झोला–झमेला

गैंडालाई चार वर्ष’ गैंडासम्बन्धी कमलजङ्ग कुँवरद्धारा लिखित पुस्तक हो । यो पुस्तक वि.सं २०६६ साउन महिनामा ‘चित्रबहादुर कुँवर स्मृति गैँडा संरक्षण प्रतिष्ठान’ ले प्रकाशनगरी बजारमा ल्याएको थियो । यो पुस्तक हामीले प्रत्येक शनिबार नेचर खबरअनलाइनबाट प्रकाशित गर्दै आइरहेका छौँ । पढौँ पुस्तकको २९ औं अंश –



झोला–झमेला

दुवै जनालाई पक्रे पनि हामीले खागसहितको मेरो झोला भेटेका थिएनौँ। मैले सोध्दा राजकुमारले भन्यो– ‘बाहिर अर्को मान्छे थियो, त्यसैले लिएर भाग्यो।’
तर लप्टन भनिरहनुभएको थियो– ‘यसैले लिएर गएको हो।’ त्यसैबीच त्यहाँ थुप्रै मान्छे जम्मा भैसकेका थिए। राजकुमार आफ्ना मान्छेहरुलाई भन्दै थियो– ‘इन्स्पेक्टर सा’बलाई बोला न छिटो।’ अनि लप्टन ‘म आफैँ बोलाएर ल्याउँछु तेरो इन्स्पेक्टरलाई’ भनेर जानुभयो। हामीले ती दुवै जनालाई गाडीमा राख्यौँ र गाडीनजिक अरु कसैलाई आउन दिएनौँ। उसका छोरा र आफन्तहरु जङ्गिँदै हामीतर्फ आउन खोज्दै थिए। हामीले ‘यता आइस् भने नराम्रो हुन्छ’ भनेर एक–एकलाई हप्काएपछि र सैनिक साथीहरु पनि जद्ध्गिए पछि गाडीतर्फ कोही आउन सकेनन्।

पन्ध्र मिनेटजतिपछि सइको कमान्डमा प्रहरी टोली आयो। हामीले राहत महसुस गर्‍यौँ। लप्टन भने इन्स्पेक्टरसँग दस–पन्ध्र मिनेटपछि पैदलै आउनुभयो। त्यसपछि मैले राजकुमारलाई ‘ल देखा झोला’ भन्दै गाडीबाट तानेर बाहिर निकाल्न खोजेँ। त्यस बेला इन्स्पेक्टरले ‘त्यसो नगर्नुस्; हामी
पछि तपाईंलाई झोला खोज्न सहयोग गरिदिउँला’ भन्न थाल्यो। मैले बुझिहालेँ, राजकुमारले उसलाई किन खोजेको रहेछ भनेर।
इन्स्पेक्टरको युनिफर्ममा लेखिएको थियो— एल गिरी। हामी राजकुमारलाई लिएर हिँड्न लाग्दा लप्टनले पूरा नाम सोध्नुभयो। उसको नाम रहेछ—
लक्ष्मण गिरी।

बाटामा थाहा भयो— राजकुमार लामाकी दिदी त्यो बूढाले बिहे गरेको रहेछ र उसको नाम युधिष्ठिरजङ्ग राणा रहेछ। मैले राजकुमारलाई भनेँ– ‘भोलि तेरी दिदीलाई पनि अप्ठ्यारो पर्छ।

