सिमरा एयरपोर्टमा खाग सेटिङ

A+ A-



गैंडालाई चार वर्ष’ गैंडासम्बन्धी कमलजङ्ग कुँवरद्धारा लिखित पुस्तक हो । यो पुस्तक वि.सं २०६६ साउन महिनामा ‘चित्रबहादुर कुँवर स्मृति गैँडा संरक्षण प्रतिष्ठान’ ले प्रकाशनगरी बजारमा ल्याएको थियो । यो पुस्तक हामीले प्रत्येक शनिबार नेचर खबरअनलाइनबाट प्रकाशित गर्दै आइरहेका छौँ । पढौँ पुस्तकको २८ औं अंश –

सीडीओको चाल

चितवनका सीडीओ नरेन्द्रराज पौडेलले मलाई निकै दुःख दिएका थिए। मैले खाग तस्कर याक्चेलाई पक्रेर थुनाएको थिएँ। याक्चेकी बूढी र सीडीओकी बूढी मितिनी रहेछन्। स्वास्नीकी मितिनीको लोग्नेलाई पक्रेको र त्यसलाई छाडिदिने आफ्नो आदेश नमानेको रिस पोख्न उनले मलाई सताउन थाले। सुब्बा उत्तमप्रसादले मविरूद्ध सीडीओ कार्यालयमा पनि झूटा ब्यहोराको उजुरी हालेको थियो। तर सीडीओसँग कुनै प्रमाण थिएन। तैपनि दुःख दिने हिसाबले मलाई बयानका लागि बोलाउन र तारेखमा राख्न थाले। अप्ठ्यारो स्थितिमा पारेपछि म गल्छु कि भनेर उनले याक्चे बिरामी भएको नक्कली कागज तयार पारेर मलाई अफिसमा बोलाए र याक्चेको सहयोगी पत्रकार नारायण दाहालसँग कुराकानी गर्न भने। त्यसो गर्दा पनि याक्चेलाई छुटाउन सम्भव नभएपछि उनले हामीसँग थुनुवा स्थानान्तरणको सहमति मागे।

त्यसमा कार्यालयले सहमति नदिएपछि उनले आफ्नै निर्णयले बलजफ्ती याक्चेलाई केन्द्रीय कारागारमा स्थानान्तरण गरे र रातारात काठमाडौँ पुर्‍याए। कारागार व्यवस्थापन विभागमा कुरा मिलाउन उनी आफैँ काठमाडौँ गएको कुरा मलाई सिडियो कार्यालयका पिएले बताएका थिए। त्यो घटनाले दिक्क लागिरहेकै थियो; फेरि एक दिन मलाई बोलाएर सीडीओले भने– ‘जिल्ला कारागारमा गैँडा केसको मान्छेलाई हेपाटाइटिस बी भएको छ रे। रोग सर्छ भनेर अरु कैदीले हडताल गर्छौं भन्दै छन्। मैले केन्द्रीय कारागारमा कुरा गरेको छु। दस–पन्ध्र दिनमा राख्ने ठाउँ तयार हुन्छ
होला; त्यति बेलासम्म त्यसलाई कसरामा राख्नुपर्‍यो।’

मैले भनेँ– ‘कसरामा पनि दुइटा मात्र कोठा छन्। थुनुवा थुप्रै हुन्छन्। तिनीहरुलाई पनि त सर्न सक्छ।’ तर उनले मेरो कुरा सुनेनन् र भोलिपल्ट प्रहरी र कारागारका मान्छेका साथ लगाएर त्यो मान्छेलाई जबर्जस्ती कसरा ल्याएर छाडिदिए।

हेपाटाइटिस बी भएको मङ्गले प्रजालाई एउटा कोठा खाली गरेर राख्न थालियो। खाना टाढैबाट दिन्थे स्टाफहरु, रोग सर्ला कि भनेर। मैले उनीहरुलाई सम्झाएँ— दस–पन्ध्र दिन हो, के गर्ने, दुःख गर भनेर। तर पन्ध्र दिनपछि पनि सीडीओले उसको खोजखबर लिएनन् र मैले कुरा गर्दा अनेक
बहाना बनाएर आलटाल गर्न थाले।

त्यस बेला मलाई मङ्गलेलाई धरौटीमा छाडिदिऊँ भन्ने लागेको थियो तर एक जना साथीले भन्नुभयो– ‘यो सीडीओको चाल हुन सक्छ। पहिले हामीलाई प्रेसरमा पारेर यसलाई छाड्न लगाउने, त्यसपछि याक्चे पनि त बिरामी छ, मङ्गलेलाई छाड्न मिल्छ भने यसलाई पनि छाडिदिनुस् भन्ने।’
उहाँले सल्लाह दिनुभयो– ‘एउटालाई छाडेपछि अरु पनि विभिन्न बहाना बनाएर धरौटीमा छाड्दे भन्न आउँछन्। यो रोग बन्छ। त्यसैले नछाडौँ।’

करिब छ महिनापछि कसराको हिरासतमै मङ्गलेको मृत्यु भयो।

पोचर युज एज एन्टी–पोचरको रणनीतिले फेरि काम गर्‍यो। नयाँ सहयोगीहरु सुराक दिन तयार भएका थिए। म कामविशेषले बाहिर रहेका बेला २०६२ पुस ४ गते गैँडा सिकारीहरु कुमरोज हुँदै निकुञ्ज प्रवेश गर्दै छन् भनेर उनीहरुले खबर गरेछन्। रेन्जर प्रमोद यादवसहितको टोलीले मकवानपुरको हाँडी खोला बस्ने कृष्णबहादुर स्याङतान, चितवनको जुटपानी बस्ने रामबहादुर कुमाल, पदमपुर बस्ने सूर्य कुमाल, मकवानपुरको बसामाडी बस्ने सन्च सिंह मोक्तान र जुटपानीकै ग्याल्वो तामाङलाई कुमरोजबाट बाटैमा पक्रेछ। गैँडा मार्न लगेको गोली भने कृष्णबहादुरले बारीमा फ्याँकिदिएछ र उहाँहरुले फेरि भोलिपल्ट गएर खोजेर ल्याउनुभएछ। गैँडा मार्न जान लागेको टोलीबारे सुराकीले पहिले नै सूचना दिएको र तिनीहरुलाई निकुञ्ज प्रवेश गर्नुअघि नै समातिएको यो सायद पहिलो अवसर थियो।

चितवन, पिप्ले बस्ने प्रभु राईलाई पुस ५ गते टाँडीबाट पक्रियौँ। ऊसहित केही व्यक्ति खागको किनबेच गर्दै छन् भन्ने सुराकका आधारमा हामी त्यहाँ पुगेका थियौँ। खाग किन्ने तस्कर बोलाउने मान्छे त्यही हो भनेर देखाइएकाले मैले उसलाई समातेँ। तर अरु कोही पनि फेला परेनन्। ऊसँग सोधपुछ गर्दा थाहा भयो— यिनीहर नागमणि, स्यालको सिङ खोज्ने ग्रुपका रहेछन्। चामल तान्ने पैसा पाइयो भने धेरै महँगोमा बिक्छ भनेर खोज्दै हिँड्दा रहेछन्। त्यसै क्रममा खागको पनि धेरै पैसा पाइन्छ भनेर ऊ त्यतापट्टि लागेको रहेछ। ऊसँग एउटा धेरै पुरानो सिक्का पनि थियो। ऊ पहिले सेनामा जागिर खाएको मान्छे रहेछ।

नवलपरासीबाट त्यति धेरै मान्छे पक्राउ परेका थिएनन्। खास गरी गैँडा खासा र टेम्पल टाइगर क्षेत्र अनि खोरिया मुहानतिर गैँडा मार्ने मान्छे पत्ता लगाउन सकिएको थिएन। यत्तिकैमा पुस ४ गते पक्राउ परेको कृष्णबहादुरले ‘राजकुमार कुमालको साढुदाइ पनि हामीसँगै गैँडा मार्न जान्थ्यो’ भन्ने बयान दियो। उसलाई पक्राउ गरेपछि पश्चिमतिरको नयाँ कुरा खुल्न सक्छ भनेर म उत्साहित भएँ।

मैले उसको ठेगाना र हुलिया अमलटारी पोस्टमा कार्यरत खरिदार रामबहादुर अधिकारीलाई दिएँ। उहाँले उसको घर पत्ता लगाउनुभयो। स्थानीय व्यक्तिको मदतले त्यसै दिन ऊ कोल्हुवाबाट पक्राउ पर्‍यो। उसबाट जति सूचना पाइएला भन्ने सोचेको थिएँ, त्यो भने प्राप्त हुन सकेन। बरू उसको चरम गरिबी र दुर्बल शरीर देख्दा अनि श्रीमती निकै बिरामी भएको थाहा पाउँदा उसप्रति टीठ लाग्यो।

राजकुमारसँग ‘राजा’ कहाँ


म विशेष कामले काठमाडौँ गएको थिएँ। याक्चेबाट बरामद भएको मोबाइल मसितै थियो। २०६२ माघ २१ गते त्यसमा घण्टी बज्यो। फोन बाराको कोड नम्बरबाट आएको थियो। मैले सोचिहालेँ, कुनै तस्करकै फोन होला भनेर। उसको मोबाइलमा प्रायः तस्करहरकै फोन आउँथ्यो। एक पटक एक जना रूकुमतिरको मान्छेले ‘मसँग १३ किलो यार्सागुम्बा छ’ भनेको थियो।
तस्करहरु प्रायः याक्चेकी श्रीमती फिन्जोलाई खोज्थे।
फोन उठाएँ।
उताबाट बोल्यो– ‘हेलो, साहूजी हो?’
मैले भनेँ– ‘हो? के छ?’
उसले भन्यो– ‘साहूजी, म कुमार।’
म सतर्क भएँ। मलाई लाग्यो— याक्चेलाई फोन गर्ने यो मान्छे पक्कै राजकुमार लामा हो। पक्राउ परेको हात्तीसारे मण्डल महतोले खाग तस्करीमा
उसको नाम पोलेको थियो र ऊ सिमरा एयरपोर्टमा काम गर्छ भन्ने बताएको थियो। आज त्यही मान्छेले फोन गर्दा मैले रोमाञ्चित भएर अनायासै सोधेँ–
‘राजकुमारजी हो?’
उसले भन्यो– ‘हो।’
‘राजकुमारजी, साहूजी त विशेष कामले भारत जानुभएको छ। केही भए
मलाई भन्नुस्।’
‘साहूजीसँग एउटा काम थियो।’
‘के हो र?’
‘माल थियो एउटा।’
‘के माल? सिङ हो?’
‘हो।’
मैले ‘साहूजीसँग सल्लाह गर्नुपर्छ; म भरे कन्ट्याक्ट गरेर सोध्छु; भोलि
फोन गर्नुहोला’ भनेँ।
भोलिपल्ट फेरि फोन गर्‍यो उसले।
मैले भनेँ– ‘म भोलि नै गाडी लिएर आउँछु। तर दाम कति भनेको छ?
पैसा कति ल्याऊँ?’
‘साढे सात लाख भनेको छ।’
‘हुन्छ; म माल हेर्छु अनि दाम तोकौँला।’
म त्यसै दिन कसरा आएँ। राजकुमार लामा त्यो ठाउँको दादा भएकाले बिना हतियार उसलाई पक्रन जानु उचित थिएन। सैनिकसहित जाने योजना बन्यो तर त्यो दिन विविध कारणले जान सम्भव भएन। उसले फेरि फोन गर्‍यो। मैले भनेँ– ‘म चितवनसम्म आइपुगेको छु। चक्काजाम भएकाले आज
यतै बस्छु र भोलि एघार बजेसम्म त्यहाँ आइपुग्छु।’

माघ २३ गते सिमसार दिवस थियो। घडियाल प्रोजेक्ट,कसरामा पालिएका घडियाल गोही राप्ती नदीमा छाड्ने कार्यक्रम थियो। बीसहजारी तालमा स्कुल कार्यक्रम थियो। त्यहाँ पुगेर मैले प्रशंसापत्रहरुमा सही गर्नुपर्ने भयो।

सबै काम सकेर लप्टन सागर कार्कीको टोलीसहित हामी सिमरा पुग्दा करिब दुई बजिसकेको थियो। उसले मलाई ‘सिमरा चोकमा आएर फोन गर्नू’ भनेको थियो। मैले ‘हामी दुई जना हुन्छौँ’ भनेको थिएँ। त्यसैले सेनाका दुई साथी र गेमस्काउट यमबहादुर खनाललाई जिल्ला वन कार्यालय,बाराको कम्पाउन्डमा बस्नू भनेर हामी अलि पहिले नै गाडीबाट झरेर पैदल
सिमरा चोकतर्फ लाग्यौँ। मैले आफूसँग भएका दुइटामध्ये एउटा मोबाइल यमबहादुरलाई दिएको थिएँ र राजकुमारको घरको लोकेसन बताइदिएर फोन गरेपछि त्यहीँ आउनू भनेको थिएँ। म यसभन्दा अगाडि सिमरा आउँदा नै उसको घर सुराकीले देखाइसकेको थियो।

बाटामा मैले लप्टनलाई सोधेँ– ‘पेस्तोल त छ नि?’ उहाँले ‘छ’ भन्नुभयो।
हामी ठिक्क सिमरा चोक पुग्न लाग्दा फोन गर्‍यो उसले।
मैले भनेँ– ‘हामी सिमरा चोक आइपुग्यौँ। कहाँ आउने?’
उसले भन्यो– ‘म ना२प २२७८ नम्बरको मोटरसाइकलमा आउँछु; त्यहीँ बस्नुस्।’

हामी सिमरा चोकमा उभियौँ। एक छिनपछि उत्तरतर्फबाट त्यो नम्बरको मोटरसाइकलमा एउटा मान्छे आयो। मैले ‘नमस्ते दाइ’ भनेर उसलाई ठूलो बनाइदिएँ। हात मिलायो। अनि भन्यो– ‘म अगाडि जान्छु; मेरो मोटरसाइकल जहाँ रोकिन्छ त्यहीँ आउनुस्।’
मलाई उसले आफ्नो घर लैजान्छ भन्ने लागेको थियो तर ऊ एयरपोर्ट पुग्ने चोकबाट माथितिर लाग्यो। हामी एउटा घरमा पुग्यौँ। बैठककोठामा दुईतीन जना आइमाई टीभी हेरिरहेका थिए। राजकुमारले उनीहरुलाई भन्यो–
‘राजा खोइ? हजुरहरुलाई कोठा खाली गरिस्योस् भनेको होइन? किन अहिलेसम्म नगरेको?’

