ताप्लेजुङको खम्बाछेनमा देखिए २ हिउँ चितुवा
- नेचर खबर
ताप्लेजुङ — ४२ सय मिटर उचाईको ताप्लेजुङ स्थित खम्बाछेनमा हिउँ चितुवा ट्र्याक गर्न राखिएको क्यामेरामा ७ दिनमा दुईवटा हिउँ चितुवा रेकर्ड भएको छ ।
हिउँ चितुवा संरक्षण उपसमिति घुन्साकी अध्यक्ष पेञ्जोक्ला शेर्पाका अनुसार चैत २३ गते राखेको क्यामेरामा चैत ३० गते बेलुका ७ बजेर ५ मिनेटमा दुईवटा हिउँ चितुवा देखिएको हो ।
हिउँ चितुवा प्रशस्त रहेको अनुमान गरिएको तर संख्या यकिन नभएको फक्ताङलुङ गाउँपालिका–६ लेलेपको हिमाली क्षेत्रमा यो वर्ष अध्ययनका लागि ३४ वटा क्यामेरा जडान गरिएको छ ।
शेर्पाका अनुसार दुवै हिउँ चितुवा सँगसँगै हिँडेको देखिएको छ । क्यामेराले एउटाको पुरै शरीर खिचेको छ भने अर्कोको चाहिँ पुच्छर मात्रै खिच्न भ्याएको छ ।
४ हजार २ सय ६६ मिटर उचाइको मेराकमा खिचेको क्यामेराको रेकर्ड भने उनीहरूले ढिलो गरी थाहा पाएका थिए । एकपछि अर्को गरेर क्यामेराको मेमोरी हेर्दा केही ढिलो गरी थाहा पाएको तर हिउँ चितुवा परेको देख्दा खुसीको सीमा नभएको उनले बताइन् ।
विश्व वन्यजन्तु कोष नेपालको सहयोगमा कञ्चनजंघा संरक्षण क्षेत्रले हिउँ चितुवा संरक्षण उपसमिति मार्फत यो वर्ष क्यामेरा राखेको हो ।
यो क्षेत्रमा १० ठाउँमा २० वटा क्यामेरा राखिएको छ । खम्बाछेन क्षेत्रमा सबैभन्दा बढी क्यामेरा राखिएको छ । यो ठाउँमा पहिला पनि हिउँ चितुवालाई पासोमा पारेर स्याटलाइट लगाइएको थियो ।
प्रतिक्रिया दिनुहोस