राष्ट्रिय जल तथा मौसम सप्ताह मनाइदै



नेपालमा चैत्र ३ देखि ९ गतेसम्म सप्ताहब्यापी कार्यक्रमको आयोजना गरी विश्व पानी दिवस र विश्व मौसम दिवसको मनाउन लागिएको छ ।

मार्च २२, तारिखमा मनाइने विश्व पानी दिवस र मार्च २३ तारिखमा मनाइने विश्व मौसम दिवसको सन्दर्भ पारेर नेपालमा पनि राष्ट्रव्यापी रूपमा राष्ट्रिय जल तथा मौसम सप्ताह २०७४ मनाउन लागिएको हो।

सप्ताहब्यापी कार्यक्रमको लागि नेपाल सरकार, जल तथा उर्जा आयोगको सचिवालयको नेतृत्वमा नेपालका सरकारी तथा राष्ट्रिय र अन्तर्राष्ट्रिय गैह्र सरकारी संघ संस्था, निजी र प्राज्ञिक क्षेत्रका प्रतिनिधिहरू रहेने गरी राष्ट्रिय जल तथा मौसम सप्ताह आयोजक समिति गठन गरिएको छ । जल तथा उर्जा आयोगको सचिवालयका सचिव डा. रमेश प्रसाद सिंहको अध्यक्षतामा गठित यस आयोजक समिति मार्फत पानी र मौसम सम्बन्धि सप्ताहब्यापी विविध कार्यक्रमहरू आयोजना गर्न लागिएको हो ।

यो दिवसको मुख्य उद्देश्य स्वच्छ पानीको महत्वबारे जनचेतना फैलाउने र पानीको स्रोत र दिगो व्यवस्थापनबारे सर्वसाधारणदेखि नीति निर्माण तहसम्मको ध्यानाकर्षण गराउनु रहेको आयोजकले जनाएको छ ।

नेपाल राष्ट्रिय जल तथा मौसम सप्ताह आयोजक समितिले यसलाई “पानीको लागि प्रकृति”नारा दिएको छ । यो नाराले हाल विश्वले भोगिरहेको स्वच्छ पानीका लागि प्रकृतिमा आधारित समाधानहरूको सम्भावना प्रदर्शन गर्नेछ र कसरी पानी व्यवस्थापन नीति र अभ्यासको लागि प्रकृतिको उपयोग गर्न सकिन्छ भन्ने कुरालाई जोड दिएको छ ।प्रकृतिमा आधारित समाधानले हाम्रो पानीका थुप्रै चुनौतीहरू समाधान गर्न एक महत्वपूर्ण भूमिका निभाउन सक्ने देखिन्छ । वृक्षारोपण गरेर तथा नदी र सिमसार क्षेत्रको संरक्षण र पुनःस्थापना गरी जल चक्रलाई बलियो बनाई मानव स्वास्थ्य र आजीवीका सुधार गर्न सकिने सन्देश प्रवाह गर्न पनि यो सप्ताहव्यापी कार्यक्रम आयोजना गर्न लागिएको हो ।

विश्व मौसम दिवस २०१८ को लागि नारा “मौसम प्रति सचेत रहऔं, जलवायु अनुकूलन व्यवहार गरौँ”हो । यसले नीति निर्मातालाई मौसमीजन्य प्रकोप अनुकुलनका लागि समाजलाई तयार पार्न र सम्भावित जलवायु परिवर्तनका जोखिमहरूलाई न्युनीकरण गर्न प्रोत्साहन गर्ने छ ।

‘पानीका समस्या समाधानका लागि प्रकृति तर्फ फर्कौँ र मौसमप्रति सचेत रहँदै जलवायु अनुकूल व्यवहार गरौँ’ भन्ने सन्देशका साथ नेपाल राष्ट्रिय जल तथा मौसम सप्ताह २०७४ मनाइने भएको छ । पानी र नदी तथा जलाधारसम्बन्धि अध्ययन/अनुसन्धानका परिणामबारेसमेत छलफल गरिने आयोजकले बताएको छ ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics