यती एअरलाईन्स शून्य कार्बनको यात्रा गर्दै



यती एअरलाइन्सले कार्बन तटस्थ एअरलाइनसको रूपमा आफूलाई परिवर्तन गर्ने घोषणा गरेको छ । संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडीपी) को सहभागितामा उक्त एअरलाईन्सले कार्बन तटस्थ एअरलाईन्सका रूपमा आफुलाई रूपान्तरण गर्ने औपचारिक कार्यको थालनी गरेको हो ।

नेपाल नागरिक उड्डयन प्राधिकरण, नागरिक समाज र निजी क्षेत्रका संघसंस्थाको उपस्थितिमा भएको एक कार्यक्रमका बिच यती एअरलाईन्सले विगत एक वर्षमा हरित गृह ग्याँस उत्सर्जन गरेको प्रतिवेदन पेश गर्नुका साथै न्यून कार्बन उत्सर्जन र कार्बन अफसेट का योजना प्रस्तुत गरेको छ । नेपालको उडड्यन क्षेत्रमा यतिले गरेको यस किसिमको पहिलो अभ्यासले हवाईयात्रा, सवारी साधन र वायुसेवासँग सम्बन्धित संचालनबाट उत्सर्जन हुने हरित गृह ग्यांसको अध्ययन गरेको थियो ।

यती एअरलाईन्सका प्रमुख कार्यकारी अधिकृत उमेशचन्द्र राईले प्राधिकरण र युएनडीपीको सहयोगमा यती एअरलाईन्स कार्बन तटस्थताको दिशामा अघि बढ्न सफल भएकोमा खुसी व्यक्त गरे । यस्तो अभ्यास नेपालमा पहिलो भएको ठहर गर्दै न्यून कार्बन पथमा अघि बढेको आफ्नो यात्रामा सबै सरोकारवालाहरुलाई सहयोग गर्न राईले आग्रह गरेका छन् ।

युएनडीपीका प्रमुख रेनोड मेयरले यती एअरलाईन्सले आफुलाई जलवायु तटस्थ संस्थाका रूपमा रूपान्तरण गर्ने प्रतिबद्धतालाई स्वागत गर्दै यस कार्यले अन्य कम्पनीहरूलाई पनि दिगो विकासका लक्ष्य प्राप्त गर्ने दिशामा उन्मूख गराउने बताए । प्राधिकरणका महानिर्देशक सञ्जिब गौतमले यतीको यस कार्यले उड्डयन क्षेत्रलाई वातावरण मैत्री बनाउने तथा हरित गृह ग्याँस कम गर्ने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतिबद्धतामा ठोस योगदान पुर्‍याउने उल्लेख गरेका छन् ।

कार्यक्रममा सार्वजनिक गरिएको प्रारम्भिक तथ्याङक अनुसार सन् २०१७ मा यती एअरलाईन्सले १८,१३३ टन कार्बन उत्सर्जन गरेको छ । यसको मुख्यश्रोत भनेको एअरलाईन्सको वायु यानहरूले प्रयोग गर्ने इन्धन नै हो । उक्त उत्सर्जनको मात्रा करिब ४ लाख ७० हजार रुख बिरुवाले दश वर्षसम्म सिञ्चित गर्ने कार्बन बराबर हुनेछ । अध्ययनले यतीको नयाँ वायुयान थपसँगै गत वर्षभन्दा सन् २०१७ मा प्रतियात्रु ७ प्रतिशत र प्रति कि।मी। ११ प्रतिशत कार्बन उत्सर्जन घटेको पाइएको छ ।

प्रमुख कार्यकारी अधिकृत राईका अनुसार यतीले भविष्यमा न्यूनकार्बन उत्सर्जन गर्नका लागि कम इन्धन खपत हुने हवाइमार्गसंगै वायु यान थप्ने, कर्मचारीको दक्षता अभिवृद्धि गर्ने र वायु यानमा प्रयोग हुने सामानहरूको भार घटाउनेमा जोड दिइनेछ । यसका साथै कमगर्न नसकिने कार्बन उत्सर्जनलाई संयुक्त राष्ट्रसंघीय मान्यता प्राप्त जलवायु परिवर्तन सम्बन्धी न्यूनीकरण र दिगो विकासका कार्यक्रमबाट कार्बन क्रेडिट खरिद गरेर कार्बन अफसेट गर्ने र २०१८ भित्र कार्बन तटस्थ कम्पनीमा रूपान्तरण हुने लक्ष्य लिएको राईले बताए ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics