‘वाईडलाइफ टुरिजम’ बढाउन जंगलमा वाईफाई

A+ A-

एक वर्षअघि मकालु बरुण राष्ट्रिय निकुञ्जका गेमस्काउट राजबहादुर राई ५ हजार ५ सय मिटर अग्लो ठाउँमा रहेको कोठे भन्ने ठाउँमा थिए । एक्कासि उनलाई सास फेर्न नै निकै गाह्रो भयो । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक मनबहादुर खड्कालगायतका टोली पनि उनकै साथ थिए । सबै आत्तिए, अलमलमा परे । कहाँ कसलाई खबर गर्ने, कसरी गर्ने अलमल भयो । उद्धारका लागि तत्काल हेलिकप्टर बोलाउन पनि सकिएन । खबर गर्न ७ घण्टा हिँडेर लुक्ला आउनुपर्यो । धन्न चौंरी, भेडा गोठहरूमा प्राथमिक उपचार गराएर उद्धारको समयसम्म बचाइयो ।

५ महिना अघिमात्रै मकालु बरुण निकुञ्ज आसपासकै स्थानीय भालुको आक्रमणको शिकार भए । उद्धारका लागि सञ्चार गर्न पनि तत्काल सकिएन । यी त केही उदाहरण मात्रै हुन् । सञ्चारको कमीले समयमा नै उद्धार गर्न नसकिएको थुप्रै घटनाहरू छन् यस क्षेत्रमा । एक कल फोन गर्नकै लागि ७ घण्टा हिँडेर आउनुपर्ने बाध्यता छ । त्यै पनि वाइल्ड लाइफ पर्यटक नेपाल घुम्न आइरहेकै छन् । नेपाल भित्रने अधिकांश पर्यटकहरू हाम्रै प्राकृतिक सम्पदामा रमाउन आउँछन् । तर, सञ्चारको अभावले गर्दा कतिपय पर्यटक आउन चाहेर पनि आउन नसकेको अनुभव यस क्षेत्रमा संलग्नको छ ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्षहरू पर्यटन विकासका मुख्य सूचक हुन् । ईन्टरनेटको यो जमानामा आजका पर्यटकहरू फोटो खिचेर फेसबुकमा पोष्ट गर्न आतुर हुन्छन् । विदेशी पर्यटकलाई आफ्नो परिवारसँग कुरा गर्ने, त्यहाँको परिदृश्य भिडियो देखाउने चाहना हुन सक्छ । मनोरम प्राकृतिक दृश्यमा रमाउँदै आफ्ना प्रेमी प्रेमिकाहरूसँग गफ गर्दाको मज्जा अर्कै हुन सक्छ । इन्टरनेटको माध्यमबाट हाम्रा निकुञ्ज तथा आरक्षहरूको प्रचार संसारभर पुग्न सक्थ्यो ।

तर, भौगोलिक बिकटता र हामीजस्तो अल्पबिकसित राष्ट्रहरूमा हिमाली निकुञ्ज आरक्षमा संचारको सुविधा पु¥याउन भनेको आकासको फल आँखा तरी मर भने जस्तै भइरहेको छ । को पर्यटक कहाँ गए, को हराए, कहाँ छल्लिए, कोही बिरामी हुन सक्लान्, कोही वन्यजन्तुको आक्रमणको शिकार होलान् । तर कसरी गर्ने सञ्चार ?

सञ्चार प्रवाह समयमा नै हुन नसक्दा कुनै घटना भएपछि उद्धार गर्न कठिन हुने मानिसको ज्यानै जान सक्ने भएपछि सरकारले अब सबै निकुञ्ज र आरक्ष क्षेत्रहरूमा वाईफाईको सुविधा उपलब्ध गराउने भएको छ । वाइल्डलाईफ टुरिजम विकास र प्रवद्र्धनका लागि आजको जमानामा ईन्टरनेट सेवा अनिवार्य जस्तै भएकाले नेपाल टेलिकमसँग छलफल भइरहेको बताउँछन् राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक मनबहादुर खड्का । “कस्तो कहालिलाग्दो छ, कहिलेकसो फिल्डमा जाँदा पनि त्यहाँका हाम्रा कर्मचारीहरूको दुःख देख्छु साह्रै माया लागेर आउँछ, सञ्चार बिना धेरै गाह्रो हुने, अनि पर्यापर्यटकका लागि पनि उस्तै गाह्रो हुने सञ्चारको सुविधा नहुँदा,” उनले भने, “यो समय इन्टरनेटको हो, यसकारण हामीले सबै निकुञ्ज तथा आरक्षहरूमा वाईफाई सुविधा पुराउन कोसिस गरेका हौं, नेपाल टेलिकमसँग समन्वयका लागि छलफल भएको छ, उहाँहरू सकारात्मक हुनुहुन्छ ।”

खड्काका अनुसार गौरीशंकर संरक्षित क्षेत्र, कोसी टापु वन्यजन्तु आरक्ष, मकालु बरुण राष्ट्रिय निकुञ्जहरूमा सञ्चारको सुविधा छैन । निकुञ्ज तथा आरक्ष क्षेत्रमा जडान गरिएको वाईफाई निःशुल्क नभएको उनले बताए । मकालु बरुण राष्ट्रिय निकुञ्जका संरक्षित अधिकृत मनोज साहसँग पटक पटक प्रयास गर्दा पनि टेलिफोन सम्पर्क हुन सकेन । विभागले भने बरुण निकुञ्ज क्षेत्रमा टेलिफोन सम्पर्क समेत गाह्रो हुने भएकाले पर्यटक बिकासमा समस्या दिने बताएको छ ।

भ्रमण गर्न आउने पर्यटकहरू इन्टरनेटमा रमाउने भएकाले उनीहरूको सुविधाका लागि ईन्टरनेट आवश्यक रहेको बताउँछन् सगरमाथा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत (वार्डेन) प्रमोद भट्टराई । “यहाँ पनि कुनै क्षेत्रमा ईन्टरनेट राम्रो छैन, तर इन्टरनेट राम्रो भएको क्षेत्रमा पर्यटकहरू ईन्टरनेटसँगै प्राकृतिक दृश्यमा रमाइरहेका छन्,” उनी भन्छन्, “पर्यटकको सुविधा र विकासका लागि सबै क्षेत्रमा ईन्टरनेट राम्रो हुन आवश्यक छ ।” यद्यपि सरकारले संचारको सुविधा पुर्‍याउन भने ढिलाइ गर्नु हुदैन ।


कारोबार

प्रतिक्रिया दिनुहोस

web
analytics