जाडोयाममा चराको दुर्घटना अत्याधिक




जाडोयामको ठण्डीका कारण चराहरू दुर्घटनामा पर्ने भएकाले उद्धार कार्यमा सहयोग गर्न संरक्षणकर्मीले आग्रह गरेका छन् । जाडोयाम चराहरूका लागि अभिशापको रूपमा लिइन्छ । यो मौसममा बाक्लो हिमपात र हुस्सु लाग्ने गरेकाले चराहरू ठूलो परिमाणमा दुर्घटनामा पर्ने भएकाले यो मौसमलाई अभिशापको रूपमा लिने गरिएको छ ।

उत्तरी ध्रुवमा परेको हिमपातका कारण प्रतिकुल मौसम र असुरक्षित वासस्थानका कारण चराहरू जोखिममा परेका छन् । उत्तरी मुुलुकहरु रुस, किर्जिस्तान, तुर्किस्थान, उज्वेकिस्तान, अजरवैजान, चीन, मंगोलियालगायतका युरोप, कोरियासहितका मुलुकबाट सुरक्षित बासस्थान र चरण क्षेत्रका लागि चराहरू नेपालमा बसाँई सर्ने हुन्छन् ।

यसरी बसाई सर्ने क्रममा बाक्लो हुस्सुका कारण अग्ला विद्युतीय तार, अग्ला भौतिक पूर्वाधार र टावरमा ठोक्किएर चराहरू दुर्घटनामा पर्ने गरेका छन् । नेपालमै पाइने चराहरू पनि चिसोले प्रभावित भएर बिरामी पर्ने गर्छन् ।

पछिल्लो समयमा रुपन्देहीको गैडातालमा हिमाली गिद्ध र नवलपरासीको पिठौलीमा डंगर प्रजातिको डंगर गिद्ध घाइते अवस्थामा उद्धार गरी उपचार पश्चात प्राकृतिक वासस्थलमा छाडिएको नेपाल पन्छी संरक्षण संघका गिद्ध संरक्षण कार्यक्रम अधिकृत कृष्ण भुसालले जानकारी दिए । उनका अनुसार नवलपरासीको पिठौलीस्थित जटायु रेस्टुरेन्टमा पनि घाइते अवस्थामा फेला परेको आगन्तुक गोमायु महाचीलको उपचार भइरहेको छ ।

नेपालमा वन्यजन्तु उद्धार केन्द्र र उपचारका लागि वन्यजन्तु अस्पतालको अभावमा वर्षेनी सयौँ प्रकारका दुर्लभ चराहरू र अन्य वन्यजन्तुहरूले अनाहकमा ज्यान गुमाईरहेको भुसालले बताए ।

पछिल्ला दशकहरूमा खासगरी बासस्थान सङ्कुचन तथा विनाश, कृषिमा रासायनिक मलको बढ्दो प्रयोग, जलस्रोतमा विषादीको प्रयोग, अवैध चरा शिकार तथा व्यापार, बदलिदो तापमान र मौसम परिवर्तन जस्ता कारणले आगन्तुक चराहरू संकटमा पर्ने गरेका छन् । पछिल्लो समयमा जाडोयामका कारण थप जोखिममा चराहरु परेका छन् ।

नेपालमा पाइने ८ सय ८४ भन्दा बढी प्रजातीका चराहरूमध्ये करिब १ सय ५० प्रजाती हिउँद याममा र करिब ६० प्रजातीहरु ग्रिष्म याममा बसाई सरी नेपाल आउने गर्दछन् ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics