बिरामीको शरीरको दाहिने भाग नचल्दा…

A+ A-


गैंडालाई चार वर्ष’ गैंडासम्बन्धी कमलजङ्ग कुँवरद्धारा लिखित पुस्तक हो । यो पुस्तक वि.सं २०६६ साउन महिनामा ‘चित्रबहादुर कुँवर स्मृति गैँडा संरक्षण प्रतिष्ठान’ ले प्रकाशनगरी बजारमा ल्याएको थियो । यो पुस्तक हामीले प्रत्येक शनिबार नेचर खबरअनलाइनबाट प्रकाशित गर्दै आइरहेका छौँ । पढौँ पुस्तकको ४४    औं अंश –


बुधबार, साउन १७


दिउँसो एक बजेतिर प्रमिला आइपुगिन्। साथमा अङ्कल पूर्णबहादुर कुँवर, मित्र विष्णु घिमिरे, प्रमिलाको साथी सरिता र राजुजी हुनुहुन्थ्यो। छोरालाई अङ्कलले काखमा लिनुभएको थियो। आकाशे नीलो रङ्गको कपडा लगाएको, गोरो–गोरो, पातलो फुच्चे; मैले हेरिरहेँ। उसले टाढैबाट मलाई देख्नेबित्तिकै आँखा टाठा बनायो र चिनेर मतर्फ आउन खोज्यो। मलाई रून मन लाग्यो, उसलाई देखेर। मैले छोरालाई काखमा लिएर म्वाइँ खाएँ। ऊ खुसीले गदगद भयो। अनि मतिर प्रश्नसूचक आँखा लगायो, मानौँ सोध्दै थियो– ‘किन बाबा, मलाई एक्लै छाडेर बिरानो ठाउँमा आफू मात्रै आएको?’ अनि ‘टिटिट’ अर्थात् गाडीको कुरा गर्दै मसँग खेल्न थाल्यो। सधैँझैँ मेरो मोबाइल लियो र कानमा लगायो। मैले देखेँ— उसको कानबाट फोहोर पानी आइरहेको थियो। अनि प्रमिलालाई भनेँ– ‘राम्रो डाक्टरलाई देखाउनू।’


अङ्कल, विष्णुजी, सरिताजी र प्रमिला सबैसँग कुराकानी भयो। सुख–दुःखका कुरा भए। जाने बेला छोरो मलाई छाडेर आमासँग पनि जान मानेन। आमालाई नै टाटा भन्दै थियो। जबर्जस्ती आमालाई दिएँ। ऊ रूँदै मतिर आउन बल गरिरहेको थियो। रोएर विरोध गर्नेबाहेक त्यो दूधे बालकसँग अरु कुनै उपाय पनि त थिएन! ऊभित्रको देवताले पक्कै पनि ती आततायीहरुलाई धिक्कार्‍यो होला, श्राप दियो होला।

शुक्रबार, भदौ २


आज कसराबाट मुखिया रामचन्द्र श्रेष्ठ आउनुभयो। पुनरावेदन अदालत हेटौँडामा निवेदन हाल्नु थियो; सही गरेर पठाइदियौँ। अर्को हप्ता वकिल कृष्णभक्त पोखरेल र चिफ वार्डेन हेटौँडा जाने कुरा रहेछ। चिफ वार्डेन टीकारामले फोन गरेर हाम्रो विषयमा टिकौलीमा सात दलको बैठक भएको सुनाउनुभयो। माओवादी नेता डण्डपाणी पौडेल ‘चितवनमा अहिले गैँडा मरेको कुरा कर्मचारीहरुले हौवा फैलाएको मात्र हो; तिनलाई कारबाही गर्नुपर्छ; आन्दोलन गर्ने कर्मचारीलाई पनि कारबाही गर्नुपर्छ; थुनिएका गैँडा तस्करहरु निर्दोष छन्, तिनलाई छाड्नुपर्छ’ भन्दै थिए अरे। चिफ वार्डेनको भनाइ थियो— तपाईंहरुलाई धरौटीमा छाड्न नदिन माओवादीले नै न्यायाधीशलाई प्रभावित गरेको हुनुपर्छ। यसबीच केहीले मलाई बताइसकेका थिए— हाम्रो मुद्दाको सुनुवाइ हुनुभन्दा आधा घण्टाअगाडि माओवादीहरुले न्यायाधीशकहाँ गएर ‘कमलजङ्ग कँुवरलाई छाडे ज्यान मार्ने’ धम्की दिएका थिए।


मैले के पनि थाहा पाएँ भने साउन १६ गते जिल्ला अदालतमा हाम्रो मुद्दामा बहस हुनुअघि नै ‘छाडे दुवै जनालाई छाड्ने, नछाडे एक जनालाई मात्र नछाड्ने’ भन्ने भित्री समझदारी भइसकेको रहेछ। मन्त्री गोपाल राईको निर्देशन बमोजिम काठमाडौँबाट आएका वकिलले न्यायाधीशलाई भनेका रहेछन्— एक्लै बस्न बोर हुन्छ; त्यसैले रितेश र कमलजङ्ग दुवैलाई सँगै राखिदिने। न्याय पनि कहीँ यस्तो हुन्छ? कस्तो षड्यन्त्र मन्त्रीको?


हामीसँग पुनरावेदनमा जानु वा सरकारले मुद्दा फिर्ता लिनु दुइटा विकल्प मात्र थिए। करिब एक हप्तादेखि ‘सोमबारको मन्त्रिपरिषद् बैठकमा मुद्दा फिर्ता लिने प्रस्ताव पेस हुँदै छ’ भनेर हल्ला गरियो। तर बीस दिनअघि चितवन जिल्ला अदालतले गरेको निर्णयको प्रतिलिपिसमेत आजसम्म काठमाडौँ पुगेको रहेनछ। त्यो नभई मुद्दा फिर्ता लिने प्रक्रिया सुरू हुनै सक्दैनथ्यो।


सोमबार, भदौ ५


 हामी हिरासतमा छँदै गृह, वन मन्त्रालय र महान्यायाधिवक्ताको कार्यालयका प्रतिनिधि रहेको छानबिन आयोग बनाइएको थियो। आज चिफ वार्डेनले फोन गर्नुभयो— सह–न्यायधिवक्ता पुष्पराज कोइरालाको संयोजकत्वमा गठित त्यो आयोगले हाम्राविरुद्ध प्रतिवेदन दिएको रहेछ। आयोगले विभिन्न  संघ संस्था र व्यक्तिहरुसँग अन्तत्र्रिया र छलफल गरेको थियो। भरतपुर मेडिकल कलेजमा डा. नटराजप्रसाद, डा. एसी पटवारी र डा. भोजराज अधिकारीसँग कुरा बुझेको थियो। शिखारामको उपचारमा संलग्न डा. अधिकारीले उक्त आयोगलाई दिएको जानकारी यस्तो थियो– ‘बिरामीको शरीरको दाहिने भाग नचल्ने अवस्थामा थियो; दिमागको पूरै भागमा रगत नपुगेको। दिमाग र फोक्सोसम्म अक्सिजन पुग्ने गरेर पाइप राख्दा पनि प्रोग्रेस भएन। मृत्युको मुख्य कारण दिमागको पछिल्लो भागमा रगत नपुग्नु थियो। पोस्टमार्टममा करङ भाँचिएर फोक्सो छेडिएको भनिएको छ तर आन्तरिक रक्तस्राव थिएन। रोकिएको श्वास–प्रश्वास पुनः सञ्चालन गराउन डाक्टरले बिरामीको छातीमा जोडजोडले थिच्नुपर्छ; त्यसो गर्दा जीर्ण बिरामीको करङ भाँचिन पनि सक्छ।’ तथ्य यस्तो हुँदाहुँदै  पनि प्रतिवेदनमा हामीले निर्दोष मान्छे पक्राउ गरेर कुटेर मारेको लेखिएको छ रे। सबै हामीलाई फसाउने योजनामा लागेका छन्। तस्करहरुसँग अथाह पैसा छ र त्यो पैसाले मन्त्री, सचिव, शासक, प्रशासक, न्यायाधीश, सीडीओ, प्रहरी, वकिल सबैलाई किनिदिन्छन्। अनि उनीहरुका पक्षमा लागेर इमानदार र देशभक्त कर्मचारीहरुको तेजोवध गरिन्छ; आत्मसम्मानमा ठेस पुर्‍याइन्छ र जेलमा कोचिन्छ।


गम्दै जाँदा मलाई यिनीहरुप्रति टीठ लाग्न थालेको छ। त्यसैले हिजोअस्ति जति आत्तिएको थिएँ, अब त्यो सबै हराउँदै गएको छ। यो देशका ठूला भनाउँदाहरुको ताल देखेर मलाई थुनिनुपरेकामा हीनताबोध होइन, आफूप्रति गौरव महसुस हुन थालेको छ। पहिले–पहिले आफूले गरेका सानातिना गल्ती सम्झँदा पनि डर र चिन्ता लाग्थ्यो; आत्मग्लानि हुन्थ्यो; तर निकै कमलाई यस्तो हुँदो रहेछ किनभने मैले देखिरहेको छु— यो देशमा महाराष्ट्रघाती, अक्षम्य गल्ती गर्ने, देशद्रोहीहरु नै मन्त्री, न्यायाधीश, सीडीओ हुँदा रहेछन्।

प्रतिक्रिया दिनुहोस

sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar6
sidebar6
web
analytics