जलवायु परिवर्तनको असर : मकै, भटमास र जुनेलो पर्दैछन् संकटमा
१ डिग्री तापक्रम बढ्दा १० प्रतिशतसम्म उत्पादन कम

काठमाडौं । जलवायु परिवर्तन कठोर वास्तविकता हो । यसको असर मौसममा मात्रै परेको छैन, हाम्रो दैनिक आहार र खाद्यमा पनि पर्न थालेको छ । खडेरीले खाद्य उत्पादनलाई अस्थिर बनाएको छ । अहिलेका खाद्य उत्पादन अबको केही वर्षमा देख्न पाइन्छ/पाइन्न टुंगो छैन । वैज्ञानिकहरूले गरेको एक अध्ययनले वर्षौंदेखि अन्न उत्पादनमा ठूलो उतारचढाव आएको पनि देखाएको छ ।
ब्रिटिश कोलम्बिया विश्वविद्यालयसँग सम्बन्धित वैज्ञानिकहरूको नेतृत्वमा गरिएको एक नयाँ विश्वव्यापी अध्ययनले बढ्दो गर्मी र खडेरीले खाद्य उत्पादनलाई अस्थिर बनाएको देखाएको हो । यसले मूल्यमा मात्र असर गरिरहेको छैन, खाद्य सुरक्षा र आर्थिक क्षेत्रमा पनि असर गरिरहेको छ ।
अध्ययनले बढ्दो गर्मी र खडेरीले बाली उत्पादनलाई अस्थिर बनाएको र वर्षौंदेखि उत्पादनमा थप उतारचढाव भइरहेको प्रष्ट पार्छ । यसले अबका कुनै वर्षमा आर्थिक संकट र भोकमरी निम्त्याउन सक्छ ।
यस अध्ययनमा, वैज्ञानिकहरूले विश्वका ३ महत्त्वपूर्ण बालीहरू, मकै, भटमास र जुनेलोको उत्पादनमा वर्ष–दर–वर्ष परिवर्तनहरू लाई केन्द्रमा राखेर अध्ययन गरेका थिए । यस अध्ययनबाट विश्वव्यापी तापक्रममा प्रत्येक डिग्री सेल्सियस वृद्धिसँगै मकैको उत्पादनमा ७ प्रतिशत, भटमासको १९ प्रतिशत र जुनेलोको १० प्रतिशतले घटेको पाइएको छ ।
अध्ययनमा संलग्न विज्ञ भन्छन्, ‘किसानहरूका लागि, यी परिवर्तनहरू केवल संख्या मात्र होइनन् । उनीहरूको परिवारको लागि कल्याण र विनाश बीचको भिन्नता पनि हो ।’
यदि तापक्रम २ डिग्री सेल्सियसले मात्र बढ्यो भने, एक शताब्दी अघि एक पटक उत्पादन घट्ने भटमास बालीहरू प्रत्येक २५ वर्षमा पुनः घट्न सक्छन् । मकै प्रत्येक ४९ वर्षमा र जुनेलो प्रत्येक ५४ वर्षमा ठूलो परिमाणमा घट्न सक्छन् ।
यदि तापक्रम नियन्त्रण गरिएन र यसरी नै बढ्दै गयो भने, परिणामहरू धेरै गम्भीर हुन सक्ने चेतावनी विज्ञले दिएका छन् । शताब्दीको अन्त्यसम्ममा, भटमास बालीहरू लोप हुने अवस्था आउने अध्ययन प्रतिवेदनमा उल्लेख गरिएको छ ।
अध्ययनमा संलग्न अनुसन्धानकर्ता डा. जोनाथन प्रोक्टर भन्छन्, ‘किसानहरू प्रत्येक वर्ष फसलमा बाँच्छन् । खराब वर्षले उनीहरूलाई गम्भीर आर्थिक क्षति र भोकमरी निम्त्याउन सक्छ ।’ वैज्ञानिकहरूले सबैभन्दा बढी जोखिममा रहेका क्षेत्रहरूमा पर्याप्त आर्थिक सुरक्षा समेत नभएको बताएका छन् । यी क्षेत्रहरूमा उप–सहारा अफ्रिका, मध्य अमेरिका र दक्षिण एसियाली देशहरू हुन् ।
यसको प्रभाव कमजोर देशहरूमा मात्र सीमित छैन । उदाहरणका लागि, २०१२ मा, अमेरिकाको मध्यपश्चिममा खडेरी र गर्मीको लहरका कारण, मकै र भटमासको उत्पादन २० प्रतिशतले घट्यो, जसले गर्दा अमेरिकी अर्थतन्त्रमा अर्बौं डलरको नोक्सान भयो ।
साथै, यसका कारण, विश्व बजारमा खाद्यान्नको मूल्य १० प्रतिशतले बढ्यो । बालीमा अस्थिरताले विश्वभरका बजारहरूलाई असर गर्छ । डा. प्रोक्टर भन्छन्, ‘सबैले बाली उब्जाउँदैनन्, तर सबैले खानुपर्छ । यस्तो अवस्थामा, जब उत्पादन अस्थिर हुन्छ, यसले सबैलाई असर गर्नेछ ।’
गर्मी र खडेरीको दोहोरो आक्रमण
अध्ययनमा, वैज्ञानिकहरूले बाली रेकर्डसँगै तापक्रम र माटोको ओसिलोपनको पनि विश्लेषण गरेका छन् । उनीहरूका अनुसार, यो अस्थिरताको मुख्य कारण तातो र सुख्खा अवस्थाको एकैसाथ घटना हो । तातो मौसमले माटोलाई सुकाउँछ, सुख्खा माटोले तापक्रम र गर्मीको लहरको जोखिमलाई अझ बढाउँछ ।
छोटो समयको लागि पनि तातो र सुख्खा मौसमले बालीलाई क्षति पु¥याउन सक्छ । यसले बिरुवाहरूको परागकणलाई असर गर्छ । जसको परिणामस्वरूप वृद्धि समय कम हुन्छ र बिरुवाहरू कमजोर हुने अध्ययनले देखाएको छ ।
जहाँ सिँचाइ सुविधा छ, त्यहाँ अस्थिरता कम गर्न सकिन्छ । तर सबैभन्दा बढी जोखिममा रहेका क्षेत्रहरूमा या त पानीको अभाव हुन्छ वा सिँचाइको लागि पर्याप्त पूर्वाधार छैन । यस्तो अवस्थामा, वैज्ञानिकहरूले यसबाट बच्नको लागि गर्मी र खडेरी प्रतिरोधी बालीसँगै सही मौसम पूर्वानुमान, माटोको उचित व्यवस्थापन र बाली बीमा जस्ता बलियो वित्तीय सुरक्षा जालहरूमा लगानी आवश्यक पर्ने सुझाव दिएका छन् ।
यद्यपि, उनीहरूको अनुसार, विश्वव्यापी तापक्रम वृद्धि रोक्न उत्सर्जन घटाउनु सबैभन्दा भरपर्दो समाधान हो । यो अध्ययनको नतिजा अन्तर्राष्ट्रिय जर्नल साइन्स एडभान्सेसमा प्रकाशित भएको छ ।
यस्तो छ अध्ययन प्रतिवेदन
प्रतिक्रिया दिनुहोस