दसैंमा जेल बस्नुपर्दा…

गैंडालाई चार वर्ष’ गैंडासम्बन्धी कमलजङ्ग कुँवरद्धारा लिखित पुस्तक हो । यो पुस्तक वि.सं २०६६ साउन महिनामा ‘चित्रबहादुर कुँवर स्मृति गैँडा संरक्षण प्रतिष्ठान’ ले प्रकाशनगरी बजारमा ल्याएको थियो । यो पुस्तक हामीले प्रत्येक शनिबार नेचर खबरअनलाइनबाट प्रकाशित गर्दै आइरहेका छौँ । पढौँ पुस्तकको ४५   औं अंश –

शुक्रबार, भदौ ३०

‘हेटौँडा पुनरावेदन अदालतमा ३० गते पेसी छ’ भनिएकाले म व्यग्रतासाथ त्यसको प्रतीक्षामा थिएँ। कम्तीमा धरौटीमा रिहा गरिएला भन्ने आशामा बसिरहेको थिएँ। यसैबीच चिफ वार्डेन टीकाराम अधिकारीले ‘पेसी अर्को शुक्रबार सार्नुपर्ने भयो’ भनेर फोन गर्नुभयो। आज हुनुपर्ने पेसी असोज ६ गतेका लागि सर्‍यो। मैले आमालाई सम्झेँ; प्रमिला र सानो फुच्चेलाई सम्झेँ। म के भनेर सम्झाऊँ उनीहरुलाई? मैले उनीहरुलाई धेरै ढाँटिसकेको छु। पटक–पटक छुट्ने भाका राख्दै, थप्दै आइरहेको छु। अर्को शुक्रबार छाड्छ; तीन दिनपछि हुन्छ; एक हप्ता लाग्ने भयो; पन्ध्र दिनपछि हुन्छ; न्यायाधीश आएको छैन; फाइल पुगेनछ समयमा; मुद्दा नै मन्त्रालयमा फिर्ता हुँदै छ; काम हुँदै  छ; मलाई केही हुँदैन आदि–आदि। कतिन्जेल ढाँट्ने र कति पटक निराश बनाएर रूवाउने उनीहरुलाई? यसैबीच जिल्ला वन अधिकृत विजयराज पौडेलले ‘पल्पसा क्याफे’ उपन्यास पढ्न पठाइदिनुभयो। यसभन्दा अघि सुराकी भेटघाट, मान्छे पक्राउ, छानबिन र रातदिनको दौडधूपले कुनै पुस्तक पढ्ने समय हुँदैनथ्यो। अहिलेचाहिँ समय पर्याप्त छ। पुस्तक पहिला रितेशजीले पढ्नुभयो। त्यसपछि मैले पढ्न सुरू गरेँ। सार्‍है चाखलाग्दो, घटनामा उल्लेख भएको ठाउँमा आफैँ पुगे जस्तो, भाषा आफ्नै गाउँ–ठाउँमा बोलिने जस्तो, दृश्य आफ्नै गाउँको परिवेशसँग मिले जस्तो।द्दटद्द गैँडालाई चार वर्ष

शुक्रबार, असोज ६

आज पेसी भनिएको थियो, तर पुनरावेदन अदालतका मुख्य न्यायाधीश गोविन्दप्रसाद पराजुली समेतले तीन दिनपछि दसैँ बिदा सुरू हुन लागेकाले त्यसअघि पेसीउपर बहस नगराउने निर्णय गरेछन्। आफ्ना परिवारसँग बसेर दसैँ मनाउन पाउने हाम्रो सपना चकनाचुर भयो। यसैबीच बुद्धिबहादुर प्रजाले फोन गरेर गैँडा चोरी सिकारको अभियोगमा जेल–जीवन बिताइरहेका रामशरण विक र आफूसमेत तेर्‍ह जनालाई नेपाल सरकारले जेल सजाय माफी दिएको कुरा सुनायो। निर्दोष, कर्तव्यनिष्ठ कर्मचारीलाई जेलमा जाकेर तस्करहरुलाई छाड्न कति हतार हुँदो रहेछ यिनीहरुलाई? हुन पनि, जसले दसैँ उज्यालो पारिदिन्छन् तिनको हित नसोचेर हामी जस्ता नैतिकताको पछि लाग्नेलाई किन वास्ता गरून् उनीहरुले?

शनिबार, असोज ७

दिउँसो तीन बजेको समाचारमा रेडियोले कंचनजङ्घा संरक्षण क्षेत्र अन्तर्गत ताप्लेजुङ्ग को घुन्सा क्षेत्रमा एउटा हेलिकप्टर सम्पर्कविहीन भएको खबर प्रसारण गरेको थियो। त्यसमा  कंचनजङ्घा संंरक्षण क्षेत्र स्थानीय बासिन्दालाई हस्तान्तरण गर्न गएका वनमन्त्रीसहित विभिन्न महानुभाव हुनुहुन्थ्यो। डा. तीर्थमान मास्के, नारायणप्रसाद पौडेल लगायत वातावरण तथा वन्यजन्तु संरक्षण क्षेत्रका विशिष्ट व्यक्तित्व चढेको हेलिकप्टर बेपत्ता भएको कुराले मलाई विशेष चिन्तित बनाएको थियो।

सोमबार, असोज ९

दुई दिन छटपटीमै बित्यो। खोजतलास जारी भए पनि अति दुर्गम क्षेत्र र खराब मौसमका कारण हेलिकप्टर फेला पर्न सकेन। आज दिउँसो डेढ बजेको समाचारमा हेलिकप्टर दुर्घटनाग्रस्त अवस्थामा भेटिएको र त्यसमा रहेका सबै यात्रुको निधन भएको खबर आयो। त्यसले उहाँहरु जिउँदै रहेको समाचार आउँछ कि भन्ने झिनो आशामा तुषारापात हुन पुग्यो र म स्तब्ध भएँ।डा. तीर्थमान मास्के एक हप्ताअगाडि मात्र मलाई भेट्न आउनुभएको थियो। मैले ‘डायरी लेख्दै छु’ भन्दा उहाँले भन्नुभएको थियो– ‘पुस्तक बनाएर प्रकाशित गर्नुपर्छ।’ मैले ‘हुन्छ’ भनेको थिएँ। उहाँ मलाई प्रोत्साहन दिँदै हुनुहुन्थ्यो– ‘तपाईंलाई सबै थाहा छ; लेख्नुस्, गाइडलाइन बन्छ।’ उहाँले ‘आई एम प्राउड अफ यु’ भन्दा म गौरवले प्रफुल्लित भएको थिएँ। तर आज शून्य–शून्य लागिरहेको छ उहाँको दुःखद निधनको खबरले। उहाँ र उहाँ जस्ता संरक्षण क्षेत्रका हस्तीहरुको सुझाव आफ्नो पुस्तकमा समेट्ने मेरो धोको अब कहिल्यै पूरा हुनेवाला छैन।

शुक्रबार, असोज १३

आज फूलपाती। बिहान प्रमिलाले फोन गरेकी थिइन्। छोराबारे सोधेँ। टीभीमा आउने पात्रहरु उसलाई बाबा जस्तो लाग्छ रे। ‘बाबा’ भनेर बोलाउँछ रे। बाटामा मेरो जस्तै सर्ट लगाएर हिँडेको मान्छे देख्यो भने ‘उः बाबा’ भन्छ रे। माइलो अंकल हुँदासम्म उसैसँग मात्र बस्थ्यो रे। कान्छो अंकल आएको दिन बाबा नै आए जस्तो लागेर उसलाई झम्टन गएछ। त्यस बेला बाबा नपाएर अलमल्ल पर्‍यो रे। फेरि भोलिपल्टदेखि बाबा जस्तो लागेको कान्छो अंकलसँग खेल्न थालेको छ रे। बाबाको नियास्रो मेटेको होला।

सोमबार, असोज १६

दसैँको टीका थियो। बिहान आमा, ममी (सासू), मामा, प्रमिलासँग फोन सम्पर्क भयो। माइज्यूले पनि फोन गर्नुभयो। हामीलाई प्रहरी इन्स्पेक्टरहरुको मेसमा राखिएको टीभी हेर्न प्रायः छुट थियो। हामी त्यसमा आउने फिल्म हेरेर समय कटाउने गर्दथ्यौँ। टीकाको दिन दिउँसो ‘रङ्ग दे वसन्ती’ हेरेँ। फिल्ममा अन्यायलाई चुपचाप सहनु र निष्क्रिय भएर जिउनु मर्नुसरह हो भन्न खोजिएको रहेछ। देश र समाजका लागि केही गरेर मर्नु नै ठूलो कुरा हो भन्ने फिल्मको मुख्य सन्देश रहेछ। भारतीय तेल निगमको इमानदार कर्मचारीले कमिसन खान इन्कार गरेको रतेलमा मिसावट रोक्न खोजेकामा गोली हानी उसको हत्या गरिएको जस्ता प्रसङ्गहरु ‘एक्स्ट्रा सट’ भनेर फिल्मको बीचबीचमा बेग्लै देखाइएको थियो।

शुक्रबार, असोज २७

बडो व्यग्रतापूर्वक प्रतीक्षा थियो यस दिनको। दसैँको लामो बिदापछिको पहिलो शुक्रबार भएकाले पुनरावेदन अदालत हेटौँडामा हाम्रो मुद्दाको पेसी थियो। हामी नवलपरासीमै थियौँ। सबैतिरबाट सकारात्मक नै छ भन्ने खबर आइरहेको थियो। चिफ वार्डेन टीकाराम अधिकारी र वकिलहरु भन्दै हुनुहुन्थ्यो– ‘हामी सबै ढुक्क छौँ आज।’ म पनि राम्रै होला भन्ने विश्वासमा थिएँ। के होला, कसो होला भन्ने छटपटीबीच दिउँसो दुई बजेतिर समय कटाउन म लुडो खेल्न थालेँ। साढे तीन बजेतिर घडी हेरेर रितेशजीलाई भनेँ– ‘बहस हुँदै छ होला।’ उहाँले भन्नुभयो– ‘अघि पर्सा वन्यजन्तु आरक्षका रेन्जरलाई फोन गरेको थिएँ। बहस सिध्दियो; म एयरपोर्टतर्फ लाग्दै छु भन्नुभयो।’ त्यसो भए निर्णय आइसक्यो होला भनेर ममीको मोबाइलमा फोन गरेको, ‘सम्पर्क हुन सकेन’ भन्ने सन्देश आयो। मलाई शंका लाग्यो— निर्णय नकारात्मक आएकाले ममीहरु हामीलाई फोन नगरी बाटो लाग्नुभएछ कि क्या हो! त्यसपछि कृष्णभक्त वकिललाई फोन गर्‍यौँ। उनले भने– ‘जिल्लाकै निर्णय सदर गर्‍यो।’ मेरो सास बढ्यो; अवाक् भएँ। पछि ममी पर्सा बजार आइपुगेपछि फोन लाग्यो; भक्कानो छाडेर रूँदै भन्नुभयो– ‘बाबू, मैले केही गर्न सकिनँ।’ मैले सकेसम्म सम्झाएँ। अलिक बेरपछि यो अशुभ समाचार सुनाउन र सम्झाउन घरमा फोन गरेँ। आमाले फोन उठाउनुभयो। यो खबर पहिल्यै पाइसक्नुभएको रहेछ; रूँदै हुनुहुन्थ्यो। जब ठूलो पीर पर्छ, प्रमिला छोरालाई लिएर सुत्छिन्। आज पनि रूँदै सुतिरहेकी रहिछन्।

अदालतबाट कस्तो निर्णय आउने हो भनेर २६ गते राति म धेरै बेरसम्म राम्ररी निदाउन सकिरहेको थिइनँ। निदाउनका लागि धेरै प्रयत्न गरेँ, एकै छिनपछि निदाएछु। सपना देखेँ— राति कतै जानु थियो; सानो वाहन थियो मसँग, पहिले मोटरसाइकल जस्तो र पछि जिप जस्तो। अटाई–नअटाई मान्छे चढेका थियौँ। अलि पर पुगेपछि हेडलाइट बलेन। मैले रिसाएर ठाकठुक पारेँ। पछाडि सिटमा बसेको साथीले भन्यो– ‘बिग्रेको हेडलाइट पनि ठोकेर बल्छ र?’ त्यत्तिकैमा बाटो अगाडि थुप्रो देखियो। थुप्रोमाथि चढाएर भए पनि गाडी अगाडि लान के खोज्दै थिएँ, ब्युँझिए । मलाई सपनाको संकेत नराम्रो लाग्यो र मनमा कुरा खेल्न थाले। फेरि निद्रा लागेन। यसभन्दा अगाडि पनि यस्तै खालका सपना देख्ने गरेको थिएँ। हाम्राविरूद्ध भइरहेका षड्यन्त्र र गतिविधिको तीव्र दबाबका कारण ममा प्रतिशोधको भावना अत्यन्तै बढ्दै गएको छ। मनले बारम्बार भनिरहन्छ— तैँले जसरी भए पनि षड्यन्त्रकारीहरुसँग प्रतिशोध लिनैपर्छ। लाग्छ, यस्तै निर्णय हुँदै गए भने मैले कठोर निर्णय लिन बाध्य हुनैपर्छ। अन्यायी, तस्कर र माफियाहरुको संहार गर्न भगवान्ले मलाई अर्‍हाए भने म टाउकामा कात्रो बाँधेर त्यसो गर्ने निर्णयमा उत्रन पनि सक्छु। भित्री मनले भन्छ— मेरो धैर्यको सीमा नाघ्ने परिस्थिति बनाउँदै लगेर भगवान्ले मबाट ती आततायीहरुको संहार गराउन चाहेको हुनुपर्छ; महाभारतको अर्जुनझैँ मलाई एउटा निमित्त बनाएर!

कमलजङ्ग कुँवर

प्रतिक्रिया दिनुहोस

web
analytics