उच्च पहाडी क्षेत्रमा हिमपात बन्यो विकासको बाधक



म्याग्दीको उच्च पहाडी बस्तीहरुमा सातौंपटक हिमपात भएको छ । सोमबार रातिदेखि भएको वर्षा र हिमपातका कारण विकास निर्माणका योजनाहरु प्रभावित भएका छन् ।
धवलागिरी गाउँपालिकाको गुर्जा, लुलाङ, मंगलाको टोड्के, झाँक्रीपानी, रघुगङ्गा गाउँपालिकाको रुइसे, भगवती, कुइनेमंगले, अन्नपूर्ण गाउँपालिकाको घोडेपानी, चित्रे, टिकोट, राम्चे लगायतका बस्तीमा हिउँको प्रभाव परेको छ ।

गुर्जामा एक फिट हिउँ जमेको स्थानीय जनकल्याण माविका शिक्षक अशोक छन्त्यालले जानकारी दिए । यसअघि यही फागुन ९ गते हिमपात भएको थियो । सो हिउँ पग्लिनसक्दै थपिएको हिउँले चिसो बढेको छ ।

विगतका भन्दा यो वर्ष धेरै पटक लगातार हिउँ परेको छ । हिमपातका कारण विकास निर्माणका योजना कार्यान्वयन प्रभावित भएको गुर्जाका वडाध्यक्ष झकबहादुर छन्त्यालले बताए ।
गुर्जामा यो वर्ष गाउँपालिकाको नौ वटा, संघीय सरकारको एउटा र प्रदेशको एउटा योजना छन् । योजना कार्यान्वयनका लागि उपभोक्ता समिति गठन भएको, सर्वेक्षण र डिजाइन गरिएको तर लगातारको हिउँले काम शुरु गर्न नसकिएको उपभोक्ता समितिका पदाधिकारीले बताएका छन् ।

करिब साढे दुई सय घरधुरीको बसोबास रहेको गुर्जा गाउँ जाने बाटोमा हिउँ जमेपछि आवतजावत र ढुवानी ठप्प भएको छ । रघुगंगा गाउँपालिकाको बेग–चिमखोला सडकमा हिउँ जमेर यातायातका साधन रोकिएका छन् । अन्नपूर्ण गाउँपालिकाको नारच्याङमा निर्माणाधीन नीलगिरि र नीलगिरि क्यासकेड जलविद्युत आयोजना प्रभावित भएका छन् ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics