प्रदेश ७ – पर्यटनका चुनौती र सम्भावना



भौगोलिक दृष्टिकोणले नेपाल भुपरिवेष्ठित सानो राष्ट्र हो । अरू देशको तुलनामा सानो भएता पनि नेपाल प्राकृतिक दृष्टिकोणले धनि मानिन्छ । विश्व सामु हिमालको देश भनेर चिन्दछन् । यस देशको ठाउँ ठाउँमा ताल तलैयाहरु हिमश्रृखला, पहाड पर्वतहरु, प्राकृतिक सौन्दर्यले भरिपूर्ण ठाउँहरू छन् ।

नेपालको भूभागलाई भौगोलिक हिसाबले तराई, पहाड र हिमाली प्रदेशमा विभाजन गरिएको छ । मानव जीवनको आधारभूत आवश्यकता प्राकृतिक स्रोत र साधनबाट परिपुर्ति भएको हुन्छ । जसको वैज्ञानिक ढङ्गबाट व्यवस्थापन र विकास गर्नाले त्यस क्षेत्रको पर्यटन विकासमा टेवा पुग्दछ ।

यसै प्रसङ्गमा सुदुरपश्चिम अथवा प्रदेश नं. ७ भौगोलिक दृष्टिकोणले देशको विकट क्षेत्र भए पनि ऐतिहासिक, सांस्कृतिक, धार्मिक र प्राकृतिक सौन्दर्यताले यस क्षेत्रको पर्यटन विकासमा ठुलो सम्भावना रहेको देखिन्छ । प्रदेश नं. ७ भित्र नौ वटा जिल्लाहरू रहेका छन् जसमा त्रमश बझाङ, बाजुरा, अछाम, डोटी, डडेल्धुरा, बैतडी, दार्चुला, कैलाली र कञ्चनपुर जिल्लाले आफ्नै किसिमको पर्यटकीय विशेषता बोकेका छन् । आर्थिक विकासको निम्ति पर्यटकीय क्षेत्रको व्यवस्थापन र विकास गर्न आवश्यक हुन्छ । प्रदेश नं. ७ मा पर्यटकहरूलाई आकर्षण गर्ने प्रशस्तै आधारहरू रहेका छन् जसमा भौतिक आधार, प्राकृतिक आधार, सांस्कृतिक आधार, ऐतिहासिक आधार, धार्मिक आधार, तराई क्षेत्रको समथर भूमि, भारतीय सिमा, यातायात र सञ्चारको सुविधा, पहाडी तथा हिमाली क्षेत्रको चिसो हावा र रमणिय भु दृश्य, प्रशस्त मात्रामा रहेको बनजंगल, नदीनाला, तालतलैया, जडीबुटी, घोडाघोडी सिमसार, साइपाल तथा अपि हिमाल, खप्तड र शुक्लाफाँटा  निकुञ्ज ।

यस्तै गरी विविध सांस्कृतिक परम्परा, मिश्रित रितीरिवाज, थारु संस्कृति, डेउडा, छलिया नाच, लगायत दोधराचादँनी पुल, खप्तड दह, रामारोशन, उग्रतारा, त्रिपुरासुन्दरी, निङ्गलाशैनी, डिलाशैनी, उदयदेव, मेलौली, पाटन उपत्यका, श्रीभावर क्षेत्र, पत्तालभुमेश्वर क्षेत्र लगायत अन्य ताल तलैयाहरु र गुफा पर्यटन विकासका लागी परिणत गर्न सकिने मुख्य स्थलहरू हुन् । तर स्थानीय स्तरबाट प्रचार–प्रसारको कमी, भौगोलिक विकटता, जनचेतनाको कमी उचित योजनाको अभाव यातायात र बासस्थानका लागी होटेल र लजको अभाव सम्बन्धित संघ सस्थाहरु राजमार्ग क्षेत्रमा मात्रै सिमित, बौद्धिक र सम्बन्धित निकायको चासोको नभएको कारणले गर्दा यस्ता रमणिय क्षेत्रहरू ओझेलमा परिरहेका छन् । फलस्वरुप आन्तरिक र बाह्रय पर्यटकहरूको सख्यामा निकै कमी देखिन्छ ।

नेपालको आर्थिक विकासका लागी पर्यटन व्यवसायलाई दिगो तथा प्रभावकारी बनाउन जरुरी छ । प्रदेश नं. ७ मा रहेका आर्थिक उन्नतीका लागी विभिन्न प्रकारका विकासका सम्भावना रहेता पनि यहाँ उपलब्ध सांस्कृतिक, ऐतिहासिक, धार्मिक र प्राकृतिक सम्पदाहरूलाई एउटा आर्थिक विकासको अवसरको रूपमा लिनु जरुरी देखिन्छ । प्रदेश नं. ७ मा उपलब्ध सांस्कृतिक, ऐतिहासिक, प्राकृतिक सम्पदाको व्यवस्थापन बाट यस क्षेत्रको पर्यटकीय विकासमा टेवा पुग्नेछ । नेपाल जस्तो विकासोन्मुख देशमा औधोगित क्षेत्रहरू र रोजगारीका अवसर नभएको अवस्थामा यस्ता पर्यटकीय स्थलहरूको प्रचार–प्रसार गरी पर्यटकीय स्थलहरूको व्यवस्थापन गरी हजारौँ युवाहरूलाई रोजगारीको अवसर मिल्ने कुरामा कुनै दुईमत छैन त्यसैले प्रदेश नंं. ७ को पर्यटन विकास र समग्र विकासका लागी स्थानीय स्तरबाट, राजनैतिक स्तरबाट, बौद्धिक समुदाय, पर्यटन विकासको सम्भावनाको खोजी, सम्बन्धित संघसंस्थाहरु बिच एकीकृत योजना ,निर्माण, छलफल, अनुगमन तथा मूल्याङ्कन गरी लाग्नुपर्ने आवश्यकता रहेको छ ।

धिरेन्द्र बहादुर चन्द

प्रतिक्रिया दिनुहोस

web
analytics