हात्तीको आक्रमणबाट मृत्यु भएका परिवारलाई आर्थिक सहयोग



हात्तीको आक्रमणबाट मृत्यु भएका सप्तरी कञ्चनरुप नगरपालिका–२ की ६५ वर्षीया फुलवादेवी यादवका परिवारलाई सरकारले आर्थिक सहयोग उपलब्ध गराएको छ । बिहीबार रु ५० हजार आर्थिक सहयोग गरिएको छ ।

राष्ट्रिय प्रकृति संरक्षण कोषमार्फत सरकारले जीविकोपार्जनमा सहयोगका लागि मृत्यु भएकी फुलवा देवीका पति बिलेती तैथवार यादवलाई ५० हजार रुपैयाँबराबरको आर्थिक सहयोग उपलब्ध गराइएको हो ।

कोषका कार्यक्रम अधिकृत वीरेन्द्र गौतमले उक्त रकम प्रदान गरेको स्थानीय राजकुमार पासवानले जानकारी दिए । कोशीटप्पु वन्यजन्तु आरक्षका निमित प्रमुख संरक्षण अधिकृत चुमन ठाकुर, बदगामा–जगतपुर मध्यवर्ती क्षेत्र उपभोक्ता समिति अध्यक्ष तथा कोशी टप्पु मध्यवर्ती व्यवस्थापन समितिका पूर्व अध्यक्षसमेत रहेकी रेणु साह र शत्रुभञ्जन गुल्मका गुल्मपतिसमेतको उपस्थितिमा उक्त रकम हस्तान्तरण गरिएको थियो ।

मंसिर १२ गते कोशी टप्पु वन्य जन्तु आरक्षबाट निस्केको हात्तीले फुलवादेवी यादवलाई आक्रमण गर्दा उनको मृत्यु भएको थियो ।

पछिल्ला वर्षहरूमा यो आरक्षमा मानवीय क्षति बढ्दो छ । यो क्षेत्रमा खास गरी हात्तीको आक्रमण बढी हुने गरेको साहले बताए । हात्तीलगायतका वन्यजन्तुको आक्रमणबाट ज्यान गुमाउनेका परिवारलाई सरकारले १० लाख रुपैयाँ राहत दिने गरेको छ । नेपालमा सबैभन्दा बढी हात्तीका कारण बढी मानवीय क्षति हुने गरेको छ । चितवन, बर्दिया, पर्सा र शुक्लाफाटा निकुञ्जबाट निस्किएका हात्तीले वितण्डा मच्चाउने गरेको छ । पूर्वी नेपालको झापामा भने भारतबाट आएका जंगली हात्तीले बर्सेनि क्षति गर्ने गरेको छ ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics