यो वर्षको संरक्षण पुरस्कार राजु आचार्य र रेन्जर लक्ष्मण रायलाई



सरकारले यो वर्षको लागि दुई जनालाई वन्यजन्तु संरक्षण पुरस्कार प्रदान गरेको छ । २३ औँ राष्ट्रिय वन्यजन्तु सप्ताहको अवसर पारेर शुक्रबार वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतले पोखराका अनुसन्धानकर्मी तथा संरक्षणकर्मी राजु आचार्य र चितवन राष्ट्रिय निकुञ्जका रेन्जर लक्ष्मण रायलाई यो पुरस्कार प्रदान गरेका हुन् ।

दुई दशकभन्दा लामो समयदेखि वन्यजन्तुको अनुसन्धान र संरक्षणमा उल्लेखनीय योगदान गरेको भन्दै सरकारले आचार्य तथा रायलाई जनही एक लाख एक हजार एक सय पाँच नगद राशीको राष्ट्रिय वन्यजन्तु संरक्षण पुरस्कारु प्रदान गरेको छ।

वन तथा वातावरण मन्त्रालय, राष्ट्रिय निकुन्ज तथा वन्यजन्तु संरक्षण विभागले पहिलो पटक स्थापना गरेको अर्को ५१ हजार एक सय पाँच नगद राशीको वन्यजन्तु संरक्षण पुरस्कारु पनि संयुक्त रूपमा पर्सा राष्ट्रिय निकुन्ज मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष श्रीपदम तितुंग र पत्रकार रामचन्द्र अधिकारीलाई प्रदान गरिएको छ ।

२७ वर्षदेखि यस क्षेत्रमा कार्यरत आचार्यलाई चार दिनअघि मात्रै पोखरामा स्व .चन्द्रमाया ढेवाजू जैविक विविधता संरक्षण पुरस्कारुले समेत सम्मान गरिएको थियो। प्राणीशास्त्र समाज पोखरा र प्राणीशास्त्र विभाग पृथ्वीनारायण क्याम्पसले यसै वर्षदेखि यो पुरस्कार स्थापना गरेको हो।

लाटोकोसेरो संरक्षणको लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा ख्यातिप्राप्त आचार्यलाई सन् २०११ मा अमेरिकामा स्पेशल एचिभमेन्ट अवार्डबाट समेत सम्मान गरिएको थियो। लाटोकोसेरो संरक्षणको क्षेत्रमा लामो समयदेखि क्रियाशील रहेकाले यिनलाई सञ्चारमाध्यम र संरक्षणकर्मीहरुले‘उल्लु सर’ को उपमा पनि दिएका छन्। हाल उनी 'प्रकृतिका साथीहरू' नामक संस्थाका कार्यकारी निर्देशक छन्।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics