निजी क्षेत्रबाट घरको नक्सा बनाउने इञ्जिनियरलाई जिम्मेबार बनाउन आवश्यक



काठमाडौं उपत्यकाका नगरपालिकामा काम गर्ने इञ्जिनियरहरुको ३ दिने तालिमले निजी तवरबाट घरको नक्सा बनाउने इञ्जिनियरलाई भूकम्पीय जोखिममा जिम्मेबार बनाउनु पर्ने खाँचो देखाइएको छ । सहरमा निर्माण हुने अधिकांश भवनहरुको नक्सा तिनै इञ्जिनियरहरुले बनाएका हुन् । उनीहरुले बनाएर पठाएको नक्सा मिलेन भन्यो भने पैसा असुल्न खोजेको आरोप लगाउँछन् ।वास्तवमा उनीहरु भवन निर्माण संहिताका विषयमा पूर्ण सचेत छैनन्, नगरपालिकाका इञ्जिनियरहरुको भनाइ छ । ओपन याकोहामा, सिटिनेट याकोहामा र काठमाडौं महानगरपालिकाको संयुक्त आयोजनामा सम्पन्न स्ट्रक्चरल र सेस्मिक इञ्जिनियरिङ तालिममा विषय उठान भएपछि, तालिमको समापन अवसरमा बाेल्दै महानगरका प्रमुख प्रशासकीय अधिकृत धनीराम शर्माले भने, “कुरा सवैको गर्नुपर्छ, सहभागिता सवैलाई गराउनु पर्छ, त्यसको शुरुवात् आफ्नो ज्ञान, क्षमता र काम गर्ने सीपमा परिवर्तन ल्याउन जरुरी छ ।”

तालिमका विषय नागरिक लाभसँग प्रत्यक्ष जोडिएका छन् ।इञ्जिनियरहरुले पाएको तालिमबाट नागरिकले फरक महसुस गर्न पाउनु पर्छ तालिम समापन अवसरमा धारणा राख्दै, यो कोहामा नगरका बिल्डिङ् स्क्ट्रक्चर डिभिजन, हाउजिङ एण्ड आर्किटेक्चर ब्यूरोका कार्यकारी निर्देशक यासुजी होरिकिरीले  भने , “इञ्जिनियर सहभागी भएर बनाएको घरमा भूकम्प आए पनि नागरिक ढुक्कसँग बस्न पाउनु पर्छ । सम्भावित भूकम्पका समयमा काठमाडौंमा हुन सक्ने संरचनागत जोखिम कम गर्न महानगरसँग मिलेर थप कार्यक्रम अघि बढाउन तयार भएकाे छ  । ”समारोहमा  ललितपुर महानगरका  इञ्जिनियर प्रदीप पौडेलले नगरपालिकाका इञ्जिनियर जिम्मेबार हुने अरु परामर्शदाता र निजी क्षेत्रबाट काम गर्ने इञ्जिनियरले मापदण्ड विचार नगर्ने हो भने समस्या समाधानमा कठिन हुने धारणा राखेका िथए ।

३ दिने तालिममा २०७२ सालको भूकम्पले पारेको प्रभाव र पुननिर्माणका प्राथमिकताहरु, जापानको याकोहामा नगरको एकीकृत सहरी योजना र सिकाइ, इञ्जिनियर र डकर्मीको क्षमता विकासका प्रगति र चुनौती, जापानमा भूकम्प प्रतिरोधी भवन र भौतिक संरचना सम्बन्धी व्यवस्था, विपद् क्षति न्युनीकरणकालागि सहरी तथा बास्तु योजना, भौतिक संरचनामा भारवहन विश्लेषण विधि, आरसि र स्टिल भवनमा भार ग्रहण क्षमता, ढलान गरिएको भवन र ढुङ्गाको गाह्रो भएका भवनहरुका सम्भावित जोखिम र तिनीहरुलाई सुरक्षित बनाउने विधिका विषयमा प्रस्तुतीकरण तथा सिकाइ आदान प्रदान गरिएको थियो ।

भूकम्पले भत्काएका संरचनाको पुननिर्माण र सम्भावित भूकम्पीय क्षति न्युनीकरणका काठमाडौंमा बसेर काम गरिरहेका इञ्जिनियरहरुको क्षमता विकास गर्ने विषयमा जापानको याकोहामा र नेपालको काठमाडौं महानगरवीच सहकार्य गर्ने विषयमा २०७३ असार १७ गते सम्झौता पत्रमा हस्ताक्षर भएको थियो । ३ बर्षकालागि बर्षमा ३ वटासम्म तालिम सञ्चालन गर्ने गरी भएको सम्झौता पत्रमा याकोहा नगरका प्रमुख फुमिको हायासी र महानगरका तत्कालीन प्रमुख तथा कार्यकारी अधिकृत रुद्रसिंह तामाङ्ले हस्ताक्षर गर्नुभएको थियो । यसै सम्झौताबमोजिम सञ्चालन भइरहेको तालिमको क्रममा यो छैटौं तालिम हो । यस पछिको एक बर्षमा हुने ३ वटा तालिममा २ वटा काठमाडौंमा हुनेछन् भने एउटा जापानमा हुनेछ ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics