बाटोमै गाडीको ब्याट्री सकियो ? अब उद्धार गर्न आउनेछ मोबाइल इभी चार्जिङ स्टेशन

काठमाडौं – काठमाडौंमा मोबाइल ईभी चार्जिङ स्टेसन सञ्चालनमा ल्याइएको छ । युएसएड ऊर्जा नेपाल परियोजनाको सहयोगमा यात्री इनर्जीले निर्माण गरेको उक्त मोबाइल चार्जिङ स्टेसन मंगलबारबाट सञ्चालनमा आएको हो । यो सेवा नेपालमै पहिलो भएको बताइएको छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सहसचिव सन्दीप देव, नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र अमेरिकी अन्तर्राष्ट्रिय सहयोग संस्था युएसएडका कार्यबहाक मिसन डाइरेक्टर करेन्ट वेल्चलगायतले संयुक्त रूपमा यसको शुभारम्भ गरेका थिए ।

चार्जिङ स्टेसनको क्षमता ३० किलोवाट रहेको छ । यसलाई आवश्यकता अनुसार विभिन्न ठाउँमा लगेर विद्युतीय गाडी चार्ज गर्न सकिन्छ । यसले ब्याट्री सकिएर बाटोमा अलपत्र परेका गाडीलाई उद्दार गर्न पनि सहयोग पुग्ने ऊर्जा नेपालले जनाएको छ ।

यस चार्जिङ स्टेशनबारे संस्थाले अर्को साताबाट पूर्वदेखि पश्चिम नेपालसम्म जनचेतना कार्यक्रमको आयोजना गर्ने पनि जनाएको छ । कार्यक्रममा कार्यकारी निर्देशक घिसिङले विद्युतीय सवारीको प्रवर्द्धन गर्न यस्तो चार्जिङ स्टेशन सहयोगी हुने बताए ।

त्यस्तै ऊर्जा ऊर्जा नेपाल र यात्री इनर्जीले निर्माण गरेका १७ वटा र ई–स्टोपले निर्माण गरेका ६ वटा चार्जिङ स्टेशनसहित बागमती प्रदेशभित्रका २३ वटा चार्जिङ स्टेशन समेत शुभारम्भ गरिएको छ ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics