नेपालको घाँस चीन पठाउने सहमति

काठमाडौँ - नेपाल र चीनको तिब्बत प्रान्तबिच कृषि सहकारीसम्बन्धी विविध सहमति पत्रमा भर्खरै हस्ताक्षर भएको छ । उपप्रधान तथा परराष्ट्र मन्त्री नारायणकाजी श्रेष्ठको प्रमुख आतिथ्य तथा सिचाङ (तिब्बत) स्वायत्त क्षेत्रका उपाध्यक्ष लाङ फुकुआनको विशेष आतिथ्यमा राजधानीमा आयोजित एक समारोहमा उक्त सहमति भएको हो ।

१७ गते सोमवार बिहानदेखि सुरु भएको सत्रौं नेपाल-तिब्बत आर्थिक तथा व्यापार मेलाको प्रारम्भमा तिब्बतका चौँरी, याक, घोडा र च्याङ्ग्रालाई लामो हिउँदयाममा खुवाउन नेपालबाट विशेष पोषिलो घाँस हेइलेज उत्पादन र खरिद गर्नेलगायत विषयमा सहमति गरिएको छ ।

चितवन र नुवाकोटमा उत्पादित हेइलेज नेपाल क्राउन एग्रिकल्चरल इन्टरप्राइजेजमार्फत तिब्बतको प्लेटो ब्लु कम्पनीले खरिद गर्ने सम्झौता भएको छ । त्यसैगरी उताको प्लेटो ब्लु कम्पनीबाट नेपालको न्यु होप नेपाल कम्पनीले पशु आहार (दाना) खरिद गर्ने र न्यु होप नेपाल कम्पनीले नेपाल ग्रास कम्पनीलाई जैविक मल उपलब्ध गराउनेसम्बन्धी सम्झौता समारोहमा भएको छ ।

दुई मुलुकका कृषि कम्पनीबिच यताबाट जुनार र सुन्तलासमेत लैजाने गरी भएको सहमतिले नेपालको कृषि उत्पादन, अनुसन्धान र हेइलेज निर्यातमा ठूलो योगदान पुग्ने बताइएको छ ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics