गैंडा तस्करको आलिसान महल

गैंडालाई चार वर्ष’ गैंडासम्बन्धी कमलजङ्ग कुँवरद्धारा लिखित पुस्तक हो । 


यो पुस्तक वि .सं २०६६ साउन महिनामा ‘चित्रबहादुर कुँवर स्मृति गैँडा संरक्षण प्रतिष्ठान’ ले प्रकाशन गरी बजारमा ल्याएको थियो । यो पुस्तक हामीले प्रत्येक शनिबार नेचर खबर अनलाइनबाट प्रकाशित गर्दै आइरहेका छौँ । पढौँ पुस्तकको  २० औं अंश – 



(लेखक कुँवरको स्वीकृतिमा नेचर खबरले हरेक शनिवार पुस्तकका अंश प्रकाशन गर्नथालेको हो ।)


आलिसान घर


भोलिपल्ट (असार २० गते सोधपुछ गर्दा कर्माले याक्चे र ताम्लिङ दुवैलाई खाग दिने गरेको तर ताम्लिङलाई दिँदा याक्चे रिसाउने र याक्चेलाई दिँदा ताम्लिङ रिसाउने गरेको खुलासा गर्‍यो। काठमाडौँ, सीतापाइलामा याक्चेको घर रहेको र कहिलेकाहीँ खाग त्यहीँ लगेर उसकी श्रीमती फिन्जो शेर्पालाई समेत दिने गरेको बतायो। त्यसपछि हामीबीच याक्चेलाई समात्न काठमाडौँ जाने सल्लाह भयो। अनि म एउटा ब्रिफकेसमा थोत्रामोत्रा कपडा हालेर लागेँ काठमाडौँतर्फ।सीतापाइलामा प्रमिलाका मामाको घर छ। उहाँहरु ‘ज्वाइँ आउनुहुन्न’भनेर सधैँ गुनासो गर्नुहुन्थ्यो। उहाँहरुको गुनासो पनि मेटिने र आफ्नो मिसन पनि पूरा गर्न सजिलो पर्ने भएकाले मैले त्यहीँ आफ्नो ब्रिफकेस बिसाएँ र लागेँ याक्चेको घर खोज्न। कर्माले भनेको थियो– ‘रिङरोडबाट पश्चिमतिर सानोबाटो गुम्बातर्फ लाग्छ।


उकालो चढेर माथि पुगेपछि पीपलको रुख आउँछ। त्यसको नजिकै, कम्फर्ट हाउजिङसँगै जोडिएको एउटा कालो गेट भएको,दुई–तीन करोड पर्ने ठूलो घर छ। घर कम्पाउन्डभित्र टाउकाबाट पानीको
फोहरा निस्कने बुद्धकाे  मूर्ति छ ‌‌‌‌‌‌‌‌‌‌‌‌‌‍‍‍‌‌‍‍‍‍‍...।’सोध्दै–खोज्दै म त्यहाँ पुगेँ र कम्फर्ट हाउजिङ भित्र पसेर डिपार्टमेन्टल स्टोरमा केक किनेर खाँदै त्यो घरतिर चियाउन थालेँ। ठूलो कम्पाउन्ड भएको र अग्लो पर्खाल लगाइएको, सेतो रङ्गको त्यो घर युरोपियन शैलीको थियो।घरछेउ बुद्धकाे  मूर्ति त थियो तर पानीको फोहरा आइरहेको थिएन। मैले यकिन गरेँ— घर यही हुनुपर्छ।


त्यसपछि म उत्तरपट्टि रहेको किरानापसलमा बसेर घरको निगरानी गर्न थालेँ। चुरोट र चुइङ्गम किनेर पसलेसँग नजिक हुन खोज्दै थिएँ। त्यत्तिकैमा एउटा नीलो प्लेटको गाडी आयो र त्यो घरमा छिर्‍यो। म गाडीबाट झर्ने व्यक्तिको अनुहार हेर्न हतारहतार त्यतातिर लागेँ। तर अग्लो गेट र पर्खालका कारण मान्छे प्रस्ट देख्न सकिनँ। एकै छिनपछि त्यो गाडी त्यहाँबाट निस्क्यो। गाडीको नम्बर ०६१ बाट स्रुरु भएको थियो। यो नम्बर अमेरिकी कूटनीतिक नियोगको गाडीमा प्रयोग हुन्छ। मलाई लाग्यो— याक्चे उपल्लो तहको तस्कर होला; त्यसैले अमेरिकी कूटनीतिज्ञहरुसँग पनि उसको उठबस होला। मनले शङ्का गर्‍यो— कतै अमेरिकी कूटनीतिज्ञ पनि गैँडाको खाग तस्करीमा संलग्न त छैनन्?


अनेक कुरा सोच्दै म फेरि त्यही किरानापसलमा गएँ र पुनः चुरोट तान्नथालेँ, आउने–जानेहरुको अनुहार नियाल्दै। तर साँझ पर्दासम्म पनि याक्चेको हुलिया भएको कोही त्यहाँ देखिएन। अनि म मामाकहाँ फर्कें।भोलिपल्ट बिहानै म फेरि त्यहाँ पुगेँ। चिया पनि मगाइदियो त्यो पसलेले। चिनजान भयो। ऊ पूर्व खोटाङतिरको रहेछ। मैले आफू व्यापारको सिलसिलामा काठमाडौँ आएको बताएँ। निकै बेर कुराकानी गरेर घुलमिल भएपछि सोधेँ– ‘त्यो आलिसान घर कसको होला? कति आकर्षक रहेछ! कति खर्च भयो होला बनाउन! को बस्छ होला यस्तो बङ्गलामा?’उसले जबाफ दियो– ‘यो घर बनाउँदा दुई करोड तीस लाख लाग्यो अरे। एउटा भोटेको हो। दुई–तीन महिना भयो, युएसएआईडीको प्रमुख मान्छे भाडामा बस्छ। मासिक भाडा एक लाख बीस हजार छ भन्ने सुनेको छु।’ म झसङ्ग भएँ। याक्चेलाई खोज्न आएको, उसको घर मात्र पो कुरिरहेको रहेछु। अनि त्यो पसलेसँग सोधेँ– ‘साहूजी, कहाँ बस्छ होला यो घरको मान्छे?’
‘थाहा छैन; तपाईंलाई किन चाहियो र?’
‘मसँग अलिकति जडीबुटी थियो, त्यसले लिन्छ भन्ने सुनेको थिएँ, त्यसैले।’


त्यसपछि म त्यहाँ बसिरहनु आवश्यक थिएन। चुरोटको सर्को लगाउँदै बाटो लागेँ र अलि तल रिङरोडनजिकै पुगेर एउटा फोटो स्टुडियोको फोनबाट विष्णुजीलाई भनेँ– ‘कर्माले हामीलाई ढाँटे जस्तो छ। उसले भनेको याक्चेको सीतापाइलाको घरमा त अहिले युएसएआईडीको मान्छे बस्दो रहेछ।याक्चे त अन्तै बस्दो रहेछ। कर्मालाई फेरि सोध्नुपर्‍यो।’फोन राखेर म स्वयम्भूतर्फ लागेँ। कर्माले याक्चे प्रत्येक दिन गाडी लिएर स्वयम्भू घुम्न जान्छ; कहिले सेतो रङ्गको स्यान्ट्रोमा हुन्छ त कहिले हरियो रङ्गको पजेरोमा हुन्छ भनेको थियो। म सोध्दै–खोज्दै गाडी पार्किङ गर्ने ठाउँमा पुगेँ र छेउको ढिस्कामा बसेर एकोहोरो स्यान्ट्रो र पजेरो गाडीहरुलाई नियाल्न थालेँ। हेर्दाहेर्दा पट्यार लागेपछि स्वयम्भूतिर उक्लिएँ। श्रङालुहरुको ओहोरदोहोर चलिरहेको थियो। पूजाआजा गर्नेहरुको घुइँचो थियो।


मैले स्वयम्भूको परिक्रमा गर्दै मनमनै आशीर्वाद मागेँ— याक्चे छिट्टै पक्राउ परोस् भगवान्।त्यहाँबाट एक पटक काठमाडौँलाई नियालेँ। आँखै बिझाउने अस्तव्यस्त घरहरुको घुइँचो, कङ्क्रिटको जङ्गल देखेर दिक्क मान्दै फेरि त्यही पार्किङ क्षेत्रमा पुगेँ, सेतो स्यान्ट्रो अथवा हरियो पजेरो पार्किङ गरी राखेको छ कि भनेर। तर त्यस्तो कुनै गाडी त्यहाँ थिएन। मलाई लाग्यो— म कस्तो क्रेजी
मान्छे हुँला, जो कहिल्यै नदेखेको मान्छेलाई गाडीको रङ्गका आधारमा खोज्न हिँडिरहेको छु! यसरी खोजेर मान्छे कहिले भेटिएला? यस्तै तर्कना गर्दै मामाकहाँ फर्कें। खाना तयार थियो। खाना खाइसक्दा नसक्दै विष्णुजीको फोन आयो। मैले यताबाट ‘हेलो’ भन्नासाथ उताबाट उहाँले हाँस्दै भन्नुभयो– ‘याक्चेलाई त पक्डिसकियो।’ याक्चे काठमाडौँमा छ भनेर म उसलाई खोज्न यहाँ आएँ तर ऊ पक्डिसकिएको भन्ने भनाइले म अचम्ममा परेँ। त्यो पनि चितवनमा! कुरा बुझ्न नसकेर मैले हतारिँदै सोधेँ– ‘कहाँ? कहिले? कसरी?’


उहाँले बेलीविस्तार लाउनुभयो। मैले बिहान फोन गरेर ‘कर्माले हामीलाई ढाँटे जस्तो छ; याक्चेबारे उसलाई फेरि सोध्नुपर्‍यो’ भनेपछि विष्णुजी सोध्न जानुभएछ। त्यस बेला पो कर्माले भनेछ– ‘हिजो पक्राउ गरेर मसँगै राखिएको मान्छे नै याक्चे हो।’ कसरी पक्राउ पर्‍यो त याक्चे? ऊ खाग खरिद गर्न चितवन, नवलपरासी, नेपालगन्ज, बर्दियातिर प्रायः आफैँ जाँदो रहेछ। गैँडा मार्ने मान्छेसँग सोझै
खाग खरिद गर्दा कर्मा जस्ता दलालहरुलाई दिनुपर्ने कमिसन जोगिने भएकाले ऊ त्यसो गर्दो रहेछ। याक्चेलाई नचिने पनि उसको गतिविधिकोसुराक पाएको हाम्रो कावासोतीको सुराकीले मलाई केही दिनदेखि ‘म ठूलो तस्करलाई पक्डाइदिन्छु’ भनिरहेको थियो। म याक्चेलाई खोज्न काठमाडौँ आएपछि उसले मलाई कावासोतीमा खाग किनबेच हुन लागेको खबर गरेको थियो। त्यो कुरा मैले विष्णुजीलाई बताएर ‘तस्करलाई’ समात्न भनेको थिएँ। विष्णुजीले कावासोती पुगेर त्यहीँको अरिदमन गणका लप्टन प्रताप बस्नेतसँग समन्वय गरी अपरेसनको तयारी गर्नुभएछ। सुराकीले कहिले वनमा खाग किनबेच हुँदै छ भन्ने खबर ल्याउँदो रहेछ त कहिले मन्दिरपछाडि। चार–पाँच घण्टाको दौडधूपपछि कावासोती बजारको थकाली चोकस्थित रेस्टुराँमा किनबेच हुँदै छ भन्ने खबर आएछ र विष्णुजीहरु हतारहतार त्यहाँ पुग्नुभएछ। एउटा मान्छे काठमाडौँबाट आएको जस्तो देखिने कारबाट प्लास्टिकको झोला निकालेर रेस्टुराँभित्र पसेको देखेपछि उहाँहरु पनि त्यसलाई पछ्याउँदै भित्र छिर्नुभएछ।


बियर खाँदै गरेको अवस्थामा खाग,पैसा, मोबाइल, खाग जोख्ने तराजुसहित याक्चे, पेम्बा गुरूङ, सोनाम भोटेलाई समेत पक्राउ गर्नुभएछ। कसरा ल्याइएपछि तिनीहरुलाई पनि कर्णेल अजितले सेनाकै कस्टडीमा लगेर राखेछन्। त्यति बेलासम्म पनि हामीले खोजेको याक्चे पक्राउ पर्‍यो भन्ने कसैलाई थाहा रहेनछ। कर्णेलले याक्चे र कर्मालाई एउटै कोठामा राखेको रहेछ। याक्चेले त्यहाँ पनि कर्मालाई केही नबताउनू भनेर धम्क्याएछ। पछि विष्णुजी गएर यिनीहरुलाई छुट्टाछुट्टै राख्नुपर्छ भनेपछि बल्ल छुट्ट्याएर राखिएछ। त्यस अवस्थामा मैले फोन गरेपछि विष्णुजीले याक्चेबारे सोध्न जाँदा कर्माले बल्ल भेद खोलेछ।


त्यसपछि हामीले पत्रकार सम्मेलन गरी ‘याक्चेले सम्पूर्ण कुरा बताइसकेकाले हामी अब सारा तस्करलाई पक्रने तयारी गरिरहेका छौँ’भन्ने खबर मिडियामार्फत फैलायौँ। देशभरका सारा तस्कर र सिकारीहरुमा मनोवैज्ञानिक दबाब पार्न यसो गरेका थियौँ। नभन्दै कतिपयले आफूलाई पोल्न सक्ने मान्छे भारततर्फ भगाएको र कोही आफैँ भागेको सूचना हामीकहाँ आइपुग्यो।

कमलजङ्ग कुँवर

प्रतिक्रिया दिनुहोस

web
analytics