वैज्ञानिकले पत्ता लगाए प्लास्टिक खाने कीरा, अब प्लास्टिक प्रदूषण घट्ला ?
- नेचर खबर
काठमाडौँ - वैज्ञानिकहरूले प्लास्टिक खाने ब्याक्टेरिया पत्ता लगाएका छन् । यसले प्रदूषण न्यूनीकरण गर्न सहयोग गर्ने उनीहरूको भनाई छ ।
अस्ट्रेलियाका वैज्ञानिकहरूले "सुपरवर्म" को सङ्ज्ञा दिइएको जोफोबास मोरियो नामक एक किसिमको खपटेकीराको लार्भा पोलिस्टाइरीन खाएर बाँच्न सक्ने पत्ता लगाएका हुन्।
उनीहरूका अनुसार उक्त लार्भाको पेटमा हुने विशेष प्रकारको एन्जाइम (पाचनरस) ले प्लास्टिक पचाउन सहयोग गर्छ।
उक्त अध्ययनमा संलग्न एक अनुसन्धाताका अनुसार यसले पुन:प्रयोगको प्रयास अघि बढाउन ठूलो सहयोग गर्न सक्छ।
"सुपरवर्म सानो पुन:प्रयोग कारखानाजस्तै हो। मुखले पोलिस्टाइरीन टुक्रा पार्ने र पेटमा भएका ब्याक्टेरियालाई खुवाउने," डा. क्रिस रिन्कले भने।
यूनिभर्सिटी अफ क्वीन्सल्यान्डका अनुसन्धानकर्मीहरूले तीन समूहमा राखिएका सुपरवर्मलाई तीन सातासम्म छुट्टाछुट्टै आहारा दिएका थिए। पोलिस्टाइरीनको खाना दिइएका लार्भाको तौल बढेको उनीहरूले पाए।
उनीहरूले सुपरवर्मको पेटमा पोलिस्टाइरीन र स्टाइरीन पनि गलाउन सक्ने धेरै एन्जाइम भएको पत्ता लगाए। रेस्टुराँले बेच्ने खानेकुरा राख्न प्रयोग गरिने टेकअवे कन्टेनर र इन्सुलेशन तथा कारका पाटपुर्जा बनाउन पनि पोलिस्टाइरीन र स्टाइरीन चाहिन्छ।
यो अनुसन्धानले प्लास्टिक रिसाइकल गर्ने कारखानाका रूपमा काम गर्न सक्नेगरी ती कीराको खेती गर्न सघाउँदैन। यद्यपि वैज्ञानिकहरूले ती कीराको पेटमा हुने सर्वाधिक प्रभावकारी जैविक रस चिन्ने प्रयास गर्ने छन्। त्यसबाट प्लास्टिक रिसाइक्लिङका लागि प्रयोग गर्न मिल्नेगरी ठूलो परिमाणमा ती जैविक रसको उत्पादन गर्न सकिने छ।
माइक्रोबिअल जीनोमिक्स नामक वैज्ञानिक जर्नलमा यसबारे एउटा शोधपत्र प्रकाशित भएको छ। उक्त शोधपत्रका अनुसार एन्जाइम हालेर प्लास्टिक गाल्नका लागि उपकरण प्रयोग गरेर पहिला प्लास्टिकका ससाना टुक्रा पार्नुपर्छ।
डा. रिन्कका अनुसार त्यो विधिबाट बनेको पदार्थ प्रयोग गरेर अरू सूक्ष्मजीवले बायोप्लास्टिकजस्ता मूल्यवान् यौगिकहरू बनाउन सक्छन्।
अनुसन्धानले यसअघि नै केही प्रजातिका खपटेकीराका लार्भाले पोलिस्टाइरीन खाने देखाएको थियो। तर यो अनुसन्धानले "एक कदम अगाडि" बढाएको अस्ट्रेलियन न्याश्नल यूनिभर्सिटीका अनुसन्धानकर्ता कोलिन ज्याक्सनले बताए। उनी यो अनुसन्धानमा संलग्न थिएनन्।
"यो अध्ययन धेरै अघि बढेको छ र यसले (सुपरवर्मको) पेटमा भएको ब्याक्टेरियाले कसरी अणुको तहसम्म काम गर्छ भन्ने बुझाउँछ," प्राध्यापक ज्याक्सनले अस्ट्रेलियन ब्रोडकास्टिङ कर्पोरेशनसँग भने।
त्यसैले यो बुझ्नु र यस प्रकारको विधि प्रयोग गर्नु यो अनुसन्धान महत्त्वपूर्ण रहेको उनको भनाइ छ। यसअघि अन्तर्राष्ट्रिय स्तरमा अन्य अनुसन्धानकर्ताहरूले पनि प्लास्टिक गाल्न सक्ने क्षमता भएका ब्याक्टेरिया र ढुसी पत्ता लगाएका थिए।
"यस्तो प्रकारका अनुसन्धानमा थप अध्ययन सधैँ चुनौतीपूर्ण हुन्छ। किनभने प्लास्टिकले सिर्जना गरेको ठूलो समस्या र भविष्यमा प्लास्टिकको उत्पादन कति सस्तो पर्छ भन्ने कुराहरूसँग यो जोडिएको छ," ज्याक्सनले भने। - बीबीसी
प्रतिक्रिया दिनुहोस