‘तस्कर मालिकलाई देखाउन मेरो फोटो’

A+ A-

गैंडालाई चार वर्ष’ गैंडासम्बन्धी कमलजङ्ग कुँवरद्धारा लिखित पुस्तक हो । यो पुस्तक वि.सं २०६६ साउन महिनामा ‘चित्रबहादुर कुँवर स्मृति गैँडा संरक्षण प्रतिष्ठान’ ले प्रकाशनगरी बजारमा ल्याएको थियो । यो पुस्तक हामीले प्रत्येक शनिबार नेचर खबरअनलाइनबाट प्रकाशित गर्दै आइरहेका छौँ । पढौँ पुस्तकको ४० औं अंश –

ज्यान मुद्दा

असार २५ गते आइतबार दिउँसो बार्‍ह बजेतिर चितवन जिल्ला अदालतमा मुद्दा दायर भयो। चिफ वार्डेन र मलाई मुलुकी ऐनको १७ (३) तथा रितेशजीलाई १३ (३) दफा लगाइयो भन्ने सुनियो। दफा १७ (३) घटनास्थलमा उपस्थित रहेको तर घटनालाई रोक्न नखोजेको अवस्थामा लगाइने दफा थियो भने १३ (३) कर्तव्य ज्यान अर्थात् हत्या गरेको भनेर लगाइने दफा थियो। २३ गते सरकारी वकिलकहाँबाट मिसिल एसपीकहाँ फिर्ता भएको थियो। कर्तव्य ज्यानमा नलगेर भवितव्यमा लैजान त्यसो गरेको भनेर रितेशजीलाई खबर आएको रहेछ।

उहाँका बुवाले पनि फोन गरेर त्यसै भन्नुभएको रहेछ। उहाँ माथिबाट केही हुन्छ भन्ने आसमा हुनुहुन्थ्यो। दिउँसो करिब डेढ बजे बयान लिन रितेशजीलाई इजलासतर्फ लगियो। हामी अदालतको छुट्टै कोठामा थियौँ। बयान लिन तीन घण्टाजति लाग्यो। उहाँले बयान दिइरहेका बेला मदन महतो भन्ने एउटा मान्छे, जो स्वयं एक पटक गैँडा मार्ने अभियोगमा पक्राउ परिसकेको थियो, ‘शिखारामलाई कुटेरै मारेको हो’ भनेर कराउँदै थियो अरे जबकि इजलासमा कसैले बयान दिइरहेका बेला अन्य व्यक्तिले सुन्न मात्र पाइन्छ, बोल्न पाइँदैन।

त्यस दिन मेरो बयान लिन नभ्याइने भयो। रितेशजीको बयानपछि, अदालतको कठघरामा उभिएर कसरी बयान दिने होला भन्ने मेरो हिचकिचाहट त समाप्त भएको थियो तर हामी सबै चिन्तित थियौँ, के हुने हो भनेर। त्यसमा पनि सबैभन्दा चिन्तित चिफ वार्डेन देखिनुहुन्थ्यो। उहाँ हरेक क्षण सोचमग्न रहनुहुन्थ्यो र मनमनै कुरा गर्नुहुन्थ्यो। उहाँको मुखमा विभिन्न भावना व्यक्त गर्ने आवाजबिनाको चलबलाहट देखिन्थ्यो। निद्रा पनि कम हँुदै गएको थियो। एक दिन राति एघार बजेतिर हामी निदाएका छौँ भन्ठानेर उहाँले कर्णेल अजित थापालाई फोन गरेको रितेशजीले सुन्नुभएको रहेछ। उहाँ भन्दै हुनुहुन्थ्यो रे– ‘मैले हजुरले भनेको मानिनँ; मलाई हजुरले छुटाउनुपर्‍यो। यिनीहरु बसिरहून् म निस्कन्छु; मलाई हजुरले निकाल्नुपर्‍यो।’ आफ्ना चिफ वार्डेन कर्णेलसामु गिडगिडाएको त्यो घटनाले मलाई बडो सकस दियो।

उहाँसँग केही दिनअगाडि हामीसँगै आरोप लागेका गेमस्काउट यमबहादुर खनाल र केदार गुरूङलाई प्रहरी कार्यालयमा हाजिर गराउने विषयमा विवाद भएको थियो। मैले भनेको थिएँ– ‘हामीलाई त थुनामा राखियो राखियो, अब ती निम्न स्तरका कर्मचारीहरुलाई बोलाएर किन थुनाउने?’ उहाँ भन्दै हुनुहुन्थ्यो– ‘उनीहरुलाई जसरी पनि बोलाउने।’ तर मैले फोनबाट उनीहरुलाई ‘हाजिर हुन नआउनू’ भनेको थिएँ जसका कारण मसँग उहाँ रिसाउनुभएको थियो।

२६ गते सोमबार मेरो बयान थियो। चिफ वार्डेन टीकाराम अधिकारीको पनि। मनमा अनेक कुरा खेलिरहेका थिए। हामीलाई समयमै अदालत पुर्‍याइयो। आज पनि गैँडा तस्कर, काठ तस्कर लगायत थुप्रै अपराधी र तिनका नातेदार, मतियार तथा भाडाका मान्छे आएका थिए। तीमध्ये केही माओवादी कार्यकर्ता पनि थिए रे। तिनले मेरो फोटो खिचेर लगेछन्। सायद आफ्ना तस्कर मालिकहरुलाई म कठघरामा उभिएको देखाएर खुसी पार्न। साथै मैले के पनि सुनेको थिएँ भने अदालतले कथङ्कदाचित् धरौटीमा छाडे माओवादीले मलाई भौतिक कारबाही गर्ने भएको छ। फोटो त्यसका लागि पनि खिचिएको हुन सक्थ्यो।

मैले करिब साढे तीन घण्टा बयान दिएँ। संरक्षणको महत्व एवं संवेदनशीलताबारे उल्लेख गर्दै शिखारामको मृत्यु प्राकृतिक कारणबाटै भएको स्पष्ट पारेँ। घटना भएको दिन आफू भारतमा रहेको तथ्य प्रस्तुत गर्नुका साथै त्यहाँ गरेको कामबारे बताएँ र त्यसबारे भारतको राष्ट्रिय दैनिक अमर उजाला र कुमाउँ जागरणले फोटोसहित छापेको समाचारका कटिङ  पनि अदालतसामु पेश गरेँ। त्यो देखेर शिखारामका एक जना वकिल जिल्ल परेर पछि भन्दै थिए रे– ‘उहाँ त त्यो दिन नेपालमै हुनुहुँदो रहेनछ।’ सुरूमा मैले पेस गरेको महेन्द्रनगरको भ्रमण आदेशलाई नक्कली भनेर अभियोगपत्रमा उल्लेख गर्ने सरकारी वकिल ओमप्रकाश अर्याल पनि अक्क न बक्क भएका थिए।

बयान सकिएपछि हामीलाई जिल्ला प्रहरी कार्यालय लैजान गाडीमा राखिँदै गरेका बेला वकिल कृष्णभक्त पोखरेल गैँडाको खाग तस्करी गरेको आरोपमा थुनामा रहेका गोकुल पन्तको ५२८० नम्बरको मोटरसाइकलमा चढेको देखेपछि मेरो मनमा पूरै चिसो पस्यो। हाम्रो पक्षमा बहस गर्न–गराउन नियुक्त गरिएका वकिल जेलभित्रबाटै हामीलाई फसाउन षड्यन्त्र गरिरहेको खाग तस्करको मोटरसाइकलमा देखिनु एकदमै शङ्कास्पद र रहस्यमय थियो। बेलुका रितेशजीले अर्को कुरा पनि भन्नुभयो। २ गते सरकारी वकिलकहाँ मेरो बयान भएपछि कृष्णभक्त उसको कोठामा गएर ऊसँग भन्दै थिए अरे– ‘त्यो कमलजङ्गले अदालतमा कसरी प्रमाणित गर्दो रहेछ शिखारामको मृत्यु प्राकृतिक कारणबाट भएको भनेर, म पनि हेरूँला।’ रितेशजीलाई सँगैको अर्को कोठामा राखिएकाले उहाँले उनका सबै कुरा सुन्नुभएको रहेछ। त्यति मात्र होइन, एकपल्ट उनले माओवादी कार्यकर्ता रामचन्द्र अधिकारीको नाम लिएर ‘राष्ट्रिय अनुसन्धानका प्रहरी निरीक्षक भरत खड्कालाई मार्ने पनि उही हो’ भन्दै मलाई मानसिक दबाब दिन र हतोत्साहित बनाउन कोसिस गरेका थिए।

हाम्रो पक्षमा बहसका लागि अनुरोध गर्न जिल्ला प्रहरी कार्यालयमा बोलाएका बेला पनि कृष्णभक्तले रामचन्द्रकै नाम लिएर ममा त्रास उब्जाउन खोजेका थिए। त्यो दिन बिहान करिब सात बजे उनी हामीकहाँ आए। अदालतमा हाम्रो पक्षलाई कसरी दर्बिलो बनाउने भनेर चिफ वार्डेन, रितेशजी र मसँग छलफल भइरहेकै बेला उनको मोबाइल बज्यो।

कृष्णभक्त भन्दै थिए– ‘उहाँ त राम्रो मान्छे; हाम्रै मान्छे हो...।’ मेरै बारे कुरा भइरहेको थियो। फोनमा कुराकानी सकिएपछि उनले भने– ‘रामचन्द्रेको फोन थियो। जिल्ला प्रहरी कार्यालयको फोनबाट कमलजङ्गले भर्खर पाँच मिनेटअगाडि फोन गरेको थियो भन्दै थियो।’

मलाई झनक्क रिस उठ्यो। भनेँ– ‘पन्ध्र–बीस मिनेटदेखि तपाईंसँगै छु; कसरी पाँच मिनेटअगाडि उसलाई फोन गरेँ? बहुलाएको त छैन त्यो?’ उनले भने– ‘हिजोअस्तिदेखि फोन गरेर जिस्क्याउनुभयो भन्छ ऊ।’

यसैबीच रामचन्द्रले ‘कमलजङ्गलाई प्रहरी कार्यालयमा आएर पनि ठीक पारिदिन्छु’ भनेछ। यो सायद कृष्णभक्त र रामचन्द्रको मलाई धम्क्याउने चालबाजी थियो। हतोत्साहित गर्ने योजना पनि हुन सक्थ्यो। यस्ता विभिन्न घटनाले हामीलाई कृष्णभक्तको चाला ठीक छैन भन्ने स्पष्ट हुँदै गएको थियो। उनलाई आफ्नो वकिल राखेर सायद हामीले ठूलो गल्ती गरेका थियौँ।

प्रतिक्रिया दिनुहोस

sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar6
sidebar6
web
analytics