको शेर्पिनी हो भन्थ्यो। बूढो त टिबेटन हो;मोटोमोटो छ; गोरो र अग्लो छ; चालीस–एकचालीस वर्षजतिको। श्रीमती ठिक्कको गोरी छ; बूढोभन्दा एक–दुई वर्ष जेठी छ; छोरी दुइटा सानोसानो
छ सर।’हामीले बाघ ठानेको कर्मा स्याल जस्तो थुरथुर कामिरहेको थियो, याक्चेको डरले। तस्करीतन्त्रमा यस्तै हुँदो रहेछ, एक तहमाथिको मान्छेदेखि अर्को डराउने। प्रेम जसरी डराएको थियो कर्माको नाम लिन, त्यसै गरी कर्मा डराइरहेको थियो याक्चेको नाम लिन। प्रेमको नाम लिन र उसलाई पक्राइदिन नरबहादुर पनि त्यतिकै डराएको थियो।

कर्मा भन्दै थियो– ‘मेरो नाम भनिस् भने तँलाई म जे पनि गर्छु भन्थ्यो सर याक्चेले; त्यसैले डर लाग्छ।’ गैँडा तस्करीको मुख्य नाइके ग्याम्जोको भाइ थियो कर्मा। ग्याम्जोको २०५९ साल साउनतिर हार्टअट्याक भएर मृत्यु भइसकेको थियो। उसकी एक मात्र छोरी हाल भारतको मुम्बईमा बस्दी रहिछ। ग्याम्जोको मृत्युपछि उसको खाग तस्करीको काम सहोदर भाइ कर्माले सम्हालेको रहेछ। ग्याम्जो नारायणगढ, पुलचोकको राइनो होटलमा बस्थ्यो र त्यहीँबाट गैँडा मार्ने सम्पूर्ण कार्यक्रम बनाउँथ्यो। राइनो होटलको मालिक हर्क गुरूद्ध ग्याम्जोको जाँड पार्टनर थियो। प्रेम विकलाई ग्याम्जोसँग नगेन्द्र श्रेष्ठले चिनाइदिएको थियो। हामीले कर्मासँग यो सब सोधपुछ गरिरहँदा क्याप्टेन आफ्ना हाकिमलाई जाहेरी गर्न गएका थिए। राति करिब नौ बजेतिर कर्मालाई उनकै जिम्मा छाडेर हामी होटल तिब्बत फर्कियौँ, कर्मालाई समातेकामा फुरूङ्ग हुँदै।

निकुञ्ज कर्मचारीसँग बन्दुक हुने भए हामी आफैँ कर्मालाई चितवन लैजान सक्थ्यौँ। तर बन्दुक नभएकाले सेनालाई गुहार्नुपर्ने बाध्यता थियो। भोलिपल्ट मैले चितवनमा फोन गरेर कर्णेल अजितसँग भनेँ– ‘म गाडी रिजर्भ गरेर वा विभागसँग गाडी मागेर उसलाई ल्याउँछु।’ तर उनले हवाईजहाजबाट ल्याउन भने। मैले भनेँ– ‘त्यसो भए एयरपोर्टसम्म आर्मीले पुर्‍याइ दिन्छ; म एक्लै लिएर आउँछु।’ उनले त्यो पनि हुँदैन  भने। तैपनि मैले ‘म ल्याउन सक्छु’ भनेर प्लेनका दुइटा टिकट काटेँ र कर्मालाई लिन छाउनी गएँ। त्यहाँबाट हामी सिंहदरबारस्थित उपत्यका पृतनामा पुग्यौँ। कागजी प्रक्रिया पुर्‍याएर कर्मा मलाई बुझाइयो, अनि उसलाई गाडीमा राखेर हामी एयरपोर्ट गयौँ। प्लेनबाट भरतपुरमा झर्ने बित्तिकै मैले लप्टन गणेश महतलाई भेटेँ। गाडी तयार थियो सुरक्षासहित लैजानका लागि। भरतपुरदेखि कसरासम्म कडा सुरक्षा व्यवस्था अपनाइएको थियो। बीचबीचमा मोटरसाइकलहरु ले स्कर्टिङ  गरिरहेको देखिन्थ्यो। यस्तो लाग्थ्यो मानौँ कुनै डनलाई समातिएको  छ।

यो कर्णेलको नाटक थियो, के–के न गरेँ भनेर देखाउन। तर त्यसो गर्नु आफैँमा आत्मघाती हुन सक्थ्यो किनभने माओवादीले कुनै ठूलो मान्छे आउँदै छ भनेर बीचैमा एम्बुस थाप्न वा आक्रमण गर्न पनि सक्थे। धन्न गरेनन्! कसरा पुर्‍याए पछि कर्णेलले ‘कर्मालाई मै कस्टडीमा राख्छु’ भने् थाले। उनको हठसामु मेरो केही लागेन। वास्तवमा वन्यजन्तु तस्करलाई सेनाको कस्टडीमा राख्नु गैरकानुनी हो। न्यायिक हिरासत भनेको निकुञ्ज हिरासत नै हो। कर्णेलको व्यवहारले म दिक्क थिएँ। म त्यो साँझ कर्मासँग सोधपुछ गर्न ब्यारेक गएँ। कर्णेल त्यहीँ थिए। मैले अवार्ड पाएकामा उनले बधाईसम्म दिएनन् बरू उल्टै भन्न थाले– ‘हामीले अवार्ड नपाउने, तपाईंले मात्र पाउने?

हामीलाई थाहा पनि नदिने?’

मैले भनेँ– ‘अवार्ड दिने निकाय डब्लुडब्लुएफलाई भन्नुस्; मलाई के भन्नुहुन्छ?’उनी झन् चर्को स्वरमा कराउन थाले– ‘तपाईंले पाउँदा हाम्रो मेजरले पनि किन नपाउने? थाहा नदिईकन एक्लै अवार्ड लिने?’ मलाई झन् दिक्क लाग्यो र त्यो दिन कर्मासँग केही नसोधी त्यसै फर्कें।

प्रतिक्रिया दिनुहोस

sidebar1
sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar6
sidebar6
web
analytics