मनसुन फलदायी रहने

A+ A-



आकाशेपानीका भरमा गरिने रोपाइँ र अन्य खेतीपातीका लागि आगामी मनसुन फलदायी बन्ने भएको छ। यस वर्षको मनसुनमा मुलुकभर औसत वर्षा हुने प्रक्षेपण गरिएको छ।

दक्षिण एसियाली जलवायु दृष्टिकोण मञ्च ‘सास्कोप’ले हालै नेपालसहित समग्र दक्षिण एसियाको मनसुन विश्लेषण गर्दा नेपालको वर्षा औसतका हाराहारीमा रहने ठहर गरेको हो। सरदर वर्षाको ९० देखि १ सय १० प्रतिशतसम्मलाई औसत वर्षा मानिन्छ। सोभन्दा कम र बढी वर्षा भएमा मौसमविद्हरू न्यून वा अधिक वर्षाका रूपमा बुझ्ने गर्छन्।

विश्व मौसम संगठनको अगुवाइमा सास्कोपले हरेक वर्ष मनसुन शुरु हुनुभन्दा एक महिनाअगावै दक्षिण एसियाली क्षेत्रको मनसुनसम्बन्धी दृष्टिकोण तयार गर्दै आएको छ। डेढ साताअघि भारतको पुर्णेमा भएको सास्कोप जमघटले मुलुकको आगामी मनसुन औसत रहने ठहर गरेको मौसमविद् शान्ति कँडेलले बताउनुभयो।

‘सास्कोपले हरेक वर्ष मनसुन र हिउँदे वर्षा विश्लेषण गर्दै आएको छ, नेपालको सन्दर्भमा भूगोल र स्थान विशेषका आधारमा औसत वर्षाको मात्रा फरक पर्छ।’ –उहाँले भन्नुभयो। मनसुन अवधिमा मुलुकभरको औसत वर्षाको मात्रा १४ सय ९६ दशमलव ७ मिलिमिटर हो भने काठमाडौंको वार्षिक औसत वर्षा १४ सय ५४ दशमलव ८ मिलिमिटर हो। गत वर्ष पूर्वी र मध्य भेगमा अधिक र औसत वर्षा नाघे पनि मध्यपश्चिम र सुदूरपश्चिमका धेरै भेगमा औसत वर्षा ननाघेको जल तथा मौसम पूर्वानुमान महाशाखाको तथ्यांक छ।

साधारणतया अंग्रेजी महिनाको जुनदेखि सेप्टेम्बरसम्मका ४ महिनाको अवधिलाई दक्षिण एसियाली मनसुन अवधि मानिन्छ। नेपालमा जुन दोस्रो साता भित्रिने मनसुन सेप्टेम्बर चौथो सातापछि निस्क्रिय हुने गर्छ। उक्त अवधिमा नेपालमा वार्षिक वर्षाको करिब ८० प्रतिशत वर्षा हुने गर्छ। यस पटक म्यानमारको उत्तरी भेग, पाकिस्तान र भारतको दक्षिण सीमा, भारतको सुदूरपूर्वी भेग, दक्षिण भारत र आसपासका भेगमा औसतभन्दा न्यून वर्षा हुने सास्कोपको ठहर छ।

अन्यत्र सरदर वर्षा हुने अनुमान गरिएको छ। हिन्द र प्रशान्त महासागरसहित दक्षिण एसियाको मौसमी अवस्था विश्लेषण गरेर सास्कोपका विज्ञले मनसुनसम्बन्धी दृष्टिकोण बनाउने गर्छन्। खास गरी प्रशान्त महासागरको पानीको तापक्रममा आउने उतार–चढावले दक्षिण एसियाली मनसुनको अवस्था चित्रण गर्न सघाउ पुग्ने विज्ञहरू बताउँछन्।

सन् २०१४ देखि प्रशान्त महासागरको पूर्वीभेगमा सक्रिय रहेको ‘एलनिनो’ (औसतभन्दा बढी पानी तात्ने) प्रक्रिया सन् २०१७ को अन्त्यसँगै निस्क्रिय भएकाले आगामी मनसुन औसतका हाराहारीमा रहने बताइएको छ। प्रशान्त महासागरको पानी औसतभन्दा बढी चिसो हुने प्रक्रियालाई मौसमविद्हरू ‘ल्यानिना’ का रूपमा बुझ्ने गर्छन्। ल्यानिना शुरु भएमा त्यसले समग्र दक्षिण एसियाकै मनसुनी गतिविधि औसतभन्दा राम्रो हुने वरिष्ठ मौसमविद् मणिरत्न शाक्य बताउनुहुन्छ। उहाँका अनुसार एलनिनो अहिले स्थिर अवस्थामा छ।

नेपाल समाचारपत्र

प्रतिक्रिया दिनुहोस

sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar6
sidebar6
web
analytics