भारत पुगेका नौ गैंडा फर्काइए

 



चितवन राष्ट्रिय निकुञ्जबाट बाढीले बगाएर भारत पुर्याएको थप एक पोथी गैंडालाई आइतबार उद्धार गरी नेपाल ल्याइएको छ । यो समेत गरेर भारत पुगेका नौ वटा गैंडाको उद्धार भएको छ ।
पछिल्लो पटक उद्धार गरिएको गैंडा नेपाल–भारत सीमाबाट करिब ७० किमी टाढा, भारतको बिहार र उत्तरप्रदेशको सीमा क्षेत्रमा पर्ने गण्डक नदीको भंगालो– पिप्रासीको भरपतियाबाट डुंगाको सहयोगमा बयस्क पोथी गैंडाको उद्धार गरिएको थियो ।



चितवन राष्ट्रिय निकुञ्ज प्रमुख संरक्षण अधिकृत रामचन्द्र कँडेलका अनुसार उद्धार टोलीले आइतबार बिहान देखी गैंडा उद्धार कार्य सुरु गरेको थियो । कँडेलले भने, ‘उत्तरप्रदेश र बिहारको सीमा क्षेत्रबाट गैंडालाई उद्धार गरिएको हो ।’ सो गैंडा त्यहाँ रहेको जानकारी भारतको वाल्मिकी टाईगर रिजर्भबाट एक भारतीय अधिकारीले फोनमार्फत गराएका थिए ।चितवन ल्याइएको सो गैंडालाई जनकौली सामुदायिक वनमा छाडिएको छ ।

भारतीय अधिकारीको जानकारीका आधारमा कार्तिक १९ गते भारत पुगेर वरिष्ठ पशु चिकित्सक डा.कमल गैरे र राष्ट्रिय प्रकृति संरक्षण कोषका प्राविधिकसहितको टोलीले नेपालको गैंडा वाल्मिकीनगरबाट ४० किलोमिटर तल फेला पारेको थियो । गैंडा उद्धारका लागि वरिष्ठ पशुचिकित्सक डा. कमल गैरेको नेतृत्वमा ४० जना प्राविधिकसहित अन्य कर्मचारी खटिएका थिए ।

चितवन राष्ट्रिय निकुञ्ज र राष्ट्रिय प्रकृति संरक्षण कोषका प्राविधिक तथा विज्ञ अधिकारीसहितको टोली उद्धारमा खटिएका थिए ।

उक्त टोलीले नै कात्तिक २३ मा भारतबाटै अर्को पोथी गैंडालाई उद्धार गरेको थियो । पाँच दिनसम्मको प्रयास पछि पनि नेपालको त्रिवेणी क्षेत्रमा रहेको ‘केटो’ (बच्चा गैंडा) उद्धार गर्न नसकिएपछि त्यो टोली भारत तर्फ लागेको थियो । उद्धार टोलीले हाल सम्म भारत पुगेका ८ वटा पोथी गैंडा र एउटा केटो उद्धार गरेको छ भने नेपालभित्रैबाट एउटा ‘केटो’को उद्धार भएको छ ।बाढीले बगाएर गैंडालाई भारत नै पुर्याएको घटना अधिल्ला वर्षहरुमा थिएन ।

तस्बिरहरु: पुरुषोतम पाण्डे

सुजाता कार्की

प्रतिक्रिया दिनुहोस

web
analytics