उच्च भागका बाघको अनुसन्धान हुँदै

A+ A-



भुटानमा ४ हजार २ सय मिटरको उचाइमै पाटेबाघ पुगेपछि नेपाल र भारतमा पनि त्यो सम्भावना रहेको भन्दै अनुसन्धान गर्न लागिएको छ । नेपालसहित भारत र भुटानका अधिकारी र विशेषज्ञहरुले दुई दिन भुटानको थिम्पुमा छलफल गरी उच्च भागमा पनि बाघको अनुसन्धान गर्ने निष्कर्ष निकालेका हुन् ।नेपाल, भुटान र भारतका उच्च भाग (हाई अल्टिच्युड) मा बाघबारे सँगै अनुसन्धान अघि बढाउने उद्देश्यका साथ ग्लोबल टाइगर फोरम (जीटीएफ) ले मंगलबार र बुधबार थिम्पुमा प्राविधिक छलफल आह्वान गरेको थियो। छलफलमा नेपालबाट राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका इकोलोजिस्ट लक्ष्मण पौड्याल र राष्ट्रिय प्रकृति संरक्षण कोष (एनटीएनसी) का डा. सिद्धार्थबज्र बज्राचार्य सहभागी थिए।

‘नेपाल र भारतका बाघ पनि तल्लो भागबाट माथितिर उकालो लागिरहेको सम्भावनाबारे बृहत् छलफल भयो,’ इकोलोजिस्ट पौड्यालले कान्तिपुुरसित भने, ‘ती बाघको अनुसन्धान के कसरी गर्न सकिन्छ भनेर प्राविधिक छलफल भयो, अब अनुसन्धान सुरु हुन्छ।’ अनुसन्धानका लागि नेपाल, भारत र भुटानमा सँगै परियोजना सञ्चालन हुनेछ। अनुसन्धानका लागि आवश्यक पर्ने बजेट जीटीएफले नै व्यवस्थापन गर्नेछ।डब्लूडब्लूएफ नेपालका बाघविज्ञ डा. कञ्चन थापाका अनुसार राम्रो बासस्थान, आहार प्रजातिको उपलब्धता र कोलाहल नहुने हो भने बाघ उच्च भागसम्मै जान सक्छ। ‘भुटान र हामीकहाँ बाघ रहेको तल्लो तटीय बासस्थान लगभग उस्तै हो,’ थापाले भने, ‘त्यहाँ (भुटान) उच्च भागसम्मै बासस्थानको कनेक्टिभिटी राम्रो भएकैले ४ हजार उचाइ माथि पुगेको हो।’ भारतको उत्तराखण्डअन्तर्गत धार्चुलामा पनि २ हजार ९ सय मिटरको उचाइमा बाघ भेटिएको छ।

बाघको अधिक संख्या रहेको नेपाल र भारतका निकुञ्ज/आरक्षको तल्लो तटीय भाग भने करिब एकदेखि दुई सय मिटरको हाराहारी मात्र हो। भुटानको तल्लो तटीय भाग पनि नेपालको जस्तै हो। विज्ञ थापाका अनुसार अहिलेसम्मको अध्ययनले नेपालमा चुरेको ८ सय मिटरसम्म मात्र पाटेबाघ पुगेको रेकर्ड छ। तर, बाघका आहार मृग प्रजातिको आनीबानी र तिनको बासस्थान पनि बदलिएकाले नेपाल र भारतका बाघको बासस्थानमा पनि बदलाव आएको विशेषज्ञहरूले टिप्पणी गर्ने गरेका छन्। ‘उही बाघ भुटानमा ४ हजार मिटरमा पुग्न सक्छ भने हाम्रा बाघ पनि माथि उक्लन सक्छन्,’ थापाको भनाइ छ, ‘त्यसका लागि विस्तृत अध्ययन आवश्यक छ।’

एनटीएनसीका वन्यजन्तु विज्ञ डा. नरेश सुवेदीले नेपाल र भारतका बाघ पनि तल्लो तटीय क्षेत्रबाट उच्च भागतिर लम्किरहेको सम्भावनालाई मध्यनजर गर्दै त्यसबारे अनुसन्धान गर्नु सान्दर्भिक हुने टिप्पणी गरे। ‘चितवनदेखि अन्नपूर्ण क्षेत्रसम्मै वन क्षेत्र (वासस्थान) राम्रो र बाघको आहारको उपलब्धता हुने हो भने तलका बाघ माथि जान र बाँच्न सक्छन्,’ सुवेदीले भने।

जीटीएफद्वारा आयोजित छलफलमा बाघको अनुसन्धान र संरक्षणमा काम गर्ने संस्था र विज्ञदेखि सरकारी अधिकारी गरी करिब २० जना सहभागी थिए। छलफलले उच्च भागका बाघबारे अनुसन्धान गर्न खाका र बजेट तय गरेको छ। भर्खरै नेपाल र भारतका संरक्षित क्षेत्र र बाहिर बाघको गणना सकिएको छ। त्यसको परिणाम आउन बाँकी छ। सन् २०१३ को गणनाअनुसार नेपालमा १९८ वयस्क बाघ छन्।

कान्तिपुर बाट

प्रतिक्रिया दिनुहोस

sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar6
sidebar6
web
analytics