यत्तिकैमा भित्रबाट साठी–पैँसठ्ठीवर्षे गोरो बूढो निक्ल्यो र उसले ती आइमाईहरुलाई भित्र अर्को कोठामा जान भन्यो। त्यसपछि हामी बैठककोठामा प्रवेश गर्‍यौँ। भलाकुसारी भयो र मालको कुरा सुरू भयो।
‘माल हेर्नुपर्छ,’ मैले भनेँ।
राजकुमारले त्यो बूढालाई भन्यो– ‘गएर ल्याइस्योस् त हजुर।’
मैले भनेँ– ‘त्यो मालवालालाई पनि बोलाउनुस् न।’ खागवाला पनि भए सँगै समात्नुहुन्थ्यो भन्ने मेरो सोचाइ थियो।
तर उसले भन्यो– ‘हैन भाइ, हामीले दलालीबापत अलिकति खाने हो;
उसलाई बोलाउनु हँुदैन।’
मैले भनेँ– ‘त्यसो भए ठीकै छ।’
त्यो बूढो त्यहाँबाट बाहिरियो। अनि कुरा गर्न थाल्यो राजकुमारले– ‘मैले पाँच–छ वटा माल फिन्जो दिदीलाई दिएँ। दिदीले त शरीरमा कताकता राखेर लग्नुहुन्थ्यो। उहाँ त सार्‍है बाठो, नडराउने मान्छे।’
उसले भने अनुसार याक्चेकी बूढी फिन्जो आफैँ त्यहाँ गएर खाग लैजानेगर्थी। ह्ववार्लाङ्ङ परेको भोटे ड्रेस लगाएर आउँदी रहिछ र त्यही कपडाभित्र लुकाएर लग्दी रहिछ। हाम्रो सुराकीले पनि मसँग पटक–पटक ‘सिमरा एयरपोर्टमा भोटे ड्रेसमा एउटी आइमाई आउँछे र खाग लैजान्छे’ भनेको थियो। राजकुमार भन्दै थियो– ‘मैले एउटा त प्लेनबाट पनि लगेँ। आफू कर्मचारी भएकाले चेकिङ हुँदैनथ्यो। त्यसपछि एउटा माल मोटरसाइकलमा काठमाडौँ लगेको तर सार्‍है डर लाग्यो त्यति बेला।’ यसरी उसले आठ–दस वटा खाग बेचेको स्वीकारेको थियो, हामी दुवैका अगाडि।

केही बेरपछि बूढो एउटा प्लास्टिकको झोला लिएर आयो र मेरो हातमा राखिदियो। मैले झोलाभित्र खाग हेरेँ; सुँघेँ अनि लप्टनलाई दिएँ। उहाँले पनि त्यसै गर्नुभयो।
लप्टन सा’बलाई सोधेँ– ‘ठीक छ?’
उहाँले भन्नुभयो– ‘ठीक छ।’
अनि राजकुमारलाई सोधेँ– ‘मूल्य कति हो?’
‘साढे सात लाख भनेको, ल साढे छ लाख भयो।’
‘तौल कति छ?’
‘एक किलो।’
‘अलि मिलाइदिनुपर्‍यो।’
‘हजुर, हामीले दुई–चार पैसा दलाली खाने हो; त्यहाँभन्दा अरु केही छैन हजुर।’
अनि मैले लप्टन सा’बसँग कानेखुसी गरेँ र तिनीहरुलाई भनेँ– ‘तिमीहरुले काठमाडौँबाट बोलाएको मान्छेलाई हामीले चितवनमा पक्रियौँ। हामी चितवन राष्ट्रिय निकुञ्जबाट तिमीहरुलाई पक्रन आएको। हल्ला नगर्नू। हल्ला गरे तिमीहरुकै बेइज्जती हुन्छ। खुरूखुरू हामीले भनेको मान।’

तिनीहरु स्तब्ध भए। मैले यमबहादुरलाई फोन गरेर भनेँ– ‘तिमी अघि भनेको ठाउँभन्दा अगाडि चोकमा आएर मास्तिर लाग्नू। त्यहाँ २२७८ नम्बरको मोटरसाइकल रोकिराखेको छ; त्यहीँ आउनू।’

त्यसै बेला राजकुमार सोफाबाट उठेर ‘म ज्याकेट लिन जान्छु’ भनेर हिँड्न खोज्यो। मैले ‘यहाँबाट उठ्ने होइन’ भन्दै धकेलेर सोफामा बसालेँ र भनेँ– ‘हामीसँग हतियार छ; भाग्न खोजिस् भने हानिदिन्छौँ।’ मैले पेस्तोल निकाल्न भनेँ। लप्टनले पेस्तोल देखाउनुभयो, तिनीहरुतर्फ ताकेर। बूढो मान्छे चुपचापै थियो। बन्दुक देखेपछि दुवै जना थपक्क बसे।

त्यसपछि मैले त्यो खाग आफ्नो झोलामा राखेँ। झोलामा मेरो डायरी, मोबाइल चार्जर, क्यामरा, पक्राउ पुर्जी, लेटरप्याडसमेत थिए।

पाँच मिनेट बितिसक्दा पनि साथीहरु आइपुगेनन्। त्यहाँ धेरै समय बसिराख्नु ठीक थिएन। मैले लप्टनलाई भनेँ– ‘गाडी आएन। तिनीहरु अलमलिए जस्तो छ। म लिन जाऊँ? तपाईं कभर गर्न सक्नुहुन्छ यिनीहरुलाई?’
उहाँले भन्नुभयो– ‘सक्छु।’ मैले झोला काँधमा बोकिसकेको थिएँ। तर सोचेँ— माओवादीको बिगबिगी भएका बेला एयरपोर्टनजिकै रातो झोला बोकेर छिटछिटो हिँड्दा प्रहरीले शङ्का गरेर झमेला खडा गर्न सक्छ। अनि लप्टनलाई सोधेँ– ‘यो झोला पनि यतै राखौँ? तपाईं कभर गर्न सक्नुहुन्छ?’ उहाँले ‘हुन्छ’ भनेपछि झोला थपक्क आफू बसेको सोफामा राखेर म हतारहतार बाहिर निक्लेँ।
म छिटछिटो एयरपोर्ट चोकतर्फ लागेँ। चोकसम्म पुग्दा पनि गाडी देखिएन। म एकदम तनावमा थिएँ, त्यो ठाउँ राजकुमारको गाउँ भएकाले मान्छेहरुले थाहा पाएर हूलदङ्गा गर्न सक्छन् भनेर। चोकबाट पश्चिमतर्फ लाग्दा गाडी आउँदै गरेको देखियो। हतारहतार गाडीमा चढेर हामी सबै त्यो घरमा पुग्यौँ। तर त्यहाँ त लप्टन सा’ब मात्र हुनुहुन्थ्यो।
मैले सोधेँ– ‘के भयो?’
उहाँले भन्नुभयो– ‘क्या यार, भागे।’ हात परिसकेका अपराधीहरु उम्केकाले म पानीपानी भएँ।
मैले फेरि सोधेँ– ‘अनि झोला खै त?’
‘त्यो पनि लिएर भाग्यो।’
म अत्यन्तै चिन्तित भएँ।
उहाँले ‘एउटालाई यहाँ थुनेको छु’ भन्नुभयो तर कोठा खोलेर हेर्दा त्यो पनि त्यहाँ थिएन। पछाडिको ढोकाबाट भागिसकेछ।
हामी हतारहतार घरपछाडि दौड्यौँ। घरको ठीक पछाडि बूढो दौडिरहेको देखियो। हामीले लखेटेको देखेपछि ऊ आत्तिएर आफैँ ढल्यो। उसलाई हामीले समात्यौँ र एक जनाले गाडीतर्फ लग्नुभयो। त्यसपछि अर्को यता गयो होला भनेर अनुमानको भरमा दाहिनेतर्फ लाग्यौँ। र, बारीमा काम गरिरहेका महिलालाई सोध्यौँ– ‘एक जना दौडेर यता गयो?’ उनीहरुले साउतीको भाषामा ‘यता गयो, यता गयो’ भनेर हातले उत्तरतिर देखाए। हामी त्यतै दौड्यौँ तर आधा किलोमिटरजति दौडँदा पनि त्यो मान्छे देखिएन। त्यहाँ पनि बारीमा काम गरिरहेका दुई महिलालाई सोध्दा इसाराले उत्तरतर्पै गएको सूचना दिए। त्यसपछि हामी करिब तीन सय मिटर दौडेपछि रातो हाफ ज्याकेट लगाएको अघिको मान्छे छिटछिटो हिँड्दै गरेको देख्यौँ। ऊ दौडेर थाकिसकेको थियो र पछाडि फर्केर नहेरी आफ्नो ज्याकेट खोल्दै थियो। हामी पछाडिबाट गएर झ्याप्प समात्यौँ र गाडीतर्फ लिएर हिँड्यौँ। वरपरका
मान्छेहरु छक्क परेर हेरिरहेका थिए।

प्रतिक्रिया दिनुहोस

sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar6
sidebar6
web
analytics