अनाहकमा जेल…

A+ A-



गैंडालाई चार वर्ष’ गैंडासम्बन्धी कमलजङ्ग कुँवरद्धारा लिखित पुस्तक हो । यो पुस्तक वि.सं २०६६ साउन महिनामा ‘चित्रबहादुर कुँवर स्मृति गैँडा संरक्षण प्रतिष्ठान’ ले प्रकाशनगरी बजारमा ल्याएको थियो । यो पुस्तक हामीले प्रत्येक शनिबार नेचर खबरअनलाइनबाट प्रकाशित गर्दै आइरहेका छौँ । पढौँ पुस्तकको ३६ औं अंश –

अनाहकमा जेल

२०६२ भदौ २७ गते पुष्पे, गुप्ते र मदनाको तारेख थियो। मैले भने बमोजिम नै साथीहरुले उनीहरुलाई तारेखमा आउँदा कार्यालयमै पक्राउ गर्नुभएछ। त्यसपछि लक्ष्मण र मनिरामलाई पक्राउ गर्न जाँदा मनिराम भाग्न सफल भएछ। लक्ष्मणले उनीहरुले लुकाएर राखेको बन्दुक देखाइदिएछ। खाग टौवामा छ भनेछ तर तीन वटा टौवा खानतलासी गर्दा पनि भेटिएनछ।पछि थाहा भयो— त्यो खाग मनिरामले टौवाबाट निकालेर भगराको बाबु शिखाराम चौधरीको सामुन्नेमा उसैको घरपछाडि ट्वाइलेटछेउको सिसौको रुखको फेदमा गाडेछ र भागेर भारत गएछ। शिखारामले त्यो खाग निकालेर लुकाएछ।

यसैबीच मनिरामको ससुराले हामीलाई टाँडीमा भेटेको थियो। मैले उसलाई राम्ररी सम्झाएको थिएँ– ‘मनिराम आएर आफैँ हाजिर हुँदा राम्रो हुन्छ, नत्र एक दिन अवश्य पक्राउ पर्छ र बढी दुःख पाउँछ।’ त्यसपछि ऊ आफ्नो साढुदाइमार्फत हाम्रो कार्यालयमा आइपुग्यो।सुरूमा त उसले पनि इन्कार गर्‍यो, तर पछि कुरा खोल्यो। हामी उसलाई लिएर खाग खोज्न शिखारामको घर सिसवार गयौँ। उसले देखाएको ठाउँमा खोज्यौँ तर भेटिएन। त्यो दिन शिखारामलाई पनि पक्राउ गरेर लैजाने विचार थियो, तर ऊ त्यहाँ थिएन। हामी गाडीबाट झरेर सीधै सिसौको रुखछेउ गएका थियौँ, त्यही बेला ऊ आफ्नो घरबाट निस्केर भागेको रहेछ। मैले सोचेँ— वास्तै नगरे जस्तो गरेपछि आफैँ हामी भए ठाउँ आउँछ; त्यहीँ पक्रनुपर्ला। तर ऊ चलाख रहेछ; आउँदै आएन।

मनिरामले भनेको थियो– ‘खाग गाड्दा भगराको बाबु र भाइले देखेका थिए।’ त्यसै आधारमा खाग उनीहरुले नै निकालेर लगेको हुनुपर्छ भन्ने हामीले ठानेका थियौँ। मनिराम निकुञ्ज कार्यालयमा हाजिर भएको खबर गाउँमा पुगिसकेको थियो। त्यसले गाउँमा सबभन्दा बेचैन कोही थियो भने शिखाराम नै थियो। ऊ साइकल चढेर कहिले कालाबञ्जार मध्यवर्ती क्षेत्र उपभोक्ता समितिका अध्यक्ष अम्बरबहादुर तामाङ कहाँ पुग्थ्यो त कहिले कसकहाँ। शिखाराम कार्यालयमा खाग बुझाउन इच्छुक छ तर अध्यक्षले त्यसो गर्न दिइरहेको छैन भन्ने खबर मसम्म आइपुग्यो।

२०६३ जेठ १९ गते सुराकीले खबर दियो— शिखाराम घरमै छ। हामी त्यसै दिन बेलुका नारायणगढबाट गाडी चढेर त्यता लाग्यौँ। तर भगेडी पोस्टनजिकैको कल्भर्ट भत्किएकाले गाडी जान सकेन। हामी फर्कियौँ। २० गते नारायणगढमा अन्य काम सकेर अपराह्नतिर फेरि दिव्यनगरतर्फ गयौँ। शिखाराम खेतमा काम गर्न आएको छ भन्ने सूचना पाइयो। खेतमै
भेट्ने गरी जाँदा टाढैबाट देखेर मकैबारीमा छलिएर भाग्छ कि भन्ने पर्‍यो।दिनभरिको भोकले लखतरान थियौँ; ज्योतिनगर बजारनजिकैबाट लगेको खाजा भगेडी पोस्टमा पकाएर खाँदा बेलुका करिब छ बज्यो। त्यसपछि सिसवारतर्फ लाग्यौँ र गाउँभन्दा वरै गाडी रोक्यौँ। रेन्जर रितेशजी र भगेडी पोष्टका सिनियर गेमस्काउट शेषचन्द्र चौधरी पैदल गाउँतर्फ लागे।

हामी गाडीमै बस्यौँ। पूर्वतर्फको बाटाबाट कोदालो काँधमा हालेर दुई जना आए; मैले शिखारामलाई चिनिहालेँ। अनि उसलाई गाडीमा बसाल्न लगाएँ। गाउँबाट रितेशजीलाई समेत लिएर कार्यालय फर्कियौँ।त्यसै दिन बेलुका मनिरामलाई समेत राखेर शिखारामसँग सोधपुछ गरियो। उसले खाग उमाल्दा आफूले देखेको, खाग गाड्न खन्ती दिएको र गाडेको देखेको त स्वीकार गर्‍यो, तर अहिले खाग कहाँ छ त्यो भने थाहा छैन भन्ने भनाइ दोहोर्‍याइरह्यो। त्यो दिन केही नबताएपछि भोलिपल्ट उसलाई प्रतिवेदनसहित कार्यालयमा बुझाइयो। २१ गते पनि रितेशजीहरुले सोधपुछ गर्नुभएछ। त्यसपछि म आफ्ना अन्य कामतर्फ लागेँ; उसलाई भेट्दा पनि भेटिनँ र थप केरकार पनि गरिनँ।

जेलबाट धम्की

जेठ २५ गते बिहान आठ बजेतिर कञ्चनपुर, महेन्द्रनगरबाट सुराकीले फोन गरेर भन्यो– ‘२०५७ साल असार १३ गते निकुञ्जको देवनगर पोस्टको थुनाबाट भागेको मण्डल महतो कञ्चनपुरपारि भारतको भुस्वाभुराई भन्ने इलाकामा छ।’ मैले चिफ वार्डेन टीकाराम अधिकारीसँग यसबारे सल्लाह गरेँ। उहाँले सहमति दिएपछि गेमस्काउट विष्णु थापा, महेन्द्र थापा र ड्राइभर डिल्लीजङ्ग तामाङलाई लिएर कञ्चनपुर जाने तयारी गरेँ। टाढा जानुपर्ने, दुई–चार दिन लाग्ला भनेर श्रीमती र छोरालाई ससुराली छाडिदिने विचार गरेँ। सबैलाई लिएर नारायणगढतर्फ जाँदै थिएँ, सुन्दरबस्तीनजिक पुग्दा कारागारको नम्बरबाट फोन आयो।
मैले गाडी रोकेर ‘हेलो’ भनेँ।
उताबाट बोली आयो– ‘म रामचन्द्र अधिकारी बोलेको।’

उनी जेल परेका माओवादी कार्यकर्ता थिए। जेलमा मविरूद्ध तथानाम भन्नेमध्ये उनी पनि थिए। मैले भनेँ– ‘तपाईंहरु अझै छुट्नुभएको छैन? मैले त निक्लिसक्नुभयो होला भन्ठानेको।’

उनले टेढो भाकामा जबाफ फर्काए– ‘केही दिन यहीँ बस्नुपर्ने रहेछ, तपाईंहरुलाई ठीक पार्न।’

म अकमक्क परेँ। अनि उनले सोधे– ‘तपाईं कहाँ हुनुहुन्छ?’
मैले सही बताइनँ र भनेँ– ‘म अफिसतिरै छु।’
उनले भने– ‘भगराको बाबुलाई मरणासन्न हुने गरी कुटपिट गरिएको छ अरे, मलाई फोनमा कुरा गराउनुस्।’
मैले भनेँ– ‘म उसलाई भेटाउन अहिले असमर्थ छु।’
उनले मलाई आक्षेप लगाउँदै चर्का कुरा गर्न थाले। मैले ‘फोनमा भन्दा भेटेर कुराकानी गरौँ र हामीबीचका अस्पष्ट कुराहरुलाई स्पष्ट पारौँ’ भनेँ। कुरा हुँदाहुँदै फोन काटियो।

रामचन्द्रलाई निकुञ्जको कसरास्थित पुरानो गोरख गणले पक्राउ गरेको रहेछ। पछि उनलाई प्रहरीको जिम्मामा भरतपुर लगिएछ र राष्ट्रिय अनुसन्धान विभागका इन्स्पेक्टर भरतबहादुर खड्काको हत्या गरेको अभियोगमा जेल चलान गरिएको रहेछ। भरतजीलाई उनले पटक–पटक फोन गरेर बोलाउने गरेका रहेछन्। भरतजीले आफ्नो मिल्ने साथीलाई भनेका थिए रे– ‘मलाई रामचन्द्रले बोलाइराख्छ; बिताउँछ कि क्या हो?’ नभन्दै एक दिन उहाँलाई झुक्याएर बोलाइयो र नाबालक छोरासामुन्ने गोली हानी हत्या गरियो। त्यसको परिणामस्वरुप त्यो बच्चा विक्षिप्त बन्न पुगेको छ।

मेरो विचारमा भरतजी विशुद्ध जागिरे थिए। न उनी सामन्तवादका प्रतीक थिए न सामन्तका रक्षक नै। उनको हत्या गरेर माओवादीले के पायो, मैले बुझ्न सकेको छैन। अनुसन्धान विभागका प्रमुख देवीराम शर्मा अहिले प्रचण्डका अघोषित सल्लाहकार बनेका छन्। उनलाई माओवादीले सहयोगी बनायो तर उनी मातहतको एउटा जागिरेले भने अनाहकमा ज्यान गुमाउनुपर्‍यो।फोनको कुराकानीले मलाई निकै दिक्क लागिरहेको थियो। मेरा विरोधीले लगाएको एकतर्फी कुरा सुनेर गर्दै नगरेको गल्तीमा मलाई समाप्त पार्ने धम्की
दिनु कत्तिको न्यायसङ्गत हुन सक्थ्यो? मनमा अनेक कुरा खेलाउँदै म अगाडि बढेँ र श्रीमती तथा छोरालाई चैनपुर छाडेर नारायणगढ फर्कें।

गाडी बनाउनुपर्ने र अन्य सानातिना काममा अल्झिएका कारण अपराह्न करिब साढे तीन बजे मात्र हामी पश्चिमतर्फ लाग्यौँ। बाटामा मैले २५ गतेको पत्रिका पढेँ। त्यसमा कसैको एउटा भनाइ लेखिएको थियो– ‘अरुलाई सिक्री लगाउने हातहरुमा सिक्रीको अर्को छेउ लाग्न सक्छ।’ फोनका कुराले दिक्क भएको म त्यो पढेर झसङ्ग भएँ। लाग्यो— मैले पनि थुप्रै मान्छेलाई पक्रेर थुनेँ; कतै मलाई पनि कुनै परिबन्दले थुनिनुपर्ने त होइन? अनि मनमनै भगवान्लाई प्रार्थना गरेँ– ‘हे भगवान्, यस्तो ममाथि नहोस्, किनकि म त प्रकृतिको पूजक हुँ; रक्षक हुँ। मैले व्यक्तिगत फाइदाका लागि र आफ्नो स्वार्थका लागि कसैलाई पक्रेर थुनेको होइन।’

हामी राति करिब एघार बजे कर्णाली, चिसापानी पुग्यौँ। खाना खाएका थिएनौँ। खाना खोज्यौँ; कहीँ पाइएन। पकाएर खाँदा समय लाग्ने हँुदा अगाडि पाइएला भनेर हिँड्यौँ। अतरिया पुग्दा सबै होटल बन्द भइसकेका थिए। महेन्द्रनगरमा पाइएला भनेर अगाडि बढ्यौँ तर त्यहाँ झन् पूरै चकमन्न थियो। राति करिब डेढ बजिसकेको थियो; सबै लज र होटल बन्द थिए। होटलको साइन बोर्डमा फोन नम्बर हेरेर फोन गर्न थाल्यौँ। कतिपयले फोन नै उठाएनन् त केहीले उठाए पनि ‘कोठा छैन’ भनेर ढोका खोल्न इन्कार गरे। धेरैतिर भौँतारिएपछि एक जना रात्रि चौकीदारको सहायताले बसपार्कको गण्डकी लजमा दुइटा कोठा मिल्यो। कोठामा झ्यालका सिसा नभएकाले मौरीझैँ लामखुट्टेको बथान थियो। पङखा मदतले भगाउने प्रयत्न गर्‍यौँ तर भागेनन्। न झूल, न लामखुट्टे भगाउने धूप, न त खाना नै। आँखाको बिख मार्ने सुरमा हामी भोकभोकै फोहोर तन्ना र गन्हाउने सिरानी भएको बेडमा पल्टियौँ।

प्रतिक्रिया दिनुहोस

sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar6
sidebar6
web
analytics