अब्बल आईटी पुस्ता, कमजोर सरकारी नीति

सुजता लिम्बू । विराटनगर 
फेसबुक बन्द गर्ने सरकारी घोषणापछि सुरु भएको जेनजी आन्दोलनले केही सातामै देशभरी व्यापक आगजनी, प्रदर्शन र असन्तोष फैलायो । आन्दोलन यति शक्तिशाली बन्यो कि सत्ता नै परिवर्तन गरायो । सडकमा उर्लिएको भीडको माग केवल सामाजिक सञ्जालको पहुँच मात्र थिएन, बरु देशको भविष्यप्रति सुन्ने कान र बुझ्ने नेतृत्वको खोजी पनि थियो । विज्ञहरू भन्छन्, ‘यो आन्दोलन फेसबुक बन्दको विरुद्धमा मात्र होइन, वर्षौंदेखिको भ्रष्टाचार र नेतृत्वले बारम्बार दोहोर्याएका गल्तीहरूले उत्पन्न गरेको भडाँस (निराशा) थियो ।’

सरकारले युवाहरूसँग समयमै संवाद नगर्दा यो संकट निम्तिएको उनीहरूको तर्क छ । सामाजिक सञ्जाल बन्द गरेर युवाको मुख थुन्न सकिँदैन । बरु, त्यही प्लेटफर्मलाई कसरी सकारात्मक रूपमा प्रयोग गर्ने भनेर युवासँगै छलफल गर्नुपर्ने सरोकारवालाहरूको भनाइ छ ।

समाजशास्त्री डा. चन्द्र उपाध्यायका अनुसार सरकारले न विज्ञहरूसँग परामर्श गर्यो न युवाको आवाज सुन्ने प्रयास नै । यसको परिणाम विश्वासको संकट, सडकमा क्रोध, र अन्ततः सत्ता परिवर्तन भयो ।

यही घटनापछि आईटी इन्जिनियर तथा ग्रीनल्यान्ड कलेज विराटनगरका शिक्षक शिवरतन शाह नेपालमा सीप, स्रोत र सिर्जनात्मकता भए पनि पर्याप्त लगानीको अभाव, स्टार्टअपलाई प्रोत्साहन गर्ने वातावरणको कमी र सरकारी नीतिको अनिश्चितता नै प्रमुख समस्या रहेको बताउँछन् ।

घरैमा बसेर स्वरोजगार बन्न र भविष्यमा आफ्नै उत्पादन बनाउन चाहना राखेर आईटी विषय रोजेका शाहले राज्यको नीतिमा युवाको क्षमताको कदर नहुँदा केही चुनौतीहरू बेहोर्नुपरेको सुनाए ।



‘नेपालमा आधारभूत ज्ञान त पाइन्छ, तर आईटी पढाइमा व्यावहारिक ज्ञान कम छ र पाठ्यक्रम पनि पुरानो छ,’ उनी भन्छन्, ‘आईटी उद्योगमा आउँदै गर्दा सैद्धान्तिक ज्ञान मात्र काम लाग्दैन, किनकि हाम्रो पाठ्यक्रम बजारको मागअनुसार अद्यावधिक छैन ।’ उनी बजारमा सफल हुन स्व–अध्ययन र तालिम धेरै आवश्यक रहेको बताउँछन् ।

आफ्नो भविष्य नेपालमै देख्नुभएको छ कि विदेश जाने सोच छ ? भन्ने प्रश्नमा उनले चाहना नेपालमै केही गर्ने भए पनि अवसर नपाए विदेश जान बाध्य बनाउने सरकार नै भएको आरोप लगाए । उनले सरकार वा निजी क्षेत्रले युवालाई नेपालमै रोजगारीका अवसर दिन र दक्ष जनशक्ति विदेश पलायन हुनबाट रोक्न सहयोग गर्नुपर्नेमा जोड दिए । ‘सरकार वा निजी क्षेत्रले सहयोग गरे म भुक्तानी प्रणाली वा डाटा सुरक्षा प्लेटफर्म बनाउन चाहन्छु,’ उनले भने ।

शाहका अनुसार नेपालको शिक्षा प्रणालीमा सैद्धान्तिक ज्ञान धेरै र व्यावहारिक ज्ञान कम भएकाले पढाइ सकेर काममा जाँदा विद्यार्थीहरू निराश हुन्छन् । किताबमा पढेका कुरा र बजारको आवश्यकताबीच ठूलो खाडल रहेको उनको भनाइ छ । यसैले, यो क्षेत्रमा सरकारले सम्मानजनक रोजगारी, राजस्व छुट र विश्वास गर्न सकिने नीतिहरू ल्याउनुपर्नेमा उनले जोड दिए । नेपालमा आईटी सुरु गर्दा लगानी नपाउने, दक्ष जनशक्ति विदेश पलायन हुने र सरकारी झन्झट जस्ता समस्याहरूको अनुभव उनले सुनाए ।

खल्ती, इसेवा, हाम्रो पात्रो जस्ता एप सफल भए पनि अरू धेरै स्टार्टअप टिक्न नसक्नुको कारण बलियो टिम र स्पष्ट भिजनको अभाव, साथै सरकारको कमजोर नीति भएको उनी बताउँछन् । आईटी क्षेत्रलाई प्राथमिकतामा राखिए पनि ठोस प्रगति नहुनुको कारण राजनीतिक ‘स्टन्ट’ र घोषणामै सीमित योजना भएको र कार्यान्वयनमा कसैको ध्यान नपुगेको उनको बुझाइ छ ।

युवालाई नेपालमै जोड्न र टिकाउनका लागि अनुसन्धानमा लगानी र ऋणको व्यवस्थापन गर्नु जरुरी रहेको उनको तर्क छ । ‘डिजिटल नेपाल’ योजना कागजमै सीमित हुनुमा राजनीतिक इच्छाशक्ति र दूरदृष्टि (भिजन) नभएको नेतृत्व सरकारमा हुनु पनि एक कारण रहेको उनको भनाइ छ । नेपाल फेसबुक र टिकटकमा भर पर्नुको कारण दक्ष युवाशक्ति भएर पनि नीतिगत सहयोगको अभाव भएको उनको बुझाई छ ।

कम्प्युटर इन्जिनियर तथा वेब विकासकर्ता सुमन वाग्लेका अनुसार आईटी रोज्नुको कारण उनको सुरुदेखिकै रुचि हो । नयाँ कुरा सिक्ने अवसर, रोजगारीको धेरै सम्भावना र भविष्य सुरक्षित हुने विश्वासले उनलाई यो क्षेत्रमा आकर्षित गर्यो ।

तर, नेपालमै आईटी पढ्दा उनले पाएका अवसरसँगै केही कमजोरीहरू पनि देखे । धेरै विद्यार्थी यो क्षेत्रमा भित्रिए पनि उनीहरूमा व्यावहारिक अनुभव, समयअनुसार अद्यावधिक प्रविधि, र उद्योगसँगको सम्बन्ध कमजोर रहेको उनको बुझाइ छ ।



विश्वविद्यालय वा कलेजको पाठ्यक्रमबारे उनले भने, ‘पाठ्यक्रमले विद्यार्थीलाई पूर्ण रूपमा बजारका लागि तयार पार्छ भन्ने मलाई लाग्दैन । पढाइमा सिद्धान्त धेरै हुन्छ तर व्यावहारिक सीप पर्याप्त छैन ।’

भविष्यबारे प्रश्न गर्दा उनी नेपालमै काम गर्न चाहने कुरा स्पष्ट पार्छन् । तर, अवसर, वातावरण र आवश्यक सहयोग नपाए विदेश जान बाध्यता हुने उनको भनाइ छ । यदि सरकार वा निजी क्षेत्रबाट सहयोग पाइने हो भने उनी शिक्षा, स्वास्थ्य र रोजगारीलाई सहज बनाउने एपहरू विकास गर्न चाहन्छन् ।

सुमनका अनुसार नेपालको आईटी शिक्षा प्रणालीको सबैभन्दा ठूलो कमजोरी भनेकै व्यावहारिक सीपको कमी र पुरानो पाठ्यक्रम हो । प्रोग्रामिङ वा साईबर सुरक्षा जस्ता क्षेत्रमा अभ्यासभन्दा सिद्धान्त बढी पढाइने भएकाले सन्तुलन बिग्रिएको उनी बताउँछन् ।

नेपालका आईटी विद्यार्थीहरू विदेश पलायन हुनुको कारणबारे उनी थप्छन्, ‘यदि यहाँ नै राम्रो रोजगारी, उचित तलब र उद्यममैत्री वातावरण भए पलायन कम हुन्छ ।’ आफ्नै अनुभव सुनाउँदै उनी थप्छन्, ‘आईटी स्टार्टअप सुरु गर्दा लगानीको कमी, बजारको विश्वास जित्न गाह्रो हुनु र दक्ष टोली बनाउन समस्या हुनु प्रमुख चुनौती हुन् ।’ लगानीकर्ता, बजार वा सरकारी नीतिबाट सहयोग नपाएको गुनासो पनि उनले गरे ।

सरकारले आईटीलाई प्राथमिक क्षेत्र भने पनि ठोस प्रगति नभएको उनी बताउँछन् । नीतिहरू कागजमै सीमित छन्, कार्यान्वयन कमजोर छ र लगानी पनि पर्याप्त छैन । ‘डिजिटल नेपाल फ्रेमवर्क’ जस्ता योजना कागजमै सीमित हुनुको कारण नेतृत्व र जवाफदेहिताको कमी हो भन्ने उनको तर्क छ ।

युवालाई नेपालमै रोक्न रोजगारी सिर्जना, उचित तलब र उद्यममैत्री वातावरण जरुरी रहेको उनको सुझाव छ । तर, आईटीलाई आर्थिक मेरुदण्ड बनाउनका लागि दीर्घकालीन योजना अझै सरकारसँग स्पष्ट छैन भन्ने उनको बुझाइ छ । नेपालमा पनि आफ्नै एप बनाउन सकिन्छ तर त्यसका लागि सम्पूर्ण वातावरण, लगानी र प्रयोगकर्ताको समर्थन चाहिनेमा उनको जोड छ ।

सरकारले युवाहरूलाई छलफलमा सहभागी गराउन र दक्षजनशक्तिलाई रोजगारीको पहुँचमा जोडन् जरुरी रहेको उनको भनाइ छ । यसबाट सरकार र युवाबीचको खाडल पुर्न मद्दत पुग्ने उनको बुझाइ छ ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics