‘फानी’ को प्रभाव आज बेलुकीदेखि


शक्तिशाली चक्रवात ‘फानी’ नेपाल नआए पनि त्यसको प्रभावबाट आज बेलुकीदेखि पूर्वी र मध्य क्षेत्रमा हावाहुरी, मेघ गर्जन र चट्याङसहित वर्षा हुने देखिएको छ । हावाहुरीसँगै भारी वर्षाको सम्भावना भएकाले सतर्क रहन मौसमविद्ले आग्रह गरेका छन् ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले फानी बंगालको खाडीको ओडिसा तटीय क्षेत्र नजिकैबाट विकसित चक्रवात प्रणाली शुक्रवार मध्याह्न ओडिसाको तटीय क्षेत्रमा भित्रिने र त्यसको प्रभाव नेपालसम्म पर्ने अनुमान गरेका छन् । प्रभावस्वरुप वर्षा तथा हावाहुरी चले पनि समुद्री आँधी फानी नेपालसम्मै आउने सम्भावना तत्काल देखिएको छैन ।

‘चक्रवात नेपालतर्फ आउने सम्भावना अहिलेसम्म नदेखिएता पनि यसको प्रभावबाट नेपालको पूर्वी र मध्य क्षेत्रमा आज (शुक्रवार) र भोलि (शनिवार) मौसम प्रभावित भई पूर्वी र मध्यका स्थानहरूमा मेघ गर्जनरचट्टयाङ तथा हावाहुरीसहित हल्कादेखि मध्यम वर्षा हुन सक्ने तथा एक दुई स्थानमा भारी वर्षा हुनसक्ने सम्भावना छ,’ जल तथा मौसम पूर्वानुमान महाशाखाले एक सूचना जारी गर्दै लेखेको छ ।

फानीको प्रभाव देशको हिमाली भेगमा पनि पर्ने लख महाशाखाले काटेको छ । महाशाखाका अनुसार, यसको असरले हिमाली क्षेत्रमा मध्यमदेखि भारी हिमपातको सम्भावना छ ।

देशको पश्चिम क्षेत्रका केही स्थानमा पनि हल्कादेखि मध्यम वर्षा हुनसक्छ ।

शुक्रवार र शनिवार मौसम प्रभावित बने पनि आइतबारबाट भने मौसममा सुधार आउने मौसमविदहरुले जनाएका छन् ।

फानी समुद्री आँधी हो । यसको प्रणाली समुद्री क्षेत्रमा विकसित हुने गर्छ । यस पटक बंगालको ओडिसा तटीय क्षेत्रमा यसको विकास भएको बताइएको छ । जसको प्रभाव भारतको ओडिसालगायत क्षेत्रमा परेको छ । शुक्रवार ल्यान्डफल पश्चात् यो प्रणाली उत्तर–पूर्व दिशातर्फ जाने र त्यसक्रममा कमजोर बन्ने भनाइ मौसमविद्हरूको छ ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics