माघे संक्रान्तिको मौका छोपी तरकारीको मूल्य बृद्धि



माघे संक्रान्तिको मौका छोपी व्यवसायीहरूले तरकारीको कृत्रिम मूल्य बृद्धि गरेका छन् । गत शुक्रबारसम्ममा सस्तो रहेको तरकारीको मूल्यमा एक्कासी बृद्धि भएको छ । व्यवसायीहरूले प्रत्येक तरकारीमा २० देखि ५० रुपैयाँ थपेर बिक्री गर्न सुरु गरेका छन् ।

शुक्रबारसम्ममा ८५ रुपैयाँ प्रतिकिलो रहेको घिउसिमी शनिबार एक सय पाँच रुपैयाँमा बिक्री भएको छ । आइतबार सोही घिउसिमीको मूल्य एक सय १५ रुपैयाँ पुगेको छ ।

घिउसिमीमा एक सातामै ७७ प्रतिशतले मूल्य बृद्धि भएको छ । कालिमाटी तरकारी तथा फलफूल विकास समितिका अनुसार शनिबारसम्म प्रतिकिलो ६३ रुपैयाँ रहेको पालुङ्गो, चमसुर र मेथीको सागको मूल्य आइतबार १ सय ५ रुपैयाँ पुगेको छ ।

अघिल्लो बिहीबारसम्म प्रतिकिलो ५५ रुपैयाँ रहेको रायोको सागको मूल्य शुक्रबार ८ रुपैयाँले बृद्धि भएर ६३ मा पुगेको छ ।

एक साताको बिचमा सागको मूल्य अधिकतम ११३ प्रतिशतसम्म बढेको समितिको मूल्यसूचीले देखाएको छ ।

घिउसिमी र रायोको साग मात्र होइन, अधिकांश हरियो तरकारीको मूल्य पनि उतिकै बढेको छ । बिहिबार प्रतिकिलो ४५ रुपैयाँमा कारोबार भएको सानो गोलभेडा शुक्रबार ५५ रुपैयाँमा बिक्री भएको थियो ।

दुई दिनकै फरकमा सेतो मूलामा २० रुपैयाँ, भन्टामा १३ रुपैयाँले बढेको देखिन्छ । ५५ रुपैयाँ प्रतिकिलो पाइने हरियो फर्सी अहिले ६८ रुपैयाँमा बिक्री भएको छ ।

मूख्य सिजन हुँदा पनि काउली र बन्दाको भाउ पनि बढेको कालिमाटी तरकारी तथा फलफूल विकास समितिले जनाएको छ ।

माघे संक्रान्तिको लागि बजारमा आएको तरुलको मूल्य पनि अचाक्ली देखिएको छ । व्यापारीहरूले मूख्य खपत हुने समयमा तरुलको मूल्य पनि बढाएका छन् । अघिल्लो सातासम्म प्रतिकिलो ३८ रुपैयाँ रहेको तरुलको मूल्य अहिले ५८ रुपैयाँ छ ।

शनिबारसम्म ६८ रुपैयाँ प्रतिकिलो रहेको तरुलको मूल्य आइतबार १० रुपैयाँले घटेर ५८ पुगेको हो । कालीमाटी तरकारी बजारमा उपलब्ध यो मूल्य रिटेल मूल्यमा आउँदा भाउ अरु महंगिएको छ ।

नेपाल फलफूल तथा तरकारी व्यवसायी महासंघका महासचिव भरत खतिवडाले उत्पादनमा कमी आउँदा तरकारीको मूल्यमा बृद्धि भएको दावी गरेका छन् ।

मुग्लिन नारायणगढ सडकखण्डको अवरोधका कारण पनि आपूर्तिमा समस्या हुँदा मूल्यमा प्रभाव परेको उनको भनाइ छ । कालिमाटी फलफूल तथा तरकारी विकास समितिका उपनिर्देशक विनय श्रेष्ठ तरकारीको माग बृद्धि हुँदा मूल्य बढेको बताए ।

केही समयअघि आपूर्ति व्यववस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले गरेको अनुगमनले तरकारीको मूल्य अत्यधिक बढ्नुमा बिचौलियाको बिगविगी मूख्य रहेको निश्कर्ष निकालेको थियो ।

अध्ययनले उत्पादकबाट उपभोक्तासम्म आइपुग्दा तरकारीको मूल्य पाँच चरणमा निर्धारण गरेको देखाएको थियो । बजार अनुगमनका कारण तरकारीको मूल्य स्वात्तै घटेपनि अहिले पुनः बढेको हो ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics