भारतीय प्याज महँगिएपछि विकल्पको खोजी

तरकारीमा अधिकतम मात्रामा प्रयोग हुने प्याजको मूल्य आकासिएपछि उपभोक्ता मर्कामा परेका छन् । विगत केही सातादेखि बढ्दो क्रममा रहेको प्याज गतवर्षभन्दा तेव्वर महँगिएको छ । कातिक मसान्तमा थोक मूल्य प्रतिकेजी ३१ रुपैयाँ रहेकोमा मंसिर १२ गते ९२ देखि ९५ रुपैयाँसम्म पुगेको छ । कालीमाटी फलफूल तथा तरकारी विकास समितिका अनुसार गत वर्ष सोही दिन अर्थात मंसिर १२ प्याजको थोक मूल्य प्रतिकेजी ३० रुपैयाँमात्रै रहेको थियो ।

भारतमै मूल्य बढेकोले नेपाली बजारमा पनि महँगिएको व्यवसायीले बताएका छन् । उत्पादन घटेर भारतमै प्याज अभाव हुनथालेपछि भारत सरकारले गत बिहीबारदेखि प्याजको न्यूनतम निर्यात मूल्य (एमईपी) बढाएको छ । भारत सरकारले प्रति मेट्रिकटन ८ सय ५० डलर (४६ हजार ४ सय ९२ रुपैयाँ) निर्यात दर कायम गरेको छ । तर यो व्यवस्था पुष समान्तसम्ममात्रै लागू हुने छ ।

पुषको मध्यतिर प्याजको नयाँ उत्पादन बजारमा आउने भएकोले केही निश्चित समयका लागि मात्रै भारतले यस्तो व्यवस्था लागू गरेको हो । आफ्ना जनतालाई सर्वसुलभ मूल्य प्याज उपलव्ध गराउन निर्यातदर बढाएको बताइएको छ । नेपालमा जस्तै केही अघिको वर्सात र वाढीले भारतमा प्याजखेती नष्ट गरेको थियो भने भण्डारण गरिएको प्याजसमेत पानीले भिजेका कारण कुहिएर नष्ट भएको थियो ।

नेपालगायत वंगलादेश, पाकिस्तानका साथै खाडी मुलुकमासमेत भारतीय प्याज नै आपूर्ति हुने गरेको छ । नेपाल तरकारी तथा फलफूल व्यवसायी महासंघका अध्यक्ष खोमप्रसाद घिमिरेले नेपाललगायत खाडी मुलुकमासमेत भारतीय प्याज नै आपूर्ति हुने गरेकोले बढी मूनाफा लिनका लागि भारतले निर्यात मूल्य बढाएको हुनसक्ने बताए । भारतीय प्याज महँगो भएकोले विकल्पमा चिनीया प्याज आउनसक्ने पनि उनले बताएका छन् । उनका अनुसार चिनीया प्याज निकै सस्तो हुने भएपनि भारतीय जस्तो स्वादिलो हुँदैन ।

घिमिरेले भने–भारतीय प्याजको भाउ घट्ने संभावना नदेखिएकोले अब चिनियाँ प्याज आउनसक्छ । तुलनात्मकरुपमा चिनियाँ प्याज सस्तो पनि हुन्छ तर भारतीयजस्तो स्वादिलो र टिकाउ भने हुँदैन, चाँडै बिग्रिन्छ । भारतको राजस्थान, महाराष्ट्र, मध्य प्रदेश, गुजरात, आन्द्र प्रदेश, तमिलनाडु र कर्नाटकमा सबैभन्दा बढी प्याजको उत्पादन हुन्छ । नेपालमा भारतको नासिक, इण्दौंर, कानपुर, चण्डीगढ र सिमलालगायतका स्थानबाट प्याज आयात हुन्छ ।प्याजको अभाव हुँदा यस्ता स्थानबाट अहिले दैनिक चार ट्रकको हाराहारीमा प्याज कालिमाटी तरकारी बजारमा भित्रिने गरेको छ । यसअघि दैनिक ३० ट्रकसम्म भित्रिने गरेको थियो । कालीमाटी तरकारी तथा फलफूल थोक व्यवसायी संस्थाका अध्यक्ष भरत खतिवडाले भने कालीमाटीमा प्याज पर्याप्त भण्डारण क्षमता नभएका कारण यस्तो अवस्था सिर्जना भएको बताएका छन् । पर्याप्त भण्डारण व्यवस्था भएमा मूल्य नियन्त्रण गर्न सकिने उनको भनाइ छ । खतिवडाले भने–हामीसँग भण्डारण सुविधा छैन, पर्याप्त भण्डारण सुविधा भइदिएमा भारतमा मूल्य बढेको सयममा यहीको स्टकबाट बिक्री गरेर मूल्य नियन्त्रण गर्न सकिने अवस्था हुन्थ्यो, भण्डारण क्षमता नभएका कारण भारतबाट आउनेवित्तिकै बिक्री गर्नुपर्ने अवस्था छ ।

भन्सार विभागको तथ्याकअनुसार चालु आर्थिक बर्षको पहिलो तीन महिनामै भारत र चीनबाट ९४ करोड मूल्यबराबरको चार लाख ६ हजार दुई सय ६४ केजी प्याज आयात भएको छ । जसमध्ये भारतबाट ९२ करोड ९५ लाख ५२ हजार मूल्यबराबरको दुई लाख ८ हजार दुई सय १५ र चीनबाट एक करोड नौं लाख १४ हजार मूल्यबराबरको एक लाख ९८ हजार केजी प्याज आयात भएको थियो । गत आर्थिक बर्ष २०७३÷७४ मा भारत र चीनबाट चार अर्ब २० करोड ९८ लाख मूल्यबराबरको १३ करोड एक लाख केजी प्याज आयात भएको थियो ।

काठमाडौंमा १ सय ३०
कालिमाटी तरकारी बजारका प्याजको थोक आयातकर्ता व्यवसायी अर्जुन सिलवालका अनुसार भारतको यो नीतिका कारण नेपालमा प्याजको मूल्य ह्वात्तै बढेको छ । ‘पछिल्लो दुई महिना यता तरकारीको उच्च मूल्यका कारण नेपाली उपभोक्ताले व्यहोरेको महँगिको भार केही कम हुनै लाग्दा अहिले प्याजको चर्को मूल्यले रुवाउन थालेको छ’, सिलवालले भने । कात्तिक अन्तिम सातातिर प्रतिकिलो ६४ रुपैयाँ खुद्रा मूल्य रहेको प्याजको थोक मूल्य कालिमाटी बजारमा सोमबार ९५ रुपैयाँमा पुगेको छ ।
भारतीय एमईपी र आपूर्ति घटेका कारण प्रतिकिलो प्याजमा ३१ रुपैयाँ थपिएको छ । खुद्रा व्यापारीले त्यही थोक मूल्यमा थप ३५ रुपैयाँ थपेर उपभोक्तालाई प्रतिकिलो एक सय ३० रुपैयाँमा बिक्री गर्दै आएका छन् । नेपालमा खपत हुनेमध्ये ९८ प्रतिशत प्याज भारतबाट आयात हुन्छ । नेपालको स्वदेशी उत्पादनले १५ दिनको मागलाई मात्रै धानेको फलफूल तथा तरकारी व्यवसायी महासंघका अध्यक्ष खोमप्रसाद घिमिरेले जानकारी दिए।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics