म अदालतमा वयान दिने, गैडा तस्कर सुन्ने

A+ A-

गैंडालाई चार वर्ष’ गैंडासम्बन्धी कमलजङ्ग कुँवरद्धारा लिखित पुस्तक हो । यो पुस्तक वि.सं २०६६ साउन महिनामा ‘चित्रबहादुर कुँवर स्मृति गैँडा संरक्षण प्रतिष्ठान’ ले प्रकाशनगरी बजारमा ल्याएको थियो । यो पुस्तक हामीले प्रत्येक शनिबार नेचर खबरअनलाइनबाट प्रकाशित गर्दै आइरहेका छौँ । पढौँ पुस्तकको ४० औं अंश –

अन्यायविरुद्ध आन्दोलन

यसैबीच हामीलाई अन्यायपूर्वक थुनिएकामा चौतर्फी विरोध सुरू भयो। संरक्षणप्रेमी र न्यायप्रेमी जनताले आवाज उठाउन थाले। राजनीतिक पार्टीका ठूला नेताहरुलाई अन्य नेता र कार्यकर्ताले निन्दा गर्न थाले। नेपाल वन प्राविधिक  संघ , नेपाल रेन्जर  संघ  जस्ता पेसागत सङ्गठनहरुले देशव्यापी रुपमा आन्दोलन सुरू गरे। सोर्‍ह वटै राष्ट्रिय निकुञ्ज र आरक्ष कार्यालयहरु बन्द भए। राष्ट्रिय निकुञ्ज विभाग बन्द भयो। वन मन्त्रालय अन्तर्गतका सबै संस्थान, विभाग र कार्यालयहरु बन्द गरियो। सबैको सहभागितामा मन्त्रालयमा धर्ना सुरू भयो। पियनदेखि सहसचिवसम्मका कर्मचारीले कलम बन्द गरी समग्र वन मन्त्रालय नै ठप्प पारे। अपूर्व ऐक्यबङता देखापर्‍यो। नेपाल निजामती कर्मचारी सङ्गठन, नेपाल निजामती कर्मचारी युनियन लगायत विभिन्न संघसंस्थाले आन्दोलनप्रति समर्थन जनाउँदै वक्तव्य दिन थाले।

चितवनमा पनि मध्यवर्ती क्षेत्र, होटल व्यवसाय, पर्यटन, सामुदायिक वन आदिसँग सम्बन्धित थुप्रै संघसंस्थाले निकुञ्ज कर्मचारीहरुसँग मिलेर हाम्रो पक्षमा संयुक्त कार्यक्रम गर्न थाले। हात्ती जुलुस र चक्काजाम गरियो। जिल्ला प्रशासन कार्यालय घेराउ गरियो। भरतपुरमा सयौँको जुलुस निस्क्यो। संरक्षणप्रेमी सबै कर्मचारीहरु वन तथा भू–संरक्षण मन्त्रालयको प्रवेशद्वारमा धर्ना कसेर बसेका थिए। राज्यमन्त्री राईले आन्दोलनकर्मीहरुसँग बहत्तर घण्टाभित्र हामीलाई छुटाउने, न्यायिक जाँचबुझ आयोग गठन गर्ने र मृतकका परिवारलाई राहत दिने सम्झौता गरेछन्। बहत्तर घण्टा बित्यो, तर मन्त्रीले केही गरेनन्। यो उनको आन्दोलन तुहाउने जुक्ति रहेछ। उता, आन्दोलन सेलाइसकेको थियो। हामी निराश हँुदै थियौँ। आज–आज, भोलि–भोलि भन्दाभन्दै दुई हप्ता बितिसकेको थियो। आमा फोनमा रूनुहुन्थ्यो। म सार्‍है दुःखी हुन्थेँ। मैले सानो छँदा पनि आमालाई धेरै रूवाएको थिएँ। उहाँ सुत्केरी हुँदा मैले घरै बसेर खाना पकाएर खुवाउनुपथ्र्यो। म भने आमा निदाएको मौका पारी सुटुक्क खेल्न जान्थेँ। खेल्दाखेल्दै समय गएको पत्तै पाउँदिनथेँ। डराउँदै फर्कंदा आमा रूनुहुन्थ्यो, ‘तैँले मलाई सुत्केरी हुँदा भोक लागेको बेला खाना पकाएर पनि खुवाइनस्’ भन्दै। आमा रोएको देख्दा मलाई सार्‍है नराम्रो लाग्थ्यो। अनि मनमनै कसम खान्थेँ— अब कहिल्यै आमालाई रूवाउँदिनँ। त्यसरी कसम खाएको पनि छब्बीस–सत्ताइस वर्ष भइसकेको छ तर मैले आमालाई रूवाउन छाडेको छैन। यस पटक भने मैले कुनै नराम्रो काम गरेको छैन भनेर उहाँलाई सम्झाउँथेँ र बारम्बार भन्थेँ– ‘त्यसै फसाउन खोजेका हुन्; कसैले केही गर्न सक्दैनन्; हामीलाई केही हुँदैन।’

हाम्रो मुद्दाको अनुसन्धान अगाडि बढिरहेको थियो। मुद्दा अदालतमा पेस हुने दिन पनि नजिकिँदै थियो। कुन दफा लगाउलान् र मुद्दाको स्वरुप कस्तो होला भन्ने कुराले पिरोलिरहन्थ्यो। लाग्थ्यो, म अदालतमा बयान दिन कठघरामा उभिँदा थुप्रै गैँडा सिकारी र खाग तस्कर यसले के भन्दो रहेछ भनेर सुन्न बस्छन् होला। अनि अठोट गर्थें— म पनि सगौरव म संरक्षणको सिपाही हँु; मलाई तस्करले फसाउन खोज्दै छन् तर म कहिल्यै डग्नेवाला छैन र तस्करहरुलाई छाड्नेवाला पनि छैन भन्नेछु। मेरो मनले भन्थ्यो— आफूले गर्दै नगरेको अपराधको सजाय त कसरी भोग्नुपर्ला र? सरकारी अस्पतालका डाक्टर ईश्वरचन्द्र घिमिरेले सात वटा करङ भाँचिएर फोक्सो छेडिएका कारण शिखारामको मृत्यु भएको भन्ने पोस्टमार्टम रिपोर्ट दिएका थिए। तर के २८ गते बेलुका सात वटा करङ भाँचिएर फोक्सो छेडिएको मान्छे बिनाकुनै उपचार ३० गते बिहानसम्म बाँच्न मेडिकल्ली सम्भव छ? फोक्सो छेडिएको मान्छेको त प्रशस्त आन्तरिक रक्तस्राव हुनुपर्ने हो तर पोस्टमार्टम रिपोर्टमा त्यसको उल्लेखै थिएन।

वास्तविकता के थियो भने एक त डाक्टर ईश्वरचन्द्र आफैँ पनि मानसिक रुपमा अस्थिर मान्छे हुन्, त्यसमाथि गोप्य स्थानमा डाक्टरहरुले मात्र गर्नुपर्ने पोस्टमार्टम तस्कर र तिनका मतियारहरुले मान्छेको हूल लगेर खुला चौरमा गराएका थिए। यो कुरा थाहा पाएर मैले मेडिकल कलेजबाट शिखारामका एक्सरे लगायतका रिपोर्ट र डेथ सर्टिफिकेट मगाइदिन अनुरोध गरेको थिएँ। तर उहाँले कति  प्रयत्न गर्दा पनि रिपोर्ट ल्याउन सकिएन। त्यहाँ पनि डाक्टरहरुलाई रिपोर्ट नदिन ठूलो दबाब दिइएको रहेछ। रिपोर्ट दिए मेडिकल कलेजै जलाइदिने धम्कीसमेत दिएका रहेछन्। मेडिकल कलेजको एक्सरेमा शिखारामको एउटा करङ   मात्र अलिकति चर्केको देखिन्छ भने उसले दिएको डेथ सर्टिफिकेटमा मृत्युको कारण प्रस्ट रुपमा दिमागमा प्रशस्त अक्सिजन नपुगेर अर्थात् ‘प्राकृतिक’ भनेर उल्लेख भएको छ। तर यी दुवै प्रमाण तस्करहरुको दबाब र षड्यन्त्रका कारण त्यस बेला मैले पाउन सकिनँ।

१७ गते हामीसँग सोधपुछ गर्न अन्तर्राष्ट्रिय मानव अधिकारवादी र राष्ट्रिय मानव अधिकार आयोगका मान्छेहरु आएका थिए। बडो साखुल्ले भएर गैँडाको खाग तस्कर शिखाराम चौधरीबारे सोध्दै थिए। तर के खाग तस्करको मात्र मानव अधिकार हुन्छ? गैँडा संरक्षण गर्ने अभियानमा लागेकाहरुको कुनै मानव अधिकार हुँदैन? शिखारामको मृत्यु त भवितव्यका रुपमा भयो। त्यसका लागि त्यत्रो पाउकष्ट गरेर विशाल चिन्ता जाहेर गर्ने, ठूल्ठूला आदर्श फलाक्ने यिनीहरुले जनयुङ वा जनआन्दोलनका निहँुमा बन्दुक, बम र धारिला हतियारहरु योजनाबङ रुपमा प्रयोग गरेर हजारौँ निर्दोष मान्छेलाई तड्पाई–तड्पाई मार्नेहरु र तिनका नाइके–भाइनाइकेहरुको अनुहारतिर सीधा आँखाले हेर्नसम्म पनि किन नसकेका? के तिनलाई यिनीहरु अन्तर्राष्ट्रिय अदालतमा उभ्याउन सक्छन्? कि मानव अधिकारवादी भनिनेहरु तिनका कठपुतली हुन्? हामी मानव मात्रको नभई समग्र प्राणीसहित सिङ्गो जीवजगत्को हित चाहन्छौँ। प्रकृतिको सन्तुलनबारे चिन्तित छौँ हामी। मानव प्रकृतिको सानो अंश मात्र हो। प्रकृति सन्तुलित भयो भने मानवहित त्यसैमा निहित छ। प्रकृतिमा आउने असन्तुलनले अन्ततोगत्वा समग्र मानवजातिलाई नै सखाप पार्नेछ। तर यी बुज्रुकहरुलाई यो सत्यसँग मतलब छैन। यिनीहरु सद्ध्कीर्ण सोचाइसाथ मानव अधिकारको मात्र कुरा गर्छन्। अनि तीसँग हाम्रो सोचाइ कसरी मिल्न सक्छ?

प्रतिक्रिया दिनुहोस

sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar6
sidebar6
web
analytics