बाघ गणनामा १२ सय क्यामरा र १५ हजार मान्छे दिन

A+ A-

विश्वमै दुर्लभ मानिने पाटे बाघ गणना बिहीबार  देखि सुरु भएको छ । पर्सा राष्ट्रिय  निकुञ्जको मध्यवर्ती  क्षेत्र तथा  आसपासको राष्ट्रिय  वन क्षेत्रबाट गणना सुरु भएको हो । बाघ गणना क्रमशः देशैभरि हुनेछ ।

बाघ पाइने क्षेत्रलाई तीन वटा ( चितवन– पर्सा कम्प्लेस , बाँके कम्प्लेस र शुक्ला लालझाडी – जोगबुढा कम्प्लेस ) मा विभाजन गरी जम्मा  १८ सय ८७ वटा ग्रिड बनाई १२ सय वटा क्यामेरा ट्रयाप प्रयोग गरिन्छ । बाघ गणनामा ३ करोड २० लाख खर्च लाग्ने अनुमान गरिएको छ ।

गणनाको लागि आवश्यक सम्पूर्ण प्राविधिक तथा व्यवस्थापकीय तयारी पूरा भएको वन तथा भू–संरक्षण  मन्त्रालयले जनाएको छ ।

संरक्षण  कार्यमा संलग्न  निकुञ्जका कर्मचारी , जिल्ला वन कार्यलयका कर्मचरी, वन्यजन्तु प्राविधिक, वन्यजन्तु विज्ञ,नेपाली सेना, मध्यवर्ती क्षेत्र तथा स्थानीय समुदाय ,संरक्षणका सहयोगी संस्थाका कर्मचारी  समेतको संलग्नतामा गणना कार्य अगाडी बढाइएको हो ।

बाघ गणनाका लागि चितवन राष्ट्रिय निुकुञ्जका १५ वटा , पर्सा राष्ट्रिय निुकुञ्जका ७ वटा , बाँके र बर्दिया राष्ट्रिय निुकुञ्जका ४ वटा  तथा शुक्लाफाँटा  राष्ट्रिय निुकुञ्जका ७ वटा हात्ती प्रयोग हुदैछन् ।

बाघ गणनाका लागि  ६६ दिनमा करिब १५ हजार मानिस दिन लाग्ने अनुमान गरिएको छ । जसमा प्रथम चरणमा एकसय जना गणकलाई यही मंसिर १२ र १३ गते चितवन राष्ट्रिय निकुञ्को सौराहामा प्रयोगात्मक अभ्यास तालिम  दिइएको छ र थप २०० जनालाई तालिम दिने राष्टिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले जनाएको छ ।

  अत्याधुनिक प्रविधिसहितको क्यामरा विधिबाट बाघको गणना गर्न लागिएको हो ।भारतमा भने एक महिना अघि कार्तिक १३ देखी बाघ गणना सुर गरिसकेको छ ।

गणनाका लागि आवश्यक क्यामरा अष्ट्रिया , स्विट्जरल्यान्ड ,फ्रान्स र जर्मनीबाट ल्याइएको छ। केही नेपालमा भएको पुरानो क्यामरा पनि प्रयोगमा ल्याइएको छ । विभागका अनुसार गणनामा सबै प्रविधिक नेपाली नै हुनेछन् ।

यो गणनाले नेपालमा बाघको संख्या बढेको देखाउने अपेक्षा गरिएको छ । नेपाल सरकारको २०२२ सम्म दोब्बर बाघ गणना गर्न योजना रहेको छ । यसका लागि विभिन्न अन्तर्राष्ट्रिय र राष्ट्रिय संस्थाहरूले नेपालको बाघको संख्या दोब्बर बनाउन आर्थिक र प्राविधिक  सहयोग गदैं आएका छन् ।

पछिल्लो समयमा नेपाल सरकारले बाघ सख्या वृद्धिको लागि बाघको बासस्थानमा सुधार ,आहाराको व्यवस्थापनमा, चोरी शिकारी नियन्त्रण र बाघ संरक्षणको लागि जनचेतनामुलक कार्यक्रममा जोड दिएको छ ।

बाघ गणना कार्यक्रमको नतिजाबाट दुर्लभ तथा लोपोन्मुख प्रजातिको बाघ संरक्षणको अवस्था  थाहापाई संरक्षण र व्यवस्थापनलाई अझ प्रभावकारी बनाउने लक्ष्य राखिएको वन तथा भू संरक्षण मन्त्रालयका जैविक विविधता महाशाखाका प्रमुख डा. महेश्वर ढकालले जनाकारी दिए ।

साथै नेपालले अन्र्तारष्ट्रिय समुदाय समक्ष सन २०१० मा रसियाको  सेन्ट पिटर्सबर्गमा भएको बाघ सम्बन्धी अन्र्तारष्ट्रिय सम्मेलनमा प्रतिबद्धता गरे बमोजिम सन् २०२२ सम्म बाघको  संख्या दोब्बर अर्थात् २ सय ५० वटा पुर्‍याउने लक्ष्यअनुरुप सरकारले काम अघि बढाइरहेको छ ।

बाघ गणनामा क्यामेरा ट्रयाप ,सन्टो कम्पास , रेन्ज फाईन्डर , जी.पी.एस  रेकर्ड फर्म लगायतका समाग्रीको प्रयोग गरी  बाघ तथा आहार प्रजातिको गणनासमेत गरिनेछ ।

सन् २०१० को गणना अनुसार नेपालमा बाघको संख्या १ सय २० थियो । २०१३ सम्म आइपुग्दा ७८ वटा बाघ बढेका थिए । पछिल्लो बाघ गणनामा २०१३ का  अनुसार नेपालमा हाल १ सय ९८ बाघ रहेका छन् ।  नेपालमा बाघको अनुसन्धान र  अनुगमन ४५ वर्ष अघि देखि सुरु भएको हो ।

नेपालको तराई क्षेत्र विशेष गरी पर्सादेखि कञ्चनपुरसम्मा  वाघका लागि  उपयुक्त बासस्थान मानिन्छ । हाल चितवनमा १ सय १८, बर्दियामा ५०, शुक्लाफाँटामा १७, पर्सामा ७ र बाँकेमा ४ वटा बाघ रहेको तथ्यांक छ ।

विश्वमा बंगालेदेश, भियतनाम, कम्बोडिया, भारत, भुटान, थाइलाण्ड, इन्डोनेसिया ,लाओस ,चीन ,मलेसिया , रसिया ,म्यानमार र नेपालसहित १३ वटा देशमा वाघ पाइन्छ ।अहिले विश्वमा झन्डै साढे तीन हजारको हाराहारीमा बाघ रहेका छन् ।

बाघ गणनामा डब्लूडब्लूएफ नेपाल, जुओलोजिकल सोसाइटी अफ लण्डन (जेडएसएल) प्रकृति संरक्षण कोषलगायतले आर्थिक तथा प्राविधिक सहयोग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस

sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar6
sidebar6
web
analytics