सिमसार क्षेत्रको संरक्षण र व्यवस्थापन गरौँ : मन्त्री पाण्डे



वन तथा भू–संरक्षण मन्त्री विक्रम पाण्डेले सिमसारको संरक्षण र व्यवस्थापनमा ध्यान दिनुपर्ने सुझाव दिएका छन् । सिमसार दिवसको अवसर पारेर मन्त्री पाण्डेले सिमसारको संरक्षण र व्यवस्थापन गरी आउने पुस्ताका लागि भविष्य सुरक्षित गर्नुपर्ने उनको कथन थियो ।

मन्त्री पाण्डेले संविधानमा भएको अधिकारको बाँडफाँड र बिज्ञको सुझावको आधारमा राष्ट्रिय सिमसार नीति २०६९ लाई संशोधन गर्नुपर्ने कुरामा जोड दिए ।

वन तथा भू–संरक्षण राज्यमन्त्री कमलादेवी शर्माले सिमसारको संरक्षणका लागि देखापरेका चुनौतीहरूलाई समाधान गर्ने खालका कार्यक्रम तयार पारी कार्यान्वयन गर्नुपर्ने सुझाव दिइन् ।

वन तथा भू–संरक्षण मन्त्रालयका सचिव डा युवकध्वज जीसीले जैविक एवं पर्यावरणीय संरक्षणको दृष्टिकोणले मात्र नभई सर्वसाधारणको आर्थिक, सामाजिक तथा सांस्कृतिक दृष्टिकोणले पनि सिमसार क्षेत्र निक्कै महत्वपूर्ण क्षेत्रको रुपमा औल्याए । उनले भने, ‘सिमसार संरक्षण र दिगो व्यवस्थापनमा सरकारी निकाय, स्थानीय निकाय र गैरसरकारी संघसंस्था सबैको समन्वय र साझेदारी हुनुपर्छ । भावि सन्तती र पुस्तालाई जोगाउन पनि सिमसार क्षेत्रको संरक्षण गर्नुपर्छ ।’

कार्यक्रममा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागका महानिर्देशक मनबहादुर खड्काले राष्ट्रिय र अन्तरष्ट्रिय नीति अनुरूप सिमसारको संरक्षण र व्यवस्थापनमा कटिबद्ध रहनुपर्ने बताए ।

नेपालमा गोही संरक्षण कार्यलाई प्रभावकारी बनाउने उद्देश्यले तयार गरिएको गोही संरक्षण कार्ययोजना उक्त कार्यक्रममा विमोचन गरिएको थियो ।

विगत चार दशक भन्दा लामो समय नेपालको चरा संरक्षणमा विशेष योगदान पुर्‍याउने बेलायती नागरिक क्यारोल इन्सकिपलाई विशेष सम्मान गरिएको थियो ।

शुक्रबार विश्वभर नै ‘दिगो सहरी भविष्यका लागि सिमसार’भन्ने नाराका साथ २२ औं विश्व सिमसार दिवस मनाइँदै छ ।

हरेक वर्ष फ्रेबुअरी २ मा विश्व सिमसार दिवस मनाइन्छ । विश्वभरका करिब १ सय ६९ देशका करिब २ हजार २ सय २५ सिमसार क्षेत्रहरू रामसार सुचिमा सुचिकृत छ । जसमध्ये नेपालका १० वटा क्षेत्रहरु रामसार सुचिमा सुचिकृत भएका छन् ।

सिमसारको संरक्षण र यसको महत्वका बारेमा जनचेतना फैलाउने उद्देश्यले सन् १९७१ को फेब्रुअरी २ तारिाखका दिन रामसार महासन्धी स्थापना गरिएको थियो । औपचारिक रूपमा नेपाल सन् १९८७ मा यस महासन्धीको सदस्य भएको हो भने सन् १९९१ देखि नेपालले यो दिवस मनाउन थालेको हो ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics