रगत चुहिँदै गरेको गैँडा वेबसाइटमा



गैंडालाई चार वर्ष’ गैंडासम्बन्धी कमलजङ्ग कुँवरद्धारा लिखित पुस्तक हो । यो पुस्तक वि.सं २०६६ साउन महिनामा ‘चित्रबहादुर कुँवर स्मृति गैँडा संरक्षण प्रतिष्ठान’ ले प्रकाशनगरी बजारमा ल्याएको थियो । यो पुस्तक हामीले प्रत्येक शनिबार नेचर खबरअनलाइनबाट प्रकाशित गर्दै आइरहेका छौँ । पढौँ पुस्तकको ३२ औं अंश –

मृत गैँडा वेबसाइटमा

२०६२ साल दसैँताकाको एउटा घटना मेरो मनमा गडेर बसेको थियो। दसैँको भोलिपल्ट टीका थापेर अफिस पुगेको दिन साँझतिर मचान होटलबाट खबर आयो— अपराह्न साढे चार बजे सिकारीले गोली पड्काएको सुनिएको थियो; खोज्न जाँदा गैँडा मारेर खाग लगेको पाइयो। घटना भएको झन्डै दुई घण्टा बितिसकेको र कसराबाट सुनाचुरी पुग्न करिब तीन घण्टा लाग्ने हुँदा विष्णुजी र मैले भोलिपल्ट मात्र त्यता जाने सल्लाह गर्‍यौँ। हामी भोलिपल्ट बिहानै सुनाचुरीतर्फ लाग्यौँ। विष्णुजीले ब्यारेकमा कर्णेललाई खबर गर्दा सैनिक टोली खगेन्द्रमल्ली पोस्टबाट सीधै घटनास्थल पुग्ने भनिएको रहेछ। हाम्रो गाडी राप्ती खोला नतर्ने भएकाले मचान रिसोर्टले अर्को गाडीको व्यवस्था गरिदिएको थियो। गाडीबाट झरेर हामी हात्तीमा घटनास्थलतर्फ लाग्यौँ। म बसेको हात्तीमा होटलका एक नेपाली गेस्ट पनि थिए। गैँडा मरेको चिन्ताले पिरोलिरहेकाले मैले उनीसँग कुराकानी गर्न चाहिनँ। आधा घण्टापछि गैँडा मरेको ठाउँ पुग्यौँ। करिब पाँच–छ वर्षको भाले गैँडा थियो, खाग र पुच्छर काटिएको। नजिकै पानीको घोल थियो; त्यही घोलमा बसेको गैँडालाई उत्तरतर्फ रहेको कुटमेराको रुखमा बसेर पातामा गोली हानिएको रहेछ। गैँडा छटपटाउँदै पूर्व गएर पुनः पश्चिम आएको रहेछ। सिकारीहरुले रुख चढ्दा भाँचेको हाँगा, बसेको ठाउँ प्रस्टै देखिन्थ्यो।

हामीले पोस्टमार्टमका लागि नाप–जाँच गर्‍यौँ र शरीर काटेर गोली निकाल्यौँ। फलामको गोलो गोली थियो। यसबाट भरूवा बन्दुक प्रयोग भएको प्रस्ट हुन्थ्यो। घटनास्थल वरपर हेर्‍यौँ। भाग्दा एउटाको चप्पल छुटेको थियो। नीलो रङ्गको, म्याजिक ब्रान्डको। चोरी सिकारीहरु पश्चिमतर्फ गएका पाइलाहरु प्रस्ट थिए। बारूद पोको पारेको कपडाको टालो पनि त्यहीँ फ्याँकिएको थियो। हामीले घटनास्थल र लासको फोटो र भिडियो खिच्यौँ। त्यति बेलासम्म पनि खगेन्द्रमल्लीबाट सैनिक टोली आइपुगेन। काम सकिएपछि हामी रिसोर्ट फर्कियौँ। त्यहाँका साथीहरुले हामीलाई खाना खुवाउनुभयो र गैँडा मरेकामा ठूलो दुःखमनाउ गर्नुभयो। अघि मसँग एउटै हात्तीमा जाने साथीले ‘म पत्रकार राजेन्द्रबहादुर सिंह’ भन्दै मेरो परिचय मागे। मैले सोचेँ— उनी पनि पत्रकारितासँग सम्बन्धित रहेछन्। हिजो नै एउटी स्विडिस जर्नालिस्टले पनि मृत गैँडाको फोटो खिचेकी थिइन् भन्ने मैले सुनेको थिएँ। रगत चुहिँदै गरेको मृत गैँडाको फोटोसहितको समाचार वेबसाइटमा आएछ। जताततै हल्लीखल्ली भयो। मन्त्री सलिम मियाँ अन्सारीले महानिर्देशक डा. तीर्थमान सरलाई हकारेछन्– ‘खै, चितवनमा वार्डेन नै छैन रैछ; गैँडा मरेको ठाउँमा कोही जाँदा पनि गएन रे, के चाला हो?’ तीर्थमान सरले मलाई फोन गर्नुभयो; मैले सबै यथार्थ बताइदिएँ। उहाँले भन्नुभयो– ‘मलाई थाहा छ, कसरी यो कुरा मन्त्रीसम्म पुग्यो भनेर। मन्त्रीले मलाई बेकारमा हकार्‍यो।’ भएको के रहेछ भने, कर्णेल अजितलाई म अफिस आएको र घटनास्थल गएको थाहै रहेनछ। उसैले कुरा लगाएछ राजाका सल्लाहकार, प्रभुशमशेर भनिने प्रभुराजालाई, अनि प्रभुराजाले थर्काएका रहेछन् मन्त्रीलाई। पछि मन्त्रीले रिपोर्ट मगाए। हामीले मुचुल्काको फोटोकपीसहितको प्रतिवेदन विभागमा पठाइदियौँ। त्यो हेरेर मन्त्रीले भनेछन्– ‘कमलजङ्ग कँुवरले मुचुल्कामा अगाडिको मिति राखेर पठायो।’ अनि विष्णुजीले रिसाउँदै त्यहाँ खिचिएको फोटोसमेत राखेर पुनः अर्को प्रतिवेदन पठाउनुभयो। फोटामा मिति स्पष्ट थियो। त्यसपछि मन्त्रीले त्यसबारे थप केही सोधेनन्।

ममा त्यो घटनाले एक प्रकारको इख जन्माएको थियो। जसरी पनि त्यो मान्छेलाई पक्रेरै छाड्छु भन्ने अठोट गरेको थिएँ। त्यसका निम्ति सुराकीलाई विभिन्न आश्वासन र प्रलोभन दिएँ। पकेट खर्चका लागि राम्रै रकम दिएँ। उसले ‘छोराको स्कुलको शुल्क (फि) तिर्न बाँकी छ र दसैँमा खाएको ऋण तिर्नु छ’ भनेर थप पैसा माग्यो। त्यो पनि दिएँ। ऊ खुसी भयो। तर सुराकीको प्रयासका बाबजुद त्यो व्यक्तिलाई त्यस बेला पक्रन सकिएन र लामो समयसम्म बेपत्ता भयो। २०६२ चैत दोस्रो हप्ता त्यो मान्छे अर्थात् चन्द्रबहादुर मगर ‘आजकल घरतिर देखिन थालेको छ’ भन्ने खबर आयो। मैले सुराकीलाई भनेँ– ‘दिउँसै समातौँ; त्यही अनुसार मिलाउनू।’ १६ गते हामी पदमपुरको पदरू महतोलाई समात्न जाने तानाबाना बुन्दै थियौँ; यसैबीच फोन आयो– ‘चन्द्रबहादुर घरमै छ।’ हामी तुरून्तै सुनाचुरीतर्फ लाग्यौँ। सुराकी आफ्नो घरमा भेटिएन। उसकी श्रीमतीले पिप्लेतिर गएको बताइन्।

मैले सोधेँ– ‘चन्द्रबहादुर मगरलाई चिन्नुहुन्छ?’ ‘अँ।’ ‘कहाँनेर छ त्यसको घर?’ ‘धुबीचौर पिप्लेको पेट्रोल पम्पनजिकै होटल छ; त्यसको ठीक पछाडिपट्टि, उत्तर फर्केको फुसको घर हो।’ पेट्रोल पम्प पुगेर नजिकैको होटलमा हामीले सोध्यौँ– ‘चन्द्रबहादुर मगरलाई चिन्नुहुन्छ?’ ‘खै, हामी त चिन्दैनौँ।’ स्कुले विद्यार्थी आए। साहुनीले उनीहरुसँग सोधिन्– ‘चन्द्रबहादुरको घर कहाँ हो?’ एउटा विद्यार्थीले औँलो तेस्र्यायो– ‘उः त्यही हो।’ ‘तिमी चन्द्रबहादुरलाई चिन्छौ?’ ‘चिन्छु।’ ‘कहाँ छ?’ ‘उः त्यो घरअगाडि दुई–तीन जना मान्छे छन् नि, तीमध्ये उभिएको, छत्री भएको टोपी लगाउने हो,’ उसले भन्यो– ‘रातो गन्जी लगाएको छ।’ अनि उसले सोध्यो– ‘किन र?’ मैले भनेँ– ‘हामी उसको गाउँबाट आएका, भेट्ने काम थियो।’मैले साथीहरुलाई अर्को बाटाबाट आउन भनेँ। त्यो दिन रेन्जर रितेशभूषण बस्नेत पहिलो पटक एन्टी–पोचिद्ध अपरेसनमा सहभागी हुँदै हुनुहुन्थ्यो।

गेमस्काउट नागेश्वर चौधरी र मचाहिँ चन्द्रबहादुरको घर जाने सीधा बाटो लाग्यौँ। उसकी श्रीमती आँगनमा केही काम गर्दै थिइन्। ऊ भने पल्लो घरमा अरु मान्छेसँग उभिएर गफ गर्दै थियो। मैले बहाना बनाएँ– ‘हामी राप्तीको ड्याक समितिसँग कुराकानी गर्न आएका, अध्यक्षज्यूको घर कुन हो?’ उसले भन्यो– ‘ड्याक समितिको त थाहा छैन, मध्यवर्ती क्षेत्रको सदस्यको घर उः पर हो।’ ‘मध्यवर्ती क्षेत्रको भए पनि हुन्छ। आउनुस् न, घर देखाइदिनुस्।’ ऊ लुरूलुरू आयो। अनि घरअगाडि आएर ‘कपडा लगाउँछु’ भनेर भित्र जान खोज्यो। मलाई घरभित्र पसेपछि ऊ भाग्ला अथवा हतियार लिएर आउला भन्ने शंका लाग्यो। अनि ‘हामी तिमीलाई लिन आएको, ल हिँड’ भनेर त्यहीँ पछाडिबाट मैले उसको टिसर्टको कलर समातेँ। ऊ मभन्दा बलियो थियो; मेरो हात मर्काउन खोज्यो। मान्छेलाई पछाडिबाट कलरमा समात्दा फुत्कन खोज्यो भने पाइन्ट वा कट्टुको पछाडिबाट समात्नुपर्छ भन्ने मलाई थाहा थियो। मैले उसको कट्टुको पछाडि समातेँ। जोरले समात्दा मेरो साइँली औँलो अन्तिम आँख्लाबाट दोब्रिएछ; पछि मात्र थाहा पाएँ।

नजिकै नागेश्वर थियो; उसले पाखुरामा समात्यो। हामीले तानातान गरेको देखेर रितेशभूषण दौडँदै आउनुभयो र उसलाई समात्नुभयो। ऊ उम्किन भरमग्दुर बल गरिरहेको थियो र अरु गाउँलेलाई बोलाउँदै थियो। श्रीमती अर्कोतर्फबाट तान्दै थिई। रितेशजीले झ्वाँक्किएर झन्डै मुड्कीले हान्नुभएको। उसलाई तान्दै हामीले बाटातर्फ लग्यौँ। नहरबाट हिँड्नुपर्ने थियो। कान्लामा चार–पाँच जना हिँड्न नमिलेर अप्ठ्यारो भैरहेको थियो। ऊ कान्लाको अडेस लगाएर डेगै चलेन। मैले आफ्नो पेटी फुकालेर उसको कम्मरमा बाँध्न लगाएँ र अगाडिबाट तान्न थाल्यौँ। हामी चार जनालाई उसले थकाइसकेको थियो र ऊ पनि थाकिसकेको थियो। बल्लतल्ल बाटामा गाडीछेउ पुयायौँ। ऊ त्यहाँ भेला भएका अरु मान्छेसँग छुटाइदिन मदत मागिरहेको थियो। हामीले उनीहरुलाई मदत नगर्नुहोला भनेर सम्झायौँ।

गाडीमा राख्न खोज्दा उसकी श्रीमती ‘म पनि जान्छु’ भनेर ढिपी गर्न थाली। मैले सम्झेँ— प्रेम विककी श्रीमतीले ‘म पनि जान्छु’ भन्दा हामीले लगेनौँ, तर ऊ पनि खाग बोक्न श्रीमान्लाई सघाउँदी रहिछ भन्ने पछि थाहा भयो। त्यसैले चन्द्रेकी श्रीमतीलाई पनि हामीले गाडीमा चढायौँ। ऊ ‘मेरा दुई बच्चालाई पनि सँगै लान्छु’ भन्न थाली। हामी सबलाई लिएर सौराहातर्फ लाग्यौँ। त्यहाँ पुगेपछि बच्चालाई चिउरा र दालमोठ ल्याइदियौँ। के थाहा ती अन्जान बच्चालाई कहाँ आइपुग्यौँ भनेर! रमाइलो मानेर खाए। उनीहरुलाई सौराहामा छाडेर हामी पदरू महतोलाई पक्रन भरतपुरतिर लाग्यौँ। ऊ घरको ढलान गर्ने काममा गएको छ र काम सकिएपछि साँझ एउटा रिजर्भ मिनी बसमा फर्कन्छ भनेर त्यसको नम्बर दिइएको थियो। हामीले त्यो बस रोकेर चेक गर्नु थियो। उसलाई चिन्ने मान्छे हामीसँगै थियो। तर हामी टिकौलीको जङ्गलको बीचतिर पुग्दा मेरो मोबाइलमा घन्टी बज्यो। नम्बर सौराहा अफिसको थियो। उताबाट रेन्जर प्रमोद यादवजीले भन्नुभयो– ‘केरकार गर्दा चन्द्रबहादुरले दुइटा बन्दुक निकुञ्जमा लुकाएको बताएको छ। उसको एउटा साथी आजसम्म आफ्नै घरमा छ रे। मलाई समातेको थाहा पायो भने भाग्न सक्छ, आजै जाऊँ भनिराखेको छ।’ हामी पदरूलाई समात्ने योजना स्थगित गरेर त्यहीँबाट गाडी फर्काई सौराहातर्फ लाग्यौँ। सौराहाबाट चन्द्रबहादुरलाई लिएर र अरु एक–दुई साथीसमेत थपेर हाम्रो टोली मनहरीतर्फ लाग्यो। यस पटक हामीले हतकडी पनि बोकेका थियौँ। उसको भान्जो रहेछ अर्को सिकारी। त्यसको घर राजमार्गबाटै देखिन्थ्यो र घरमा भएका मान्छेको गतिविधि पनि सडकबाटै देख्न सकिन्थ्यो। हामीले त्यहाँ चन्द्रबहादुरले बताएको हुलिया बमोजिमको मान्छे छ÷छैन भनेर चियो ग¥यौँ। तर विभिन्न कोणबाट धेरै पटक हेर्दा पनि त्यहाँ त्यस्तो मान्छे देखा परेन।

राति अबेर भैसकेको र माओवादीले ‘वाच’ गर्न सक्ने भएकाले हामी रित्तै फक्र्यौं। सुनाचुरीको मचान होटल पुगेर मैले चिफ वार्डेन टीकाराम अधिकारीलाई फोनबाट घटनाको रिपोर्टिङ गरेँ र भनेँ– ‘चन्द्रबहादुरले भोलि बन्दुक देखाउँछु भनेको छ र राति अरु दुई जनालाई छापा मारेर पक्रनु छ। आर्मीसँग संयुक्त अपरेसनमा जानुपर्ला।’ उहाँले ‘हुन्छ’ भन्नुभयो र मलाई नै कर्णेलसँग कुरा गर्न अ¥हाउनुभयो। कर्णेललाई फोन गर्दा उनले सोधे– ‘तपाईं कहाँ हुनुहुन्छ?’ ‘म सुनाचुरी पोस्टमा, अहिले मचान होटलको फोनबाट बोलेको।’ ‘मलाई त्यो मचान होटलबाट भनेपछि मन परेन। त्यहाँबाट किन फोन गरेको?’ ‘यहाँ अरु फोन छैन। राति छ; अन्त गएर फोन गर्ने अवस्था छैन।’ ‘मलाई मचान होटलप्रति शद्ध्का छ। मैले भन्दिएको छु, मलाई त्यो होटल मन पर्दैन।’ मैले नम्रतापूर्वक भनेँ– ‘जसरी पनि हामीले अपरेसन गर्नुपर्ने भएकाले आर्मीको सहयोग हुनुपर्‍यो।’ उसले ‘खगेन्द्रमल्लीमा भन्दिन्छु; त्यहीँ गएर ल्याउनू’ भन्यो। बिहानको बिहानै त्यहाँ पुगेर फर्कन सम्भव थिएन। मैले त्यही बताइदिएँ र भनेँ– ‘आर्मीको टोली आयो भने बन्दुक खोज्न जान सजिलो हुन्थ्यो। म मनहरीचाहिँ अरु साथीहरु मात्र लिएर जाउँला।’ हामी चैत १७ गते बिहानै उठेर मनहरी गयौँ। इलाका वन कार्यालयका कर्मचारी साथीहरुसँग सहयोग माग्दा उनीहरु डराए। चन्द्रेको भान्जाको ग्याङ बन्दुक बनाउन सिपालु रहेछ; तिनीहरुले थुप्रै बन्दुक बनाएर माओवादीलाई समेत दिएका रहेछन्। त्यसैले ‘तिनीहरु त खतरनाक छन्’ भनेर साथीहरु पछि हटे। हामी पुनः हिजोकै ठाउँमा चियो गर्न थाल्यौँ। ‘घरमा उसको भाइ मात्र छ; त्यो पनि राप्तीपारि प्रतापपुर गाउँमा गएको छ’ भन्ने खबर आइपुग्यो। चन्द्रेले ‘भाइ पनि हो गैँडा मार्न जाने’ भन्यो। अब हामीले दुवै दाजुभाइलाई समात्नुपर्ने भयो। उनीहरुको घरनजिकै पर्सा वन्यजन्तु आरक्षका स्टाफहरु डेरा लिएर बस्दा रहेछन्। हामी त्यहाँको पसलमा चिया खान जाँदा उनीहरु भेटिए। अरु मान्छेले शंका गर्लान् भनेर मैले उनीहरुलाई नबोल्न इसारा गरेँ। उनीहरु छक्क परे। निकै बेर बस्दा पनि खोजेका मान्छेहरुको पत्तो लागेन।

हामी मनहरीमा खाना खाएर मचान होटल फर्कियौँ। सेनाको कुनै टोली त्यहाँ आएको थिएन। त्यसपछि चन्द्रबहादुरले बन्दुक लुकाएको भनेको स्थानतर्फ लाग्यौँ। होटलबाट पश्चिमतर्फ करिब पन्ध्र–बीस मिनेट गाडीमा गएपछि फायरलाइनबाट पाँच मिनेट दक्षिणतर्फ रहेको गोरेटामा पुग्यौँ। उसले एकातिर देखाउँदै भन्यो– ‘हामीलाई यहाँ राखेर भान्जा बन्दुक लुकाउन ऊ त्यता गएको थियो। पाँच–दस मिनेटपछि आयो र भन्यो– मामा, मैले बन्दुक रुखको धोद्रामा लुकाएको छु। त्यसपछि हामी यहाँबाट फर्केका हौँ।’ हामी उसले देखाएको दिशातर्फ गएर बन्दुक खोज्न थाल्यौँ। त्यहाँ थुप्रै ढलेका रुख थिए। तिनै रुखका धोद्राहरु हेर्दै, लौराले धोद्राको प्वालमा घोच्दै अगाडि बढ्यौँ। उसलाई पनि ठ्याक्कै यही रुखमा लुकाएको हो भन्ने थाहा थिएन। सिकारी ग्याङको एउटा सदस्यले अर्कालाई बन्दुक राखेको ठाउँ प्रायः देखाउने गर्दैन। धेरै समय खोजेपछि गेमस्काउट नागेश्वर उत्तेजित हुँदै करायो– ‘पाइयो, पाइयो। मेरै भागमा लेखेको रहेछ भेट्ने।’ हामी सबै त्यतै लाग्यौँ। एउटा लडेको रुखको फेदको प्वालबाट दुइटा भरूवा बन्दुक, बन्चरो, बारूद, सलाई, फलामका गोलीहरुसहितको खरखजाना बाहिर निकाल्यो नागेश्वरले। मैले केही पोज फोटो खिचेँ। सबै जना खुसी देखिन्थे बन्दुक भेटिएकामा। सिकारीहरुले त्यो बन्दुक केही दिनमै अर्को गैँडा मार्न प्रयोग गर्नेवाला थिए। अब कम्तीमा तिनै दुई बन्दुकबाट चाहिँ थप गैँडा नमर्ने कुरामा हामी ढुक्क थियौँ। म सोच्दै थिएँ— दुइटा बन्दुक निष्क्रिय पारिए। तर अरु थुप्रै बन्दुक बाँकी नै छन्। बन्दुकबाट भन्दा पनि बन्दुकधारीबाट गैँडा जोगाउनु जरूरी छ। बन्दुक त जहाँबाट पनि खोजेर ल्याइहाल्छन्। कतिले त आफैँ पनि बनाउने गर्छन्।

हामी त्यहाँबाट सुनाचुरी पोस्ट फर्कियौँ। मैले मचान होटलका लोकजीलाई भनेँ– ‘हामीले बन्दुक पनि बरामद गर्‍यौँ। तपाईंहरुमाथि लागेको आरोप र शंका पनि निवारण भयो।’ अनि चिफ वार्डेन टीकाराम अधिकारीलाई फोनबाट बन्दुक बरामद गरेको खबर दिएँ र भनेँ– ‘आर्मी आएन। कर्णेलले मेरो टोली नभई कसरी बन्दुक बरामद गर्‍यो भन्न सक्छ; सरले कुरा मिलाउनुहोला।’ नभन्दै कर्णेलले त्यसै भनेछ। उसले ‘बन्दुक किन र कसरी निकाल्यो त्यहाँबाट? हाम्रो टोली स्ट्यान्डबाई थियो, किन लगिएन?’ भनेको बेलुका चिफ वार्डेनले मलाई बताउनुभयो। उहाँले थप्नुभयो– ‘शिवराज सर भन्नुहुन्थ्यो– कँुवरजी र कर्णेलको बीच समन्वय गर्दागर्दै थाकिसकेँ म त।’ म पनि कर्णेलको व्यवहारबाट कम दिक्क कहाँ थिएँ र!

कमलजङ्ग कुँवर

प्रतिक्रिया दिनुहोस

web
analytics