अब घरपालुवा कुकुरको पनि दर्ता



धरानस्थित नगर कार्यपालिका उपमहानगरपालिकाले ले सहरमा भएका सम्पूर्ण घरपालुवा कुकुरको दर्ता गराएर मात्रै घरमा राख्नुपर्ने व्यवस्था कार्यान्वयनमा ल्याएको छ । नगर कार्यपालिकाको यो व्यवस्थाका कारण धरानबासीले अबदेखि अनिवार्य रूपमा घरपालुवा कुकुरको दर्ता गराउनुपर्ने भएको छ ।

यो व्यवस्थासँगै नगर कार्यपालिकाले भुस्याहा कुकुरको बन्ध्याकरण गर्ने पनि नयाँ व्यवस्था कार्यान्वयनमा ल्याएको छ ।

उपमहानगरको सामाजिक विकास शाखाका प्रमुख गणेश खतिवडाका अनुसार अबदेखि धरानका प्रत्येक घरपालुवा कुकुरको दर्ता गरिनेछ । दर्ता शुल्क दुई हजार रुपैयाँ तोकिएको छ । त्यसपछि कुकुरलाई नम्बर प्रदान गरिनेछ । दर्ता भएका कुकुको घाँटीमा बेल्ट र छालामा डिजिटल जिपिएस चिप्स जडान गरिनेछ । जसले गर्दा कुकुरको अवस्था र स्थानको बारेमा नियमन गर्न सकिन्छ ।

दर्ता भएका कुकुरहरूलाई विभिन्न प्रकारका रोगका खोप पनि उपमहानगरले नै लगाइदिनेछ । धरानका घरपालुवा कुकुरको लगत राख्न, स्वास्थ्य सुधारका कार्यक्रम ल्याउन र कुन कुकुर कसको हो भन्ने प्रस्ट गर्न यो कार्यक्रम ल्याइएको उपमहानगरले बताएको छ ।

उपमहानगरको सामाजिक विकास शाखाका प्रमुख खतिवडाले भने, ‘अहिले चिप्स आइसकेको छैन । फागुनसम्ममा चिप्स ल्याएर यो काम सुचारु हुन्छ ।’

भुस्याहा कुकुरहरूको भने फागुनबाटै बन्ध्याकरण गरिनेछ । यस्ता कुकुरलाई ‘सामुदायिक’ कुकुर भनिएको छ र पोखराको हार्ट नेपाल मिलेर बन्ध्याकरण गर्न लागिएको हो ।

धरानमा करिब १० हजार घरपालुवा र ५ हजार ‘सामुदायिक’ कुकुर रहेको उपमहागरको अनुमान छ ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics