किसानले उत्पादन गरेको दैनिक ५० हजार लिटर दूध खेर


वर्षपछि फेरी मुलुकमा मिल्क होलीडे सुरु भएको छ ।भारत लगायतका मूलकबाट निक्कै सस्तो मुल्यमा झोल दूध र पाउडर दूध, बटर अत्याधिक परिमाणमा नेपालमा भित्रिएपछि स्वदेशी किसानले उत्पादन गरेको झन्डै ५० हजार लिटर बिक्री हुन छाडेको छ । किसानले उत्पादन गरेको दूध बिक्री हुन छाडेपछि सात वटा जिल्लामा अघोषित रूपमा मिल्क होलिडे सुरु भएको छ ।

केन्द्रीय दुग्ध सहकारी संघले मंगलबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गरी किसानको दुध बिक्री हुन छाडेपछि मिल्क होलिडे सुरु भएको जानकारी दिएको छ । संघका अध्यक्ष नारायणप्रसाद देवकोटाले पूर्वी नेपालको इलामदेखि मिल्क होलिडे सुरु जानकारी दिए । संघकाअनुसार अहिले इलामसँगै चितवन, मोरङ, झापा, सुनसरी, धनकुट्टा, तेह्रथुम, चितवनलगायत सात जिल्लामा मिल्क होलिडे सुरु भएको छ । ‘विगतमा सिजनमा मिल्क होलिडे हुन्थ्यो,’ उनले भने ‘अहिले पहिलो पटक दूध कम उत्पादन हुने सिजनमै दूधको होलिडे भयो । ’

यसअघि २०५७र६८ र २०६६र६७ सालमा मिल्क होलिडेको समस्या विकराल रूपमा भोग्नु परेको उनले जानकारी दिए । उनले अहिले दूध लिन निजी क्षेत्रका डेरी, सरकारी स्वामित्वको दुग्ध विकास संस्थान(डीडीसी) ले दूध खरिद गर्न कटौती गरेपनि विभिन्न सहकारीले दुग्ध संकलन गर्ने कार्यमा कमी ल्याएको छ ।

निजीसहित सरकारी उद्योगले बाहिरबाट सस्तो मूल्यको पाउडर दूध भित्र्याएर त्यसैबाट झोल दूध बनाएर बजारमा बिक्री गर्दैआएका छन् । यसले गर्दा स्थानीय किसानले उत्पादन गरेको दूध बिक्री हुन छाडेको छ ।

संघले भारतीय लगानीको अमुललाई कुनै पनि शर्तमा नेपालमा भित्र्याउन नपाउने आफ्ना धारणासमेत सार्वजनिक गरेको छ । संघले अमुलले प्रयोग गर्ने प्रविधि नेपालमा भित्र्याउन पाइने भएपनि प्रत्यक्ष लगानी भित्र्याएर उत्पादन र बजारीकरण गर्न नपाउने आफ्नो औपचारिक धारणा प्रस्ट पारेको छ ।

संघले मिल्क होलिडेको बिषयमा कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री चक्रपाणी खनाल, अर्थ सचिव र राजस्व सचिवलाई भेटेर जानकारी गराएको छ । संघले मिल्क होलिडे समस्या तत्कालै समाधान नभए सिंहदरबारको मूल गेटमा दूध पोखेर प्रदर्शन गर्ने तयारीसमेत गरेको छ ।

सरकारी तथ्याङ्क अनुसार मुलुकमा दैनिक १९ लाख लिटर दूध उत्पादन हुन्छ । सहकारी संस्थाले मात्रै औसतमा ७ लाख लिटर दूध उत्पादन गर्दै आएको छ । यद्यपि नेपाली बजारमा ३र४ लाख दुध अपुग भएको केन्द्रीय दुग्ध सहकारी संघको भनाइ छ । संघले भारतलगायत तेस्रो मुलुकबाट आयात हुने झोल दूध र पाउडर दूधको भन्सार आयात दरमा ३५ प्रतिशत शुल्क बृद्धि गर्नुपर्ने माग अघि सारेको छ । यसबाहेक संघले १४ सुत्रीय मागसमेत अघि सारेको छ ।

यस्तो छ मागहरू

१. सरकारले लागत मूल्य घटाउन, उत्पादन बढाउन र व्यवसाय प्रवर्द्धनका लागि किसानलाई सहकारी शिक्षा तथा तालिमको व्यवस्था गर्नुपर्ने ।
२. सरकारले अल्पकालीन र दीर्घकालिन योजना बनाई दूध अभिवृद्धि मात्र होइन किसानले उत्पादन गरेको दूधको बजारको सुनिश्चितता गर्नुपर्ने ।
३. सहकारी साझेदारीमा दुग्ध उद्योग सञ्चालन गर्न नीतिगत रूपमा नै व्यवस्थापन गर्नुपर्ने ।
४. ५० प्रतिशत विद्युत महसुल अनुदानको निरन्तरता ।
५. ५० प्रतिशत दुग्ध जन्य पदार्थमा लागेको मुल्य अभिबृद्धि कर छुटको निरन्तरता ।
६. विदेशबाट आयातित दुग्धजन्य पदार्थ र धुलो दूधमा हाल लगाइएको भन्सार दरमा ३५ प्रतिशत बृद्धि गर्नुपर्ने ।
७. विदेशबाट आयातित कच्चा दूध(झोल दूध) लाई पूर्ण रूपमा रोक लगाउनुपर्ने ।
८. दुग्ध संकलन, चिस्यान तथा ढुवानीका प्रविधिमा ५० प्रतिशत अनुदानको व्यवस्था गर्नुपर्ने ।
९. युवाहरूलाई पशुपालन व्यवसायमा आकर्षित गर्न पाँच लाख व्यवसाय धितो सहुलियत कर्जा उपलब्ध गराउने ।
१०. हाल बन्द भएका धुलो दूध कारखाना चितवन मिल्क नियमित संचालन गराउने र पोखराको सुजल डेरी पूर्ण क्षमतामा संचालनमा ल्याउनुपर्ने ।
११. दुग्ध विकास संस्थानले संचालन गरेको धुलो दूध कारखाना नियमित रूपमा पूर्ण क्षमतामा संचालन गर्ने ।
१२. सहकारी साझेदारीमा दूध भण्डारण गर्न ४० हजार क्षमताको दुग्ध चिस्यान केन्द्र स्थापना गर्न बजेट व्यवस्थापन गर्नुपर्ने ।
१३. सहकारी साझेदारीमा धुलो दूध कारखानाको स्थापनाको लागि आवश्यक बजेट व्यवस्थापन गर्नुपर्ने ।
१४. उत्पादनको आधारमा प्रतिलिटर अनुदानलाई कूल राष्ट्रिय दुग्ध उत्पादनको आधारमा बृद्धि गरी प्रति लिटर तीन रुपैयाँ पुरयाउनुपर्ने ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics