पिउने पानीको चर्को अभाव



धादिङ, गल्छी गाउँपालिकाको ४२ वर्षिय राममाया गैरेको जीवनमा भूकम्पपछि थप पीडा थपिएको छ । उनी भन्छिन् ,‘भूकम्पले खानेपानीको भएको मुहान पनि सुक्यो । पानीको श्रोत नै सुकेपछि मानसिक रूपमा थप पीडा थपियो । न मर्नुजस्तो भएको छ, न बाँच्नुजस्तो भएको छ । जति बेला पनि पानीकै समस्याले मानसिक रूपमा पीडा दिन थालेको छ ।’

शनिबार एक घन्टा हिडेर तल्लो आदमखोलामा लुगा धुन जाँदा घरको अन्य घरायसी काम नै प्रभावित भएको गैरेको अनुभव छ ।



उनी मात्र नभएर धाडिङ, गल्छी गाउँपालिका वडा नम्बर २ का करिब ३१ घरका स्थानियले पछिल्लो समयमा पानीको यस्तो समस्या व्यहोर्न बाध्य भएका छन् । भूकम्पपछि यो ठाउँको दैनिकी नै फेरिएको छ । अहिले बिहान बेलुका पानीका लागि सिमल डाँडा र आदम डाँडाको बीचमा रहेको डुम्रे डाँडाबाट पाइपमार्फत आउने पानीको भरपर्नु परेको स्थानीयबासीको कथन छ ।



यो पानीको पनि भर छैन । कहिले आउँछ । कहिले आउँदैन । मुस्किलले सबैलाई बल्लतल्ल दुई ग्रागी जति पानी भाग लाग्छ । दुई ग्रागी पानी पिउन पनि पुग्दैन ।
खानलाई जसो तसो पानीको गर्जो टरेको छ । तर दिनभर हुने घरायसी काम, नुहाउने, लुगा धुनेलगायतका काम भने पूर्ण रूपमा प्रभावित बनेको छ । झन् कृषिजन्य कामको कुरा परको भएको उनीहरूको भनाई छ । पानीको अभावमा दुई वर्षदेखि आफ्नै घरवरिपरी लुगा धुन पनि पाइएको छैंन् साताको एक पटक एक घण्टा हिडेर लुगा धुन आदम खोला पुग्नुपर्ने अर्को पीडा थपिएको छ ।


सिमल डाँडा ‘शार्की गाँउ’ मा पिउने पानी समेत छैन । २०७२ साल बैशाख १२ गते गएको भूकम्पले मुहान सुकेपछि अहिले स्थानीयबासीलाई पानीको चर्को अभाव भएको छ । ‘यो गाउँमा कृषिको राम्रो सम्भावना छ । तर के गर्नुे पानी पिउने त मुस्किल छ । कृषिकर्म त परै जाओस् । ,’ स्थानिय काली बहादुर बिशुन्खेले भने।

भूकम्पअघि गाउँमा आफ्नै गाउँ नजिक रहेको माथिल्लो पोखरीबाट पानीले पुग्ने गरेको स्थानिय बासी बताउँछन् । तर पहिले जस्तो रहेन । पानीको तनाव र अभावमा नै जीवन बिताउन बाध्य भएका छन्, स्थानीयबासी ।



डोको नेपालका कार्यक्रम अधिकृत श्याम दाहालले फिल्ड अध्ययनमा जाँदा यो ठाउँमा पानीको समस्या मुख्य समस्याको रूपमा देखापरेको जानकारी दिए ।

पानीको अभावले अहिले यहाँको कतिपय बासिन्दाले बसाइसराई गर्न सुरु गरेका छन् । यो बस्तिमा ३१ वटा घर छन् । जसमा करिब सय जना मानिसहरू बस्छन् । पानीको लागि आफ्नो गुनासो पोखे पनि कतैबाट अहिलेसम्म यसको लागि पहल नभएको स्थानियको गुनासो छ ।

तस्बिरहरु:स्वागत थापा

सुजाता कार्की

प्रतिक्रिया दिनुहोस

web
analytics