भन्, कहाँ छ झोला?’
उसले पुरानै उत्तर दोहोर्‍यायो– ‘अर्को मान्छेले लग्यो।’
‘त्यो मान्छे को हो त?’
‘चितवन, पदमपुरतिरको थारु हो। यही बाराको थारु टोलमा बस्छ।’
‘नाम के हो?’
‘नाम त खै, विष्णु चौधरी भने जस्तो लाग्थ्यो।’
मैले सोचेँ— कसरा लगेर सोधेपछि पक्कै भनिहाल्छ अनि झोला भेटिइहाल्छ। त्यस बेला मलाई झोलाको भन्दा पनि बढी कतै माथिको आदेश
भनेर प्रहरी वा सेनाले बाटामा रोकेर ती मान्छेलाई नभगाइदिऊन् भन्ने चिन्ता थियो। त्यसैले अपरेसनबारे कसैलाई कुनै जानकारी नदिई सरासर हाकिम
चोक आएर क्रिस्टल होटलमा खाजा खायौँ र कसरातर्फ लाग्यौँ। म त्यो कोठाबाट हिँडेपछि के भएछ त? राजकुमार र युधिष्ठिर दुवै बीचबीचमा उठ्न खोज्दा रहेछन्। लप्टन बसाउनुहुँदो रहेछ। यसै क्रममा लप्टनको पेस्तोल भएको हात युधिष्ठिरले जोडले समातिदिएछ। त्यही मौका छोपेर राजकुमार त्यहाँबाट झोला लिएर बाहिरिएको उहाँले देख्नुभएछ।

युधिष्ठिरले बयानमा भने अनुसार लप्टनले ‘मेरो हात छाडिदे; म तँलाई केही गर्दिनँ’ भन्नुभएछ। उसले हात छाडिदिएपछि लप्टनले उसलाई लात्तीले हानेर
ढाल्नुभएछ र सँगैको अर्को कोठामा ठेलेर चुकुल लगाइदिनुभएछ। त्यही मौका छोपेर युधिष्ठिर पनि पछाडिबाट भागेछ। हात समात्ने र फुत्काउने गर्दा
लप्टनको पेस्तोलको म्यागजिन एकातिर खसेको रहेछ। पछि अर साथीहरले खोजेर उहाँलाई दिए। उहाँ ‘फायरिद्ध गर्दा अर्को समस्या आउला कि भनेर
केही गरिनँ’ भन्दै हुनुहुन्थ्यो।

युधिष्ठिर र राजकुमारलाई हामीले बेलुका कसरामा सोधपुछ गर्‍यौँ तर उनीहरुले सबै कुरा ढाँटिरहेका थिए। राजकुमारले त ‘फिन्जोलाई खाग दिएको भनेको पनि झूटो हो; तपाईंले बढी दलाली दिनुहुन्छ कि भनेर गफ दिएको हुँ’ भन्न थाल्यो। ‘एउटा खाग मण्डल महतोले दिएको थियो; त्यो काठमाडौँ लगेर बेचेको हुँ; अरु सबै गफ मात्र हो’ भन्यो। झोलाबारे पनि पहिलेकै झूट दोहोर्‍यायो। भोलिपल्ट ब्यारेकमा लगेर पनि सोधपुछ गरियो‍ तर झोलाबारे कुरा खुलाउनै सकिएन। ऊ प्रहरीको जागिर खाइसकेको मान्छे भएकाले सार्‍है चाम्रो थियो; हत्तपत्त कुनै कुरा भन्दैनथ्यो। मलाई भने खागभन्दा पनि डायरीमा भएका सुराकीका नाम र सूचनाको चिन्ता थियो, त्यो तस्करहरुको हातमा पर्‍यो भने सबै कुरा खुल्ने भयो भनेर। केही उपाय नलागेपछि मैले घटनाको यथार्थ विवरण खोलेर अफिसमा प्रतिवेदन दिएँ।

त्यसपछि हामी आफ्नै धुनमा अरु काममा लाग्यौँ। दस दिनपछि श्रीमती र छोरो कल्पजङ्गसँग म महेन्द्र आँखा अस्पताल, भरतपुर पुगेको थिएँ;
कसराबाट फोन आयो। एक जना स्टाफले भने– ‘खुसीको खबर छ सर, तपाईंको झोला भेटिएछ। एक जना घिमिरेको टौवामा भेटियो रे। झोलामा
भएका सबै सामान छन् रे।’ उनलाई धन्यवाद दिँदै मैले यो कुरा श्रीमतीलाई सुनाएँ। उनी पनि खुसी भइन्। हामी हस्पिटलबाट फर्केपछि कालिका एफएमबाट फोन गरेर आफूलाई चाँदनी हमाल भन्ने एउटी महिला पत्रकारले ‘तपाईंको झोलाबाट खाग भेटियो रे; त्यो के भएको हो?’ भनेर सोधिन्। मैले घटना विवरण सार्वजनिक गर्दा अरु मान्छेले चलखेल गर्लान् भन्ने सोचेर उनलाई भनेँ– ‘यो केस अनुसन्धानको सिलसिलामा छ; त्यसैले केही बोल्न मिल्दैन।’ उनी ‘तपाईंको नेगेटिभमा छ; अप्ठ्यारो पर्न सक्छ’ भन्दै थिइन् तर मैले उनको कुरालाई गम्भीर रुपमा लिइनँ। एक छिनपछि हामी हाकिम चोकको क्रिस्टल रेस्टुराँमा खाजा खाइरहेका थियौँ। कालिका एफएम बजिरहेको थियो। समाचारको हेडलाइनमा भन्यो– ‘बाराको सिमरामा सहायक वार्डेन कमलजङ्ग कुँवरको झोलाबाट खाग बरामद।’ मैले त्यतिन्जेल पनि त्यो कुरालाई खासै गम्भीरतापूर्वक लिइनँ। विस्तृत समाचारमा ‘घिमिरेले आफ्नो टौवामा बेवारिस अवस्थामा रातो झोला देखी प्रहरीलाई खबर गरेको र प्रहरीले सो झोला खोली हेर्दा कमलजङ्ग कुँवरको डायरी, क्यामरा, खाग, मोबाइल चार्जर, लेटरप्याड र पक्राउ पुर्जी फेला परेको’ भन्यो। यसलाई पनि मैले सामान्य रुपमै लिएँ। होटलका साहूजी कृष्ण खनियाँले हाँस्दै ‘के हो?’ भनेर सोध्नुभयो; मैले छोटकरीमा भएको घटना बताइदिएँ।

म बेलुका कसरा पुगेँ। त्यसपछि बल्ल थाहा पाएँ, के–के भएको रहेछ। त्यो घिमिरे थरको मान्छे बिहान सबेरै पराल थुत्न टौवामा जाँदा बेवारिसे रातो
झोला देखेछ। अरु बेला भएको भए पैसा वा बहुमूल्य चीज होला भनेर सुटुक्क लगेर ढोका थुनेर हेथ्र्याे होला। तर माओवादीको जगजगी भएको समयमा
रातो रङ्गको झोला देखेपछि बम राखेको होला भनेर आत्तिएछ र प्रहरीलाई खबर गर्न गएछ। खबर पाएपछि इन्स्पेक्टर लक्ष्मण गिरी त्यहाँ पुगेछ।
उसलाई हामीले राजकुमारलाई पक्राउ गर्ने बेला नै खागसहितका सामान भएको रातो रङ्गको झोला हराएको विवरण दिएका थियौँ। त्यसैले उसले ढुक्क
भएर झोला खोलेछ। झोलाबाट खाग बरामद भएपछि र डायरीमा प्रस्टसँग मेरो नाम र ठेगाना भएपछि, राजकुमार लामाका मान्छेहरुले राजकुमारलाई
फसाउन खाग ल्याएर लुकाएर राखेको भन्न थालेछन् र निकै होहल्ला भएछ।

सबै वास्तविकता थाहा पाएको इन्स्पेक्टर लक्ष्मणचाहिँ राजकुमारलाई पक्रेको रिस फेर्न अनेक नाटक गर्न थालेछ। हुँदाहुँदा मेराविरूद्ध पत्रकार सम्मेलन
गर्नेसम्मको कुरा उठाएछ। त्यो कुरा पर्सा वन्यजन्तु आरक्षस्थित सैनिक गुल्मका मेजर यमबहादुर सापकोटाले थाहा पाउनुभएछ र पत्रकार सम्मेलन
हुन दिनुभएनछ। झोला आरक्षमा ल्याएर राखिएको थियो। म भोलिपल्ट आफैँ गएँ त्यो झोला लिन। मलाई मेजर यमबहादुरले बोलाउनुभयो। मैले घटनाको विवरण बताएँ। उहाँ चकित पर्नुभयो। भन्नुभयो– ‘तपाईंहरुले त्यस्तो दुःख र मेहनत गर्नुभयो तर उल्टै तपाईंहरु विरूद्ध यस्तो लाञ्छना? यो सतीले सरापेको देश हो। यहाँ राम्रो गर्नेको कहिल्यै भलो हुँदैन।’त्यो दिन र त्यसपछिका केही दिन थुप्रै आफन्त र शुभचिन्तकले फोन गरेर चिन्ता जाहेर गरे। कैयौँ आफन्तलाई मान्छेहरुले ‘देखिस् त, तेरो मान्छेले के गर्‍यो’ भनेछन्। सबैलाई वस्तुतथ्य बताउँदा–बताउँदा म हैरान भएँ। कालिका एफएमको त्यो एउटा समाचारले मलाई निकै लखेट्यो। त्यो दिन चाँदनी भन्ने ती महिलालाई कसराका कर्मचारीले फोनबाट वास्तविक घटनाक्रम प्रस्टसँग बताएका रहेछन्। तर उनले त्यसलाई लुकाएर अर्कै समाचार दिइछन्। पछि कालिका एफएमले धेरै पटक त्यो समाचार सच्याउने प्रयास पनि गरेछ तर त्यतातिर कसैको ध्यान गएन।

सामान्य मान्छेले पनि सोच्न सक्ने कुरा हो— कसैले एउटालाई फसाउन अर्काको घर, टौवामा सामान छाडेर हिँड्दैन। त्यस्तो नियत भएको मान्छेले
अवैध सामानसाथ आफ्नो परिचय खुल्ने डायरी झोलामा राखेर बेवारिस ठाउँमा कहिल्यै छाड्दैन। डायरी भएपछि आफैँ फसिन्छ भन्ने उसलाई थाहा
हुँदैन? जस्तोसुकै षड्यन्त्रकारीले पनि राजकुमारलाई फसाउन त उसको घरमा पो अवैध सामान राख्छ; घिमिरेको टौवामा किन राख्छ?

मलाई अचम्म लाग्यो— मान्छेहरु कुनै कुराको सामान्य विश्लेषण पनि नगरी अर्काको लहैलहैमा लागेर कसरी हचुवाको भरमा निचोडमा पुग्दा रहेछन्!
वास्तविकता बुझेका प्रहरी अधिकृत र सञ्चारकर्मी पनि वास्तविकता लुकाएर जनतालाई अलमल्याउन लागिपरेको देख्ता म स्तब्ध नै भएँ। त्यसमाथि,
आफ्नै अफिस अन्तर्गतका स्टाफहरुले समेत आपसमा ‘कमल सरले के गरेको हो?’ भनेको थाहा पाउँदा मलाई झन् पीडा भयो। लाग्यो— कसो त्यस बेला
लप्टन सा’ब पनि सँगै हुनुभएछ, नत्र कर्णेल अजित थापाले झन् उफ्रीउफ्री ‘त्यसलाई ठीक पार्नुपर्छ’ भनेर दौडधूप सुरू गर्थे होला।

राजकुमार कुमालसँग गैँडा मार्न जाने शिव चौधरी पनि हो भन्ने सूचनाका आधारमा हामीले उसलाई मङ्गलपुरको कुखुरापालन फार्मबाट माघ ८ गते
पक्राउ गर्‍यौँ। ऊसँग सोधपुछ गर्दा राजकुमारले आफ्नो कान्छो भाइलाई पनि गैँडा मार्न लैजाने गरेको थाहा पाइयो। बन्दुक उनीहरुले कुमरोजको एउटा
बोटेको घरमा लुकाएर राखेका रहेछन्। अगेनामा खाल्डो खनेर त्यहीँ गाड्ने र चाहिएका बेला निकाल्ने गर्दा रहेछन्। हामीले त्यो बन्दुक बरामद गर्‍यौँ।

केही समयअघि एक दिन दिउँसै सिकारीहरु टाइगर टप्स होटलबाट पश्चिम बाघमारा पोस्टबाट दक्षिणतर्फ करिब दुई सय मिटर पर एउटा गैँडालाई गोली हानी घाइते बनाएर भागेछन्। पाइलाको डोब पछ्याउँदैजाँदा उनीहरु मेघौलीको अन्द्रौलीघाटतर्फ लागेको पत्तो पाइयो। अर्को दिन सेनाको टोली गस्तीबाट फर्केर खोरिया मुहान पोस्टमा आइपुग्नेबित्तिकै देवीतालतर्फ दक्षिणमा दस मिनेटको दूरीमा फायरिद्ध भयो। सेनाले तुरून्तै फलो गर्‍यो तर टाइगर टप्सको देउराली डाँडासम्म लखेट्दा पनि भेट्न सकेन। यसले के सद्ध्केत गथ्र्यो भने सिकारीहरुलाई त्यो इलाकाबारे राम्रो ज्ञान छ र तिनीहर मेघौलीतर्फबाट निकुञ्जमा प्रवेश गरिरहेका छन्। दुई–तीन वर्षअगाडि गैँडा केसमा पूर्वी चितवनका झलेन्द्र गुरूङ र अनिल घिसिङ मारिएपछि मेघौलीतिरका केही मान्छेहरु डराएर भारत भागेका थिए। तिनैमान्छे दुई–तीन महिनादेखि गाउँमा देखिन थालेको सूचना हामीले पाएका थियौँ। त्यसैका आधारमा २०६२ मंसिर दोस्रो हप्ता हामी एउटा टोली लिएर मेघौलीतर्फ गयौँ।

त्यो दिन जितपुरको स्कुलमा सांस्कृतिक कार्यक्रम रहेछ। सुराकीले सूर्यबहादुर कुमाल (पटके कृष्णे) र वीरबहादुर कुमाललाई एकसाथ त्यहीँ समात्नुपर्छ भनेको थियो। तर उसले कार्यक्रमको यकिन समय बताएको थिएन। हामी पुग्दा कार्यक्रम सकिइसकेको थियो। तिनीहरु भेटिएनन्। अर्को दिन मलाई खबर आयो, उनीहरु घरमै छन् भन्ने। त्यसका लागि बाघमारा पोस्टको सहयोग लिनु सजिलो हुन्थ्यो। बाघमारातर्फ सिकारीको चलखेल बढेकाले सैनिक पोस्ट राखिएको थियो र नवलपरासीको अमलटारी सेक्टरबाट रेन्जरलाई पनि त्यहाँ खटाइएको थियो। मैले बाघमारा गएर लप्टन र रेन्जरसँग कुरा गरेँ र अपरेसनको तयारीपछि कसरा फर्कें। तर त्यस दिन अपरेसन भएनछ। दिउँसो पारि गाउँमा गएको सिनियर गेमस्काउट राति अबेर आएपछि लप्टनले ‘मलाई शंका लाग्यो; कुनै खतरा हुन सक्छ; म जान्नँ’ भन्दिएछन्। त्यसपछि त्यो एरियामा लामो समयसम्मगैँडा चोरी सिकारको घटना नभएकाले हाम्रो ध्यान त्यहाँ केन्द्रित भएन।

कमलजङ्ग कुँवर

प्रतिक्रिया दिनुहोस

web
analytics