रुख काट्दैमा वन विनाश हुन्न : वन मन्त्री

नेपालीमा एउटा उखान निक्कै चर्चित छ, ‘ल्हासामा सुन छ, कान मेरो बुच्चै’ । हो यही उखानलाई वन तथा वातावरण मन्त्रालयले चरिचार्थ गरेको छ । नेपालमा अर्बौ मूल्यको काठहरू वन जंगलमा अलपत्र परेर अनि सडेर बर्षेनी खेर गइरहेको छ । अर्कोतर्फ वार्षिक रूपमा अर्बौ मूल्यको काठ मलेसियालगायत विभिन्न मुलुकबाट आयात भइरहेको छ । भनाईको अर्थ नेपालमा चाहिने परिमाणमा काठ उपलब्ध छ, तर त्यो सबै खेर गइरहेको छ । स्वदेशमा प्रयोग गर्न भने काठको आयातको नाममा वार्षिक अर्बौ रकम विदेशिएको छ ।

वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले यही उखानजस्तो गतिविधि नेपालमा भइरहेको टिप्पणी गरेका छन् । उनका अनुसार जंगलबाट दुई चारवटा रुख काट्दैमा वातावरणलाई प्रभाव पार्दैन् । वन क्षेत्र प्रेमीहरूले वन जंगलको काम नलाग्ने रुखसमेत कटानी गर्दा वातावरणमा ठूलै प्रभाव पार्छ भनेर लविंग गर्दैआएका छन् । मन्त्री बस्नेतले दुई चार रुख काट्दैमा वातावरणमा कुनै पनि प्रकारको प्रभाव नपर्ने अडान राखेका छन् । उनले भने,‘संरक्षणकर्मीहरुले यस्तो बेतुकको सोच त्याग्नुपर्छ ।’

राजधानीमा आयोजित छैठौं वन अधिकृतहरूको राष्ट्रिय गोष्ठीलाई सम्बोधन गर्दै वनमन्त्री बस्नेतले बिहीबार यस्तो जानकारी दिएका हुन् । गोष्ठी वन विभागले आयोजना गरेको थियो । ‘नेपालमा टन्ने काठ छ, तर अर्बो मूल्य तिरेर भारतसहित तेस्रो मुलुकबाट काठ आयात गरिरहेका छौँ । यो बहादुरी होइन । यसलाई नालायकीपन भनिन्छ ।’ उनले भने,‘मलेसियाले बर्सेनि काठ कटान गरेको छ । तर त्यहाँका वातावरणमा कुनै प्रभाव परेको छैंन् । वन जंगल समाप्त भएको छैंन् । काठको सदुपयोग गर्दैमा वन क्षेत्र नष्ट हुँदैन् । काठ काट्दैमा बिनाश हुँदैन् ।’

उनका अनुसार संरक्षणको बारेमा स्थानीय समुदायलाई जागृत गराएर मात्रै वनजंगलको सदुपयोग र वातावरणलाई राम्रो बनाउन सकिन्छ । ‘वनको धनीे मुलुकमा काठ अन्यत्रबाट आयात हुन्छ । यसको मतलब वन, वातावरण, विकासको उपयोग र संरक्षणबिच सन्तुलन मिलेको छैन । हाम्रो सन्तुलन कहि कतै पनि मिलेको छैन,’ मन्त्री बस्नेतले भने, ‘मन्त्रालयको प्राथमिकता यो सन्तुलन कायम गर्नु हो। यो सन्तुलन हामी कायम गछौंं।’

मलुकको समृद्धिका लागि वनको सदुपयोग गर्न आवश्यक रहेको मन्त्री बस्नेत बताउँछन् ।‘सहि सदुपयोग र व्यवस्थापनको पक्ष महत्त्वपूर्ण कुरा हो,’ उनले भने, ‘बंगलादेश, इन्डोनेशिया, मलेसिया, वर्मा जस्ता देशबाट नेपाललाई काठ आयात हुँदैमा त्यहाँको वन तथा वातारण सखाप हुँदैन । मुख्य कुरा सहि व्यवस्थापन, सुशासन र सहि उपयोग भएमा सन्तुलन कायम हुन्छ विनास हुने कुरा आउँदैन । मुलुकको समृद्धिका लागि वनको सहि सदुपयोग गर्न आवश्यक छ ।’ मन्त्री बस्नेतले संगरमाथा राष्ट्रिय निकुञ्जलाई विश्वको नम्बर १ पार्क बनाउन सकिने र यसका लागि आफू तत्पर रहेको जानकारी दिए ।

उक्त गोष्ठिले वन क्षेत्रको विषयमा नयाँ कार्यदिशा तय गर्नुका साथै सरकारको लक्ष्य समृत नेपाल, सुखी नेपाली अनुसार वन क्षेत्रलाई ससमृद्धिको आधार बनाउने खालको कार्यक्रम परिचान गरी कार्यान्वयनमा ल्याउन सहभागी ७४ जिल्लाका वन अधिकारीहरूलाई निर्देशन दिएका छन् ।

वन तथा वातावरण मन्त्रालयका सचिव डा. विश्वनाथ ओलीले जिल्लामा हुने घटनाको विषयमा अध्ययन गरेर मात्रै विज्ञप्ति जारी गर्न अधिकारीहरूलाई निर्देशन दिए । ओलीले भने, ‘वन क्षेत्रमा सुशासन कायम गर्ने विषय अहिले महत्त्वपूर्ण रहेको छ ।’ उनले आर्थिक सामाजिक र वातावरण सन्तुलन कायम गर्न वन अधिकृतको भूमिका आवश्यक रहेको बताए । मन्त्रालयको छवि बिग्रने काम गरिएको पाइएमा त्यसलाई मन्त्रालयले समझोता गरेर नबस्ने सचिव ओलीले बताए ।

द टिम्बर कर्पोरेसन अफ नेपाल लिमिटेडका महाप्रबन्धक राजु लैडारीले विदेशबाट आउने काठ रोक्न नेपालमै काठ उत्पादन गर्न बताए । त्यस्तै नेपाल वन प्राविधिक संघका अध्यक्ष कुमोद श्रेष्ठले जैविक विविधताको संरक्षण गर्नुपर्नेमा जोड दिए ।

तीन दिनसम्म चल्ने छलफलमा वन तथा वातावरण क्षेत्रको प्राथमिकता, संघियतामा वनको नीति तथा कानुन, वन संगठन र सुशासन, वन व्यवस्थापन लगायतका ९ वटा विषयगत क्षेत्रहरूमा १७ वटा विषयमा कार्यपत्र प्रस्तुतिकरण र छलफल हुनेछ ।



गोष्ठिमा वन तथा वातावरण मन्त्रालय, वन विभाग, क्षेत्रीय वन निर्देशनालय, प्रादेशिक उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालय, जिल्ला वन कार्यालयहरूमा कार्यरत वन अधिकृत गरी २ सय जना वन अधिकृतको सहभागिता छ । फेकोफनका अध्यक्ष गणेश कार्कीले सामुदायिक वन मात्र नभएर नेपालको सबै वनलाई समेटन सके समृद्धि सम्भव रहेको बताए ।  यसअघि विस २०३३, २०५३, २०६४, २०६६ र २०७१ मा गरी पाँच पटक यस्तो प्रकारको जिल्ला वन अधिकृकतहरुको राष्ट्रिय गोष्ठी आयोजना भइसकेको छ ।

सुजाता कार्की

प्रतिक्रिया दिनुहोस

web
analytics