जलवायु संकट अब खेलकुद मैदानहरूमा : तातिनेछन् खेलाडी र दर्शक

२०२६ को फिफा विश्वकपमा देखिन्छ असर ?

काठमाडौं । अत्यधिक गर्मीमा तातिएका रंगशालाहरू, बाढी र खडेरीसँग जुधिरहेका मैदानहरू । यो केवल भविष्यको कल्पना मात्र होइन, वर्तमान समयको वास्तविकता पनि हो । अब फुटबलको रोमाञ्चकता जलवायु संकटको मारमा पर्न थालिसक्यो भन्ने खुलासा विभिन्न अध्ययनहरूले गरेका छन् ।

एक नयाँ अध्ययन प्रतिवेदनले जलवायु संकट अब खेलकुद मैदानहरूमा पनि पुगेको खुलासा गरेको हो । विज्ञहरूले २०२६ को फिफा विश्वकप भविष्यमा आउने चुनौतीहरूको एक झलक मात्र भएको चेतावनी पनि दिएका छन् ।

प्रतिवेदनका अनुसार २०२६ को फिफा फुटबल विश्वकप उत्तर अमेरिकामा हुने अन्तिम प्रमुख प्रतियोगिता हुन सक्छ जसमा जलवायु अनुकूलन बिना खेलकुद सम्भव छ । र, त्यसपछि यस्तो नहुन सक्छ ।

यसको अर्थ आगामी वर्षहरूमा खेलकुद मैदानहरूले असहनीय गर्मी, खडेरी, गर्मीको लहर र बाढी जस्ता जलवायु प्रकोपहरूको सामना गर्न सक्ने विज्ञहरू बताउँछन् ।

आगामी फिफा विश्वकप जुन ११ देखि जुलाई १९, २०२६ को बीचमा आयोजना हुनेछ । यो तीन उत्तर अमेरिकी देश क्यानडा, मेक्सिको र अमेरिकाका १६ शहरहरूले संयुक्त रूपमा आयोजना गर्नेछन् । यस खेलमा विश्वका ४८ टोलीले भाग लिनेछन् ।

‘पिचेस इन पेरिल’ शीर्षकको जारी प्रतिवेदनले २०२६ को विश्वकपका १६ मध्ये १० स्टेडियमहरू पहिले नै सुरक्षित सीमा पार गरिसकेका र गम्भीर गर्मीको चपेटामा परेको खुलासा गरेको छ । प्रतिवेदनका अनुसार २०५० सम्ममा, खेलाडीहरू र दर्शकहरूलाई चर्को गर्मीबाट जोगाउन लगभग ९० प्रतिशत स्टेडियमहरूले ठूला परिवर्तनहरू गर्नुपर्नेछ ।



पछिल्लो समय नै गर्मी, बाढी, खडेरी वा वन डढेलो जस्ता प्रकोपहरूले हरेक साना र ठूला मैदानमा खेलकुद असम्भव बनाइरहेका छन् । तर, यो कुरालाई अन्य मुलुकहरूले गम्भिर रूपमा लिएको पाइँदैन ।

जलवायु विश्लेषण फर्म जुपिटर इन्टेलिजेन्ससँगको सहकार्यमा फुटबल फर फ्युचर र कमन गोलले यो अध्ययन प्रतिवेदन तयार पारेको हो । उक्त प्रतिवेदनमा भनिएको छ, ‘ठूला स्टेडियमहरू मात्र होइन, ती साना मैदानहरू पनि जलवायु संकटको चपेटामा छन्, जहाँबाट लियोनेल मेस्सी र क्रिस्टियानो रोनाल्डो जस्ता महान खेलाडीहरूले आफ्नो करियर सुरु गरेका थिए ।’

पहिलो पटक, यो रिपोर्टले आईपीसीसी मापदण्डको आधारमा २०२६ को विश्वकपका सबै मैदानहरूको जलवायु जोखिमको मूल्यांकन गरेको छ । यसमा २०३० र २०३४ का आयोजक रंगशालाहरू साथै लियोनेल मेस्सी र क्रिस्टियानो रोनाल्डो जस्ता महान खेलाडीहरूको बाल्यकालको मैदानहरू पनि समावेश गरिएका छन् ।

प्रतिवेदनले २०५० सम्ममा एक तिहाइ रंगशालाहरूले गम्भीर पानी अभावको सामना गर्न सक्ने चेतावनी पनि दिएको छ । यसले मैदानको मर्मतसम्भार, शीतलन प्रणाली र खेल जारी राख्ने क्षमतामा असर गर्नेछ ।

यति मात्र होइन, आगामी विश्वकप स्थलहरू – २०३० मा मोरक्को, स्पेन र पोर्चुगल र २०३४ मा साउदी अरेबियामा पनि जलवायु संकट मडारिरहेको छ । यस वर्षको अमेरिकामा क्लब विश्वकपले हालै आउने खतराहरूको झलक देखाएको छ । अब मौसमकै कारण खेलाडीहरूले अत्यन्तै कठोर अवस्थामा खेल्नु पर्नेछ ।

प्रतिवेदनका अनुसार अमेरिका, क्यानडा र मेक्सिकोका १६ मध्ये १४ रंगशालाहरूले २०२५ मा नै अत्यधिक गर्मी, मुसलधारे वर्षा र बाढीका तीन प्रमुख जलवायु खतराहरूको लागि सुरक्षित सीमा पार गरेको उल्लेख गरेको छ ।



मैदानमा बढ्दैछ तापक्रम
१३ रंगशालाहरूले प्रत्येक गर्मीमा कम्तिमा एक दिन यस्तो अवस्थाको सामना गर्छन्, जब तापक्रम फिफाको वेट–बल्ब ग्लोब तापक्रम सीमा ३२ डिग्री सेल्सियसभन्दा माथि जान्छ । यो स्केल सूर्यमा मानव शरीरमा तापको प्रभाव मापन गर्ने अन्तर्राष्ट्रिय मापदण्ड हो ।

एटलान्टा, डलास, ह्युस्टन, क्यान्सस सिटी, मियामी र मोन्टेरी जस्ता शहरहरूमा, तापक्रम दुई महिनाभन्दा बढी समयसम्म ३२ डिग्री सेल्सियसको सीमाभन्दा माथि रहेको थियो ।

त्यस्तै १० रंगशालाहरूले प्रत्येक गर्मीमा कम्तिमा एक दिन यस्तो अवस्थाको सामना गर्छन्, जब तापक्रम ३५ डिग्री सेल्सियस पुग्छ । यी मध्ये, डलास (३१ दिन) र ह्युस्टन (५१ दिन) सबैभन्दा बढी प्रभावित भएका छन् । यध्यपि डलास र ह्युस्टनमा रंगशालाहरूको छानाले गर्मीबाट केही सुरक्षा प्रदान गर्नसक्ने बताइन्छ, तर जलवायु संकट केवल ठूला मैदानहरूमा मात्र सीमित नरहेको प्रतिवेदनमा उल्लेख छ ।

प्रतिवेदनका अनुसार २०५० सम्ममा, मेस्सी, रोनाल्डो, मोहम्मद सलाह र किलियन एमबाप्पेको बाल्यकालको दुई तिहाइ मैदान यति तातो हुनेछ कि त्यहाँ खेल्न गाह्रो हुनेछ । साथै, दक्षिण (ग्लोबल साउथ) का खेलाडीहरू पहिले नै उत्तरको तुलनामा ७ गुणा बढी दिन असहनीय गर्मीमा खेल्न बाध्य छन् ।



मोहम्मद सलाहको इजिप्टमा रहेको घरेलु मैदान अत्यधिक गर्मीका कारण प्रत्येक वर्ष एक महिनाभन्दा बढी खेल्न उपयुक्त नहुने प्रतिवेदनले जनाएको छ । यसैबीच, नाइजेरियाका कप्तान विलियम ट्रुस्ट–इकोङको बाल्यकालको मैदानले २०५० सम्ममा वर्षको ३३८ दिनसम्म चर्को गर्मीको सामना गर्नेछ ।

मौसमकै कारण विज्ञहरूले २०२६ को विश्वकपका खेलहरू बिहान ९ बजे सुरु गर्नुपर्ने सुझाव पनि दिएका छन् ।

स्पेनका विश्वकप विजेता जुआन माटा भन्छन्, ‘जलवायु संकटको वास्तविकतालाई बेवास्ता गर्न सकिँदैन । यो पहिलेभन्दा धेरै देखिने छ, कहिले रेकर्ड तोड्ने गर्मीको लहर र कहिले भ्यालेन्सिया जस्ता विनाशकारी बाढीको साथ यो उपस्थित भएको छ ।’

उनी थप्छन्, ‘फुटबलले सधैं मानिसहरूलाई जोडेको छ । तर यसलाई मौसम अनुकुल कसरी बनाउने हामीले अझै सोचेका छैर्नौ । हामीले आफ्नो र भावी पुस्ताको लागि यो चुनौतीको सामना गर्नुपर्छ ।’

प्रतिवेदनले फुटबल उद्योगलाई २०४० सम्ममा नेट–शून्य उत्सर्जनको प्रतिज्ञा गर्न र अनुकूलन कोष सिर्जना गर्न अपील पनि गरेको छ । उत्तर अमेरिकाका ३ हजार ६०० प्रशंसकहरूमा गरिएको सर्वेक्षणमा, ९१ प्रतिशत प्रशंसकहरूले २०२६ को विश्वकप ‘दिगोपनको रोल मोडेल’ बन्नु पर्ने बताएका छन् ।

यस्ताे छ अध्ययन प्रतिवेदन

रविन भट्टराई

प्रतिक्रिया दिनुहोस

web
analytics