जेलको पहिलो दिन …

गैंडालाई चार वर्ष’ गैंडासम्बन्धी कमलजङ्ग कुँवरद्धारा लिखित पुस्तक हो । यो पुस्तक वि.सं २०६६ साउन महिनामा ‘चित्रबहादुर कुँवर स्मृति गैँडा संरक्षण प्रतिष्ठान’ ले प्रकाशनगरी बजारमा ल्याएको थियो । यो पुस्तक हामीले प्रत्येक शनिबार नेचर खबरअनलाइनबाट प्रकाशित गर्दै आइरहेका छौँ । पढौँ पुस्तकको ४२ औं अंश –

जेल डायरी
त्यो दिन हाम्रो जेल–जीवनको पहिलो दिन थियो। रितेशजीका दाजु केशव बस्नेत पनि त्यहीँ इन्स्पेक्टर हुनुहुँदो रहेछ। खाना सँगै खाने भनेर अर्डर दिनुभयो। हाम्रा लागि त्यो लाख थियो। ढुङ्गा खोज्दा देउता मिले जस्तो भयो। ओढ्न, ओछ्याउन हामीले चितवनकै साबिकका मेटे«स, तन्ना, सिरानी र च्यादर ल्याएका थियौँ। मोबाइल पनि सँगै थियो।

एसपीले सम्झाउनुभयो– ‘लो प्रोफाइलमा बस्नुस्। कतै पत्रकारले देखे भने फेरि पत्रिकामा निकालिदिन्छन्, अनि बित्यास पर्छ।’ उहाँले हामीसँग मोबाइल माग्नुभएको थियो, तर मैले हात जोडेर ‘हामी फोनबाट सम्पर्क गर्दैनौँ र फोन पनि उठाउँदैनौँ’ भनेपछि कर गर्नुभएन। हामी जेल परेको भोलिपल्ट २०६३ असार ३० गते नवलपरासीका सीडीओ केशरबहादुर बानिया भेट्न आउनुभयो। हामीलाई जिल्ला प्रहरी कार्यालयमै बस्ने व्यवस्था मिलाइदिएकामा उहाँलाई हृदयदेखि नै धन्यवाद टक्र्यायौँ।

साउन ७ गते चितवनका जिल्ला न्यायाधीश बिदा सकिएर अदालतमा हाजिर भएको सुन्यौँ। हामी खुसी भयौँ, अब छिट्टै पेसी राखिन्छ र बहस हुन्छ भनेर। बेलुकातिर खबर पाइयो, १६ गते पेसी राखियो भन्ने। पेसी ढिलो राखिएकामा सबै छक्क परेका थिए। बुझ्दै जाँदा थाहा लाग्यो— चिफ वार्डेन टीकारामले वकिलहरुसँग सल्लाह गरेर त्यति पर पुर्‍याउनुभएको रहेछ। किन त भन्दा वकिल कृष्णभक्त पोखरेल पाकिस्तान गएका छन्, उनले फर्केर सबै माहोल मिलाउँछन् अरे। कस्तो अचम्म? न्यायाधीशले कानुन हेरेर न्याय दिन्छन् कि माहोल हेरेर? कानुन बमोजिम न्याय–अन्याय छुट्ट्याइन्छ कि वकिल हेरेर? एक दिन सय–पचास तस्कर र चोरहरुको जुलुस निस्केला अरे, त्यति भए हामीले न्यायै नपाउने? त्यसो भए किन चाहियो त अदालत? जुलुस निकाले भैहाल्यो नि, कसलाई कारबाही गर्ने र कसलाई माफी दिने भनेर! कानुनले हामीलाई पनि अर्धन्यायिक निकायको मुद्दा हेर्ने अधिकार दिएको छ। हामी त माहोल वा मान्छे होइन, कानुन हेरेर न्याय दिन्छौँ। पूर्ण न्यायिक निकाय र त्यहाँका न्यायमूर्तिहरुले के हेरेर न्याय दिन्छन्? पेसी अगाडि सार्न अनुरोध गर्ने सल्लाह भयो, तर प्रयत्न सफल भएन। यसैबीच हामीलाई राख्न ल्याइएको नवलपरासी कारागारमा कैदी र थुनुवाले आममाफीको माग राख्दै आगजनी र तोडफोड गरे। कारागारमा छत्तीस पुरूष र दुई महिला थिए।

बिहीबार, साउन ११

आज अलिक अघिको कुरा सम्झेर दिक्क लाग्यो। मैले सात–आठ महिनाअघि नै चितवनबाट सरूवा मागेको थिएँ। चोरी सिकार नियन्त्रण इकाइमा बसेर गैँडा जोगाउन तीन वर्ष दिलोज्यानले काम गरेँ। यस अवधिमा डेढ सय जनाभन्दा बढी सिकारी, दलाल र तस्करहरुलाई पक्राउ गरी कारबाही चलाएँ। दस वटाभन्दा बढी भरूवा बन्दुक र सयौँ गोली पक्राउ गरेँ। छ वटा खाग, चार वटा बाघका छाला, बीस केजी बाघको हड्डी, मोबाइल सेट, गाडी, मोटरसाइकल र लाखौँ रूपैयाँसमेत तस्करबाट बरामद गरेँ। गैँडाको चोरी सिकारमा झन्डै असी प्रतिशतले कमी आयो। माओवादी द्वन्द्वका कारण वातावरण अत्यन्त तनावपूर्ण हुँदा पनि जीवनको कुनै पर्बाह नगरी रातदिन काममा संलग्न भएँ। जति अप्ठ्यारा, कठिनाइ, बाधा–व्यवधान, धम्की आए पनि आफ्नो दायित्व र कर्तव्यबाट कहिल्यै किञ्चित् विमुख भइनँ। यिनै कुरा राख्दै ‘अब बर्दिया राष्ट्रिय निकुञ्जमा सरूवा गरिदिनुस्’ भन्न म तत्कालीन वनसचिव स्वयम्भूमान अमात्यकहाँ पुगेको थिएँ। तर मैले आफ्नो कुरा राख्न नपाउँदै उहाँले भन्नुभयो– ‘याक्चेलाई तपाईंहरुले फसाउनुभएको हो?’

यो सुनेर म स्तब्ध भएँ। कस्तो विडम्बना! तस्करका मान्छेले चिल्ला गाडीमा आएर ‘मेरो मान्छे निर्दाेष थियो तर फसाए’ भनेका भरमा तिनकै कुरा पत्याएर हाम्रो देशका सचिव र मन्त्रीहरु कर्मचारीलाई अपमानित गर्छन् र तस्करलाई प्रोत्साहित गर्छन्। त्यसबाट उनीहरु तस्कर मात्र होइन, देशका ठूल्ठूला मान्छेको पनि कृपापात्र बन्न पुग्छन्। स्वयम्भूमानकै कुरा गर्ने हो भने पनि नेपालमा राष्ट्रिय निकुञ्ज स्थापनापछिको इतिहासमा उहाँ महानिर्देशक हुँदा नै सबैभन्दा बढी गैँडा मारिएका थिए। त्यसबापत कसैले जिम्मेवारी लिएन र कसैलाई कारबाही पनि भएन। न सचिव वा महानिर्देशकलाई, न सेनाको गणपतिलाई, न चिफ वार्डेनलाई, न गेमस्काउट, रेन्जर वा सहायक वार्डेनलाई नै। उल्टो उहाँ नै प्रमोसन भएर सचिव हुनुभयो। मनमा यस्ता कुरा खेले पनि मैले उहाँलाई नम्रतापूर्वक भनेँ– ‘सर, मेरो याक्चेसँग व्यक्तिगत के दुस्मनी थियो र मैले उसलाई फसाउने? उसले पत्रकार सम्मेलनमै पत्रकारले सोध्दा बीस वटा गैँडाको खाग बेचेको स्वीकार गरेको थियो। त्यसको भिडियो क्लिप नेपाल टेलिभिजनले प्रसारण गरेको थियो; सरलाई चाहिन्छ भने मगाइदिउँला। याक्चेका त एउटा दुइटा होइन, पाँच वटा मुद्दा पुगिसके। उसलाई किन कसैले फसाइराख्नुपर्छ?’ सोचेको थिएँ— मैले गरेको कामका निम्ति उहाँले स्याबासी दिनुहोला र मेरो माग बमोजिम सरूवा मिलाइदिनुहोला, तर वास्ता गर्नुभएन।

कमलजङ्ग कुँवर

प्रतिक्रिया दिनुहोस

web
analytics