सुकुम्वासी बस्तीमा खानेपानी र सरसफाई प्रभावकारी

सुकुम्बासी बस्तीमा खानेपानी तथा सरसफाई कार्यक्रम प्रभावकारी बन्दै गएको छ । काठमाडौँ र भक्तपुरका विभिन्न छवटा सुकुम्वासी तथा सोवासी बस्तीमा सञ्चालित खानेपानी तथा सरसफाइ कार्यक्रम प्रभावकारी बनेको मिनर्जी नामक संस्थाले दाबी गरेको छ ।

युनिसेफ नेपालको सहयोगमा मिनर्जीले काठमाडौँका भीम मुक्तिश्वर, शान्तिनगर, जागृतिनगर, धौखेल र पाथीभरा तथा भक्तपुरको मनोहरामा खानेपानी र सरसफाई कार्यक्रम सञ्चालनमा आएको हो । गत वैशाखदेखि सञ्चालनमा आएको उक्त कार्यक्रमअन्तर्गत खानेपानी तथा सरसफाइसम्बन्धी जनचेतना अभिवृद्धिका साथै पूर्वाधार निर्माण गरिएको जानकारी दिइएको छ ।

देशका विभिन्न कुनाकाप्चाबाट आएर अव्यवस्थित रुपमा बसोबास गर्दैआएका सुकुम्बासी बस्तीमा खानेपानी र सरसफाईसम्बन्धी आधारभूत सचेतनाको अभाव भेटिएकाले यस्तो कार्यक्रम सञ्चालनमा ल्याइएको मिनर्जीकी कार्यक्रम संयोजक स्वस्ती जोशीले जानकारी दिइन् ।

खानेपानी र सरसफाइसम्बन्धी आधारभूत जानकारी र पूर्वाधारको अभावमा अनेक रोगब्याधी, वातावरणीय प्रदूषणको समस्यालाई न्यूनीकरण गर्न कार्यक्रम सञ्चालन गर्नु परेको जोशीले बताइन् ।

उनकाअनुसार यस्ता बस्तीमा खानेपानी शुद्धीकरणका लागि फिल्टर जडान, नमूना शौचालय निर्माण, बायोग्यास प्लाण्ट जडान तथा जनचेतनासम्बन्धी विभिन्न कार्यक्रम सञ्चालन गरिएको छ ।

अन्तरक्रियामा सहभागी वक्ताले राजधानीमा रहेका सुकुम्वासी तथा सो वासी बस्तीमा खानेपानी र सरसफाइको अवस्था अत्यन्त दयनिय रहेकाले यसमा सरकारी र गैरसरकारी संस्थाले विशेष ध्यान दिनुपर्नेमा जोड दिएका थिए ।



नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics