बङ्गलादेशमा उच्च गर्मी, तापक्रम १०८ फरेनडाइट नाघेपछि विद्यालय बन्द, पानी माग्दै प्राथना

काठमाडौं – बङ्गलादेशमा अत्यधिक गर्मी भएपछि तीन दिनको लागि सबै विद्यालय बन्द गरिएको छ। अधिकांश भागको अधिकतम तापक्रम १ सय ८ फरेनडाइट नाघेपछि अप्रिल २७ सम्मको लागि सबै विद्यालय बन्द गरिएको हो।

गर्मीबाट तीन करोड ३३ लाख बालबालिका प्रभावित भएका बीबीसीले जनाएको छ। बङ्गलादेशले अत्यधिक गर्मीका कारण विद्यालय बन्द गरेको यो दोस्रो पटक हो। बङ्गलादेशका मौसमविद्हरुले यो वर्ष तातोको चेतावनी दिएको यो चौथो पटक हो। जलवायु संकटको प्रभावबाट बङ्गलादेशको तल्लो तह जोखिममा परेको छ।

जलवायु परिवर्तनसम्बन्धी अन्तर सरकारी प्यानलका अनुसार समुद्री सतहमा ३० देखि ४५ सेन्टिमिटरको वृद्धिले तटीय जिल्लाका तीन करोड ५० लाखभन्दा बढी मानिसलाई विस्थापित गर्न सक्नेछ। यो देशको कुल जनसंख्याको एक चौथाइ हो।

बुधबार मात्र हजारौं मुस्लिमले मस्जिदमा भेला भएर वर्षाको लागि प्राथनासमेत गरेको समाचारमा उल्लेख गरिएको छ। बङ्गलादेशका मौसमविद्ले कम्तिमा अर्को हप्तासम्म गर्मी बढ्ने चेतावनी दिएका छन्। गर्मीको कारण हुने स्वास्थ्य समस्याका विरामी बढ्न सक्ने भन्दै त्यहाँको सरकारले अस्पताल र स्वास्थ्य संस्थालाई तयारी अवस्थामा रहन निर्देशन दिएको छ।

केहीदिन अघि फिलिपिन्स र भारतले अत्यधिक गर्मी भएपछि विद्यालय बन्द गरेका थिए। पछिल्लो समय एसियामा गर्मी बढ्दै गएको छ। - बीबीसी

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics