किसानमा आशा जागेकाे वर्ष

फाइल फोटो


वितेको वर्ष कृषि क्षेत्रको विकासका लागि विभिन्न प्रयासहरु भए । जसले कृषि क्षेत्रमा केही न केही आशा र उत्साह थपेको छ ।


  • कृषि क्षेत्रको विकासमा प्रधानमन्त्री कृषि परियोजना सुरु  



  • किसानको हक हित सुनिश्चित गर्न किसान आयोग गठन



  • इतिहासमै सर्वाधिक धान फलेको वर्ष




प्रधानमन्त्री कृषि परियोजना


यो वर्ष कृषि विकास मन्त्रालयले कृषिको विकासका लागि प्रधानमन्त्री कृषि परियोजना सुरु गरेको छ । कृषिमा आधारित अर्थतन्त्रबाट व्यवसायिक कृषिजन्य उद्योग स्थापना गरी मुलुकलाई कृषिमा आत्मनिर्भर बनाउन यो कार्यक्रम लागू गरिएको हो । आगामी १० वर्षका लागि सञ्चालनमा आउने यो कार्यक्रमलाई सरकारले महत्वकांक्षी योजनाका रूपमा लिएको छ । कृषि विकास मन्त्रालयका प्रवक्ता योगेन्द्र कुमार कार्कीले भने, ‘प्रधानमन्त्री कृषि परियोजनाले किसानलाई कृषिकार्यमा प्रोत्साहन मिलेको छ ।’ कृषि विका यो कार्यक्रमका लागि सरकारले छुट्टै बजेट समेत विनियोजन गरेको छ ।

चालु आर्थिक बर्षमा प्रधानमन्त्री कृषि परियोजनाका लागि प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामा ५ अर्ब ७८ करोड रुपैयाँ बजेट विनियोजन गरिएको थियो । कृषि मन्त्रालयका प्रवक्ता कार्कीका अनुसार यो परियोजना सूरुको वर्ष भएकाले विनियोजित रकम सबै खर्च हुँदैन । कार्कीले भने, ‘यो अर्थिक बर्षभित्र ६० देखि ६५ प्रतिशत रकम विनियोजन गर्ने योजना हामीले बनाएका छौँ ।’ परियोजना अन्तर्गत नेपालको सबै प्रदेशका एक / एक जिल्लामा सम्भावना बोकेका एक/एक बाली उत्पादन गर्ने लक्ष्य बजेटमार्फत नै घोषणा गरिएको थियो ।

कार्यक्रमअन्तर्गत कृषि विकास मन्त्रालयले साना व्यावसायिक कृषि उत्पादन केन्द्र (पकेट), व्यावसायिक कृषि उत्पादन केन्द्र (ब्लक), व्यावसायिक कृषि उत्पादन तथा प्रशोधन केन्द्र (जोन) र कृषि औद्योगिक क्षेत्र (सुपर जोन)का रूपमा जिल्लाहरूलाई वर्गीकरण गरी कृषिसम्बन्धी कार्यक्रम सञ्चालनमा ल्याएको छ । यस योजना अन्तर्गत कुन जिल्लामा कस्तो कार्यक्रम कार्यान्वयनमा ल्याउने भन्ने कुरा जिल्ला कृषि विकास कार्यालयले गर्दै आइरहेको छ ।

किसान आयोग गठन


सरकारले चालु आर्थिक बर्ष अन्त्यतिर आइपुग्दा किसान आयोगको गठन गरेको छ । किसानको हक अधिकारको शुनिश्चितताका लागि यो आयोगको गठन गरिएको हो । कृषि पेसालाई आकर्षित बनाउन समयसापेक्ष अध्ययन तथा अनुसन्धानका गतिविधि सञ्चालन गर्न यो आयोगको गठन भएको हो । वस्तुगत संघ, उत्पादक सहकारी संघ र किसान सञ्जाल र संगठनहरूको क्षमता अभिवृद्धिसम्बन्धी योजना तयार पारी कृषिको क्षेत्रमा विकास गर्नका लागि यो आयोगको गठन गरिएको हो ।

किसानले कृषि उत्पादनमा आफ्नो लागत मुल्य पनि प्राप्त गर्न नसकेको अवस्थामा बालीको बजार पहुँच लाई सरलीकरण गर्न, बालीको गुणस्तर निर्धारण गर्न किसानले आफ्नो मुल्य प्राप्त गर्न सहज र सरलीकरण गर्न आयोगले सहयोग पुर्याउँछ । आयोगले सरकारी, गैरसरकारी र निजी क्षेत्रबाट कृषिसम्बन्धी सञ्चालित नीति, कार्यक्रम र परियोजना किसानमूखि भए नभएको विषयमा अनुगमन गर्ने कार्य समेत गर्छ । जसले गर्दा किसानका समस्या घट्ने देखिन्छ । साथै यस आयोग अन्तर्गत नै किसानसँग भएका परम्परागत ज्ञान, सीप, प्रविधि, रैथाने जातका बिउ र नश्ल तथा किसानले विकास गरेका बाली र पशुपन्छीसम्बन्धी नश्लमा पहुँच र उपभोग दर वृद्धि गराउने आवश्यक नीति समेत निर्माण गर्नेछ ।

इतिहासमै धेरै धान फलेको वर्ष


यो वर्ष सबैभन्दा धेरै धान उत्पादन भएको छ । हालसम्मको रेकर्ड तोड्दै यो वर्ष ५२ लाख मेट्रीक टन अर्थात् ५ अर्ब २० करोड किलोग्राम धान उत्पादन भएको छ । यो संख्या हालसम्मकै उच्च हो । यसअघि आर्थिक वर्ष २०६८/६९ मा ५० लाख ७२ हजार मेट्रिक टन धान उत्पादन भएको थियो । गत आर्थिक वर्ष २०७२/७३ को तुलनामा चालू आर्थिक वर्ष २०७३/७४ मा करिब नौ लाख मेट्रिक टन बढी धान फलेको छ ।

सरकारले कृषि उत्पादन बढाउन बर्षेनी बजेट बढाउँदै आएको छ । बजेट बढाउँदै लगेपनि प्रतिफल भने खासै भएको छैन । सरकारले पछिल्लो १० बर्षमा विनियोजन गरेको बजेट १० गुणाले बृद्धि भएपनि उत्पादकत्व बढ्न सकेको छैन । सरकारले चालु आर्थिक बर्ष २०७३/७४ का लागि २७ अर्ब ४३ करोड कृषि बजेट छुट्याएको थियो । सरकारले आगामी वर्षको लागि ३० अर्ब ५८ करोड प्रस्तावित बजेटको योजना निर्माण गरेको छ । यो रकम आर्थिक बर्ष २०६३/६४ को ठ्याक्कै १० गुणाले बढी हो । आर्थिक वर्ष ०६४/६५ मा ४ अर्ब १७ करोड बजेट विनियोजन हुँदा कृषिको वृद्धिदर ५ दशमलब ८० प्रतिशत पुगेको थियो भने पछिल्ला वर्षमा लगानीअनुसार उपलब्धि निकै कमजोर देखिन्छ ।

बजेट बढेको वर्ष
२०६७/६८      १० अर्व ४० करोड
६८/६९          १२ अर्व ४३ करोड
६९/७०          ११ अर्व ८९ करोड
७०/७१          २१ अर्व ४० करोड
७१/७२          २३ अर्व २८ करोड
७२/७३          २६ अर्व ६८ करोड
७३/७४          २७ अर्व ४३ करोड
७४/७५          ३० अर्व ५८ करोड (प्रस्तावित)


नